कमल खत्री
धम्बोझी, चैत २३ गते । आयोजक योगिनी युवा क्लब ‘बी’ ले दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन खेलमा जित हासिल गरेको छ । योगिनी ‘बी’ ले ब्रदर्स एफसी खजुरालाई सडनडेथमा हराएको हो । बाँकेको खजुरा गाउँपालिका–२ स्थित योगिनी माविको खेलमैदानमा निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
पेनाल्टी सुटआउटमा पनि दुवै टोलीले ४–४ गोलको बराबरी गरेपछि खेल सडनडेथमा पुगेको थियो । रोमाञ्चक बनेको खेलमा आठौँ नम्बरमा आएका खेलाडी रितेश सुनारले निर्णायक गोल गर्दै योगिनीलाई सफलता दिलाउनुभयो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका आयोजक योगिनीका गोलकिपर एवं कप्तान सुरज थापा ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो ।
उहाँलाई हरित सिर्जना सामुदायिक वन उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष यामबहादुर थापा र प्रतियोगिताको इन्टरनेट पार्टनर टेकमाइन्ड प्रालिका बाँके–बर्दिया मार्केटिङ म्यानेजर विजय बुढाले पुरस्कृत गर्नुभयो ।
योगिनी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा बाँके र बर्दियाका १३ टोलीको सहभागिता रहेको छ ।
खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले प्रतियोगिताको उद्घाटन गर्नुभयो । युवालाई खेलकुदमार्फत सक्रिय बनाउन फुटबल प्रतियोगिता महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आयोजक योगिनी युवा क्लबलाई धेरै धन्यवाद । प्रतियोगिताको सफलताको शुभकामना दिन चाहन्छु । यस प्रतियोगिताले यस क्षेत्रबाट नयाँ फुटबल खेलाडी उत्पादनमा सहयोग गर्नेछ ।”
उद्घाटन समारोहमा बोल्दै खजुरा गाउँपालिका–२ का वडा अध्यक्ष धनराम ओलीले प्रतियोगिताले खजुरालाई फुटबलमा अब्बल रूपमा चिनाउँदै लगेको बताउनुभयो ।
योगिनी कपले यस क्षेत्रका नयाँ खेलाडीलाई अवसर प्रदान गर्दै फुटबल विकासमा योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । आयोजक योगिनी युवा क्लबका अध्यक्ष कमल पुनले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।
उद्घाटन समारोहमा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य जनक केसी, क्लबका संस्थापक अध्यक्ष तरिन्द्र थापा, फुटबल प्रशिक्षक सानु तामाङ, नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, खजुरा गाउँपालिका कार्यपालिका सदस्य मैसरी पुनलगायतको सहभागिता रहेको थियो ।
चैत २९ गतेसम्म चल्ने प्रतियोगितामा मोडेल एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोर्ट्स क्लब, मानवी स्पोर्ट्स क्लब, २७ स्टार क्लब, राइजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्र ज्योति युवा क्लब, केवाईसी, योगिनी युवा क्लब ‘ए’ र एक्टिभ युवा क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले रु ५१ हजार र उपविजेताले रु २५ हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक गणेश राईले बताउनुभयो । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई पनि पुरस्कृत गरिने उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेल २७ स्टार क्लब र राइजिङ स्टारबिच तथा दोस्रो खेल मोडेल एफसी र सीतापुर युनाइटेडबीच हुने आयोजक क्लबले जनाएको छ ।