• ११ असोज २०८१, शुक्रबार

किसानलाई जैविक मल उत्पादन गर्न सिकाउँदै राप्तीसोनारी

blog

कमल खत्री

धम्बोझी, असोज ९ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाका किसानलाई लक्षित गरी झोल मल तथा जैविक मलसम्बन्धी तालिम दिन सुरु गरेको छ । 

राप्तीसोनारी गाउँपालिका-७ सर्राबाट तालिमको सुरुवात गरिएको कृषि शाखाका नायब प्राविधिक सहायक खड्क केसीले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले झोल मलले बालीमा लाग्ने रोग तथा कीरा नियन्त्रण गर्ने र रासायनिक मलको तुलनामा लागत खर्च पनि कम लाग्ने भएकाले किसानहरुलाई जैविक मल उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । 

पछिल्लो समय बालीनालीमा विषादीको बढ्दो प्रयोगका कारण सुरक्षित उत्पादनमा चुनौती थपिएका बेला किसानहरुलाई यस सम्बन्धी सचेतनाका लागि पनि यो तालिमको आवश्यकता रहेको उहाँको भनाइ छ ।

झोल मल गाईवस्तुको गोबर, पिसाब, असुरो, सिस्नु, तितेपाती, निम र बकाइनो जस्ता विभिन्न वनस्पतिबाट तयार पारिन्छ । रासायनिक मल तथा रासायनिक विषादीको सट्टामा झोल मल प्रयोग गरी रोग तथा कीरा नियन्त्रण गर्न सकिने भएकाले यसको महत्व बढ्दै गएको वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष दीपबहादुर थारुले बताउनुभयो । 

वडा नम्बर ७ बाट सुरु भएको तालिम पालिकाका १ देखि ९ नम्वरसम्मकै वडामा दिने तयारी पालिकाको छ । त्यसका लागि चालू आर्थिक वर्षमा ६ लाख बजेट विनियोजन गरिएको केसीले बताउनुभयो । 

तालिममा झोल मल तथा जैविक मल कसरी बनाउने ? यसका फाइदाहरु के–के छन् ? यसको प्रयोग विधि, विषादी नियन्त्रणमा यसले पुर्‍याउने लाभ लगायतका बारेमा किसानहरुलाई जानकारी गराइनेछ ।