• ११ असोज २०८१, शुक्रबार

तेस्रो चीन नेपाल मिडिया सम्मेलन हुने

blog

काठमाडौँ, असोज ९ गते । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित 'चीन नेपाल मिडिया सम्मेलन २०२४' यही असोज १० गते काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुड ल्यान्डमा सञ्चालन हुने भएको छ ।

विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको यस सम्मेलनको यो तेस्रो संस्करण हो । चिनियाँ र नेपाली सञ्चारमाध्यमबिच अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित रहने यस सम्मेलनको मुल नारा 'आपसी सहयोग र जितको सहकार्य' रहेको छ ।

सम्मेलनमा चीन र नेपालका अधिकारी, मिडियाकर्मी, विशेषज्ञ र विद्वानहरूले संवाद र मन्तव्यहरू पस्कनेछन् । कार्यक्रममा मिडिया एकीकरण, नवीनतम विकास, अन्तर्राष्ट्रिय सहयोग र अन्य विषयहरूमा गहिरो छलफलहरू हुने छन् । साथै दक्षिण एसियाली मिडियाको भविष्य र यसको विकासका लागि संयुक्त रूपमा सुझावहरू आदानप्रदान गरिनेछ ।

तेस्रो चीन नेपाल मिडिया सम्मेलन २०२४ को अवसरमा चिनिया समाचार एजेन्सी सिन्ह्वा, सिसि टिभी, तिब्बत मिडिया ग्रुप लगायत नेपालमा रहेका ३० भन्दा बढी चिनियाँ संस्था, उद्यम र कम्पनीहरू सहभागी हुने छन् भने नेपालतर्फबाट राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन,कान्तिपुर, जनआस्था, देश सञ्चार अनलाइन र मिडिया लगायत ५० भन्दा बढी नेपाली मूलधारका मिडियाहरूको उपस्थिति रहनेछ ।

सम्मेलनमा नयाँ चीनको स्थापना भएको ७५ औँ वार्षिकोत्सव पनि मनाइनेछ । ७५ वर्षको यात्रामा, चीनले आर्थिक, वैज्ञानिक, सांस्कृतिक लगायतका विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ, जसले विश्वलाई आकर्षित गरेको छ । यस सन्दर्भमा चीनको विकास र लक्ष्यबारे वृत्तचित्र पनि प्रसारण गरिनेछ ।

चीन र नेपालबिचको मिडिया सहकार्य, सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रमा थप सहकार्यले हामीलाई चीन(नेपाल सम्बन्धको कथाहरू सुनाउन र मित्रताको आवाज फैलाउन अझै विस्तृत प्लेटफर्म प्रदान गर्नेछ ।

कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपालका निम्ति चिनिया राजदूत महामहिम छन् सोङ विभिन्न राजनीतिकर्मी लगायतको उपस्थिति रहनेछ । चीन र नेपालबिचको सहयोगले अझ ठुलो परिणाम हासिल गर्ने र ठुलो योगदान दिनेछ भन्ने विश्वासका साथ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँछौँ ।