प्रवीण कुमार शर्मा
रौतहट, पुस १२ गते । रौतहटको कटहरिया नगरपालिका -९ डुमरियामा रहेको ज्योती डिस्टिलरीमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
शनिबार बिहान ८ः३० बजेको समयमा डिस्टिलरीमा रहेको बोइलर नाम गरेको मेसिन अचानक विस्फोट हुँदा डिस्टिलरीका कामदार रौतहट कटहरिया ८ का ४५ वर्षीय लक्ष्मण राय यादवको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो ।
सोही घटनामा डिस्टिलरीमा काम गर्ने सोही ठाउँका ४५ बर्षिय रहमोद आलम, ३५ वर्षीय प्रमजित यादव, ५१ बर्षिय जगदिश यादव, ५५ बर्षिय बिगन यादव, ४० बर्षिय कैलाश माली र गरुडा नगरपालिका ९५ महमदपुर बस्ने ४० बर्षिय मुकेश यादव घाइते भएको उहाँले बताउनुभयो ।
घाइतेहरूलाई उपचारको लागि बिरगञ्ज पठाइएको छ । घाइते मध्ये जगदिश यादव , मुकेश यादव र बिगन यादवको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनास्थलमा रहेको भौतिक संरचना पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा घटनाको अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बस्यालले बताउनुभयो ।
यसै बिच आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कटहरिया ९ मा रहेको ज्योति डिस्टिलरीमा बोइलर बिस्फोटनमा परि मृत्यु हुनेलाई उचित क्षतिपूर्ति तथा घाइतेलाई उपचार सहितको क्षतिपूर्तिको माग गर्नु भएको छ ।
मिल सञ्चालकको लापरवाहीले भएको यस दुःखद घटनाको निष्पक्ष छानबिनको लागि उहाँले माग गर्नु भएको छ ।