• ११ असोज २०८१, शुक्रबार

घुस लिने र दिने दुवै अख्तियारको नियन्त्रणमा

blog

घुस दिँदै भारतीय नागरिक सेतो सर्टवाला र घुस लिँदै वडाध्यक्ष । तस्बिर : नेपाल कम्युनिष्ट पार्टी, झापा

लीलाराज खड्का

बिर्तामोड, असोज ९ गते । झापा बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । भारतीय नागरिक अमरनाथ चौहानले घरको बाटोका लागि घरनक्सा निकाल्न ८० हजार रुपियाँ घुस ओलीलाई दिँदै गर्दा दुवै जना पक्राउ परेका हुन् । 

मङ्गलवार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले राति ९ बजेसम्म इलाका प्रहरी कार्यालय बिर्तामोडमा सर्जमिन मुचुल्का बनाएको थियो । सो टोलीले राति नै दुवै जनालाई इटहरी लिएर गएको र बुधवार बेलुकासम्म काठमाडौं लगिने आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताउनुभयो । उहाँले दुवै जनालाई नियन्त्रणमा लिई नियम अनुसार अनुसन्धान भइरहेको बताउनुभयो ।

बुद्धशान्ति– २ का वडा अध्यक्ष ओलीले सेवाग्राही अमरनाथ चौहानसँग जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि मङ्गलवार दिउँसो बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडि ८० हजार रुपियाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए ।

वडाध्यक्ष पक्राउ परी निलम्बनमा परेपछि अब कसलाई कार्यवाहक दिने सम्बन्धमा बुद्धशान्ति गाउँपालिका कार्यालयले छलफल अघि बढाएको जनाएको छ  । स्थानीय शासन ऐनअनुसार कसलाई कार्यवाहक दिँदा उपयुक्त हुन्छ भनेर कानुनी परामर्श गरिरहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले बताउनुभयो । गाउँपालिका अध्यक्ष प्रसाईले अब बस्ने कार्यपालिकाको बैठकले त्यसबारे निर्णय गर्ने जानकारी दिनुभयो ।

घुससहित पक्राउ परेका वडाध्यक्ष ओली नेपाली कांग्रेस बुद्धशान्ति २ का वडा सभापति हुन् । उनीमाथि पार्टीले कारबाही अघि बढाएको छैन । वडाध्यक्ष ओलीमाथि मुद्धा दर्ता भएर निलम्बनमा परिसकेपछि जिल्ला समितिको बैठक बसेर पार्टीले कारबाही गर्ने क्षेत्रीय सभापति खगेन्द्र मैनालीले बताउनुभयो । ओलीलाई नेकपाका कार्यकर्ताको सक्रियतामा घुस रकमसहित पक्राउ गरिएको हो ।  

पक्राउ परेका वडाध्यक्ष ओलीलाई केही घण्टा इलाका प्रहरी कार्यालयमा राखी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र इटहरीलाई बोलाएर जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रकाशकुमार विष्टले बताउनुभयो ।