नेपालको अर्थतन्त्र समस्यामा पर्नुपर्ने कुनै कारण छैन । यहाँको स्रोत, साधन, श्रम र सीपको उपयोग गर्ने हो र त्यस्तो वातावरण बनाउने हो भने छोटै समयमा परिस्थिति अर्कै बन्छ । नेपालमा खास समस्या श्रमको सम्मान नहुनु हो । स्वदेशमा रोजगारी भनेको सरकारी वा निजी क्षेत्रका कार्यालयमा १० बजेर जाने ५ बजे फर्कने, महिना मरेपछि तलब पाउने मात्रै हो भन्ने ठानिन्छ । स्वरोजगार बन्ने गरी परामर्श पनि दिइँदैन र आफ्नै बलबुतामा सानोतिनो काम गर्नेको सम्मान पनि छैन । परिणाम अपमान सहेर यहाँ काम गर्नुभन्दा यही काम विदेशमा गए अलिक बढी कमाइन्छ कि भन्ने सोचको विकास भएको छ । विदेशमा गर्ने त्यही काम स्वदेशमा गरे राम्रो हुन्छ भन्ने जागरण दिलाउन सकिएको छैन ।
नेपालमा रोजगारी नभएको हैन, रोजगार बन्न नसकेको, नदिएको वा नचाहेको हो । एउटा सानो उदाहरण– निर्माण क्षेत्रमा पाँच लाखभन्दा बढी भारतीय र बङ्गलादेशी श्रमिक छन् भनिन्छ । सरकारले उपयुक्त नीति ल्याउने हो भने यही क्षेत्रमा १५ लाख नेपालीलाई रोजगारी दिन सकिने निर्माण व्यवसायी महासङ्घको दाबी छ । अनि हाम्रा युवालाई स्वदेशमै श्रम गर्ने उचित वातावरण, परामर्श र तत्परता जगाएर उनीहरूको श्रमको सम्मानसहित काममा लगाउने हो भने यसबाट दोहोरो लाभ हुन्छ ।
एक उनीहरू विकास निर्माणका काम हुने समयमा रोजगार बन्छन्, अर्को आफ्नो खेतबारीमा केही न केही फलाउने, उमार्ने गर्छन् । यसले आयात घटाउन महìवपूर्ण भूमिका निर्वाह गर्छन् । विडम्बना, विदेशबाट आएका श्रमिकले गर्ने काम हामीले गर्नै नहुने भ्रम छ । विदेशमा निर्माण मजदुरका रूपमा जानुको साटो यहीँ त्यही क्षेत्रमा मजदुरी गर्न हिच्किचाउनुका कारण श्रमको सम्मान हुने वातावरण नबन्नु हो ।
अरूको काम गरेर मात्रै हैन, आफ्नो सानो लगानीमा पनि काम गर्न सकिने अवसर नेपालमा जति पनि छ । यसको एउटा सानो उदाहरणका रूपमा सहर–बजारका घरघरमा भारतीय साइकलमा तरकारी, फलफूल बेच्न डुल्छन् । वार्षिक लाखौँ कमाउँछन् । यही काम हामीले किन नगर्ने ? तराईमूलका जनता काठमाडौँलगायत सहरी क्षेत्रमा यस्तो काम गर्छन् तर वैदेशिक रोजगारी मात्रै काम देख्नेहरूले यसलाई काम नै ठान्दैनन् । यसको मूल कारण पनि श्रमको सम्मान नहुनु हो ।
आजभोलि पहाडीमूलका युवा ठेला वा साइकलमा तरकारी, फलफूल बेच्न थालेका छन् । यो अति राम्रो सङ्केत हो । सरकारले आफैँ काम गर्ने वातावरण निर्माण गरी त्यस्तो काम गर्नेहरूलाई सम्मान गर्ने परम्पराको विकास गर्ने हो भने वार्षिक लाखौँ युवा विदेशिनबाट रोकिन्छन्, स्वदेशमै श्रम गर्छन्, पुँजी विदेश जान पाउँदैन । हामीलाई साइकलमा तरकारी बेच्न लाज लाग्छ । आफ्नो घरमा रायोको साग नरोप्ने अनि भारतीयले साइकलमा बेच्न ल्याएको साग किनेर खाने बानी लागेको छ । विदेशबाट आएको पैसाले उद्यम गरौँ भन्ने भावना नै छैन । खेतबारी बाँझो राखेर छोरा–श्रीमान् वा श्रीमतीले विदेशबाट पठाएको पैसाले खान पल्केपछि यस्तै हुन्छ ।
साइकलमा तरकारी, फलफूल बेचेर मलेसिया वा अरब मुलुककोभन्दा बढी आयआर्जन गर्नेहरू प्रशस्तै छन् । उनीहरूको सुझाव पनि यस्तै छ भने अधिकांश युवायुवतीको विदेशमोह हटाउन सरकारी योजना त्यस्तै हुने हो भने यहाँ गरे नहुने केही छैन । यो नेपालीलेभन्दा बढी विदेशीले थाहा पाएका छन् । नेपाललाई माया गर्ने एक चिनियाँ विद्वान्ले भनेको कुरा यहाँ मर्मस्पर्शी लाग्दछ । उनले भनेको थिए– “नेपाल सुनको कचौरा बोकेर भीख मागिरहेको छ ।” यसको अर्थ सबै भएर पनि केही नभएजस्तो गरिरहनु हो । तराईदेखि हिमालसम्मको भौगोलिक बनावटको फाइदा लिन सकिएको छैन । हरेक क्षेत्रमा परम्परा निर्वाह गर्ने काम मात्रै भइरहेको छ ।
सानोतिनो काम गरे इज्जत जाने भ्रमले जरा गाडेको छ । श्रमको मूल्य र महìव बुझाउनै सकिएको छैन । यहाँ मेहनत गर्नुको साटो छलछाम गरेर खाने बानी परेको छ । राज्यको उपल्लो तहदेखि नै यस्तै रोग लागेपछि युवाले के गरून् ? नेपाल विदेशीको श्रम गर्ने देशका रूपमा स्थापित भइसकेको छ । हामी हाम्रा युवा विदेशिएको देख्छौँ तर विदेशी नेपाल आएको देख्दैनौँ । हामी विदेशबाट पैसा आएको देख्छौँ तर विदेशीले नेपालबाट पैसा लगेको देख्दैनौँ । किनभने नेपाल गरिब हैन, गरिब बनाइएको हो ।
प्राकृतिक, भौगोलिक र जैविक विविधताको धनी नेपालमा संसारका धेरै मुलुकको एकल प्रतिनिधिका रूपमा रहे पनि यहाँ खाद्यान्न, फलफूल नै आयात गर्नु परिरहेको छ । कृषिप्रधान मुलुक खाद्यान्नमै आत्मनिर्भर हुन नसकेपछि व्यापार घाटा भयो भनेर कराउनुको के अर्थ ? वार्षिक दुई खर्बभन्दा बढीको खाद्यान्न विदेशबाट आउँछ । आयात वैदेशिक रोजगारीले धानेको छ । वार्षिक सात खर्ब रुपियाँभन्दा बढी आधा करोड नेपालीले विदेशमा श्रम गरेर पठाउँछन्, त्यही रकममा यहाँ दाइँ गरिन्छ ।
नेपालको अवस्था अहिले पनि युवा निर्यात गर्नेभन्दा अर्को छैन । वस्तु उत्पादन गर्ने त केवल नारामा मात्रै भएको छ । यहाँ भएका स्रोतसाधनको उपयोग गर्ने र युवालाई यतै रोजगारी दिन सकिन्छ भन्ने सोच नीति निर्माता, कार्यान्वयनकर्तामा पटक्कै छैन । आफ्नो स्रोतको उपयोग गर्ने नीति पटक्कै छैन । त्यसै भएर हामी गरिब भएका हौँ ।
कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान घट्दो छ । कृषि उचित मौसममा आधारित छ । हरियो तरकारीदेखि मोहीसम्म आयात हुन थालेको छ । यस्तो अवस्थाको अन्त्य नहुँदासम्म मुलुकमा दिगो आर्थिक विकास हुँदैन । आर्थिक विकासका लागि सर्वप्रथम श्रमको सम्मान गर्ने परिपाटीको विकास हुनुपर्छ । त्यसपछि पहिलो चरणमा खाद्यान्नमा आत्मनिर्भर हुने र युवालाई कृषि–पशुपालनमा आकर्षित गर्ने नीति ल्याउने । उनीहरूको उत्पादनको बजार सुनिश्चित गर्ने गरी योजना र कार्यक्रम बनाउने हो भने अहिलेजस्तो दैनिक हजारभन्दा बढी युवा खाडी जानै पर्दैन ।
अहिलेको अवस्था त कस्तो छ भने नेपालको आयातको तीन तिहाइ भारत निर्भर छ । विदेशमा श्रम गरेर पठाएको रकमको आधा भारतमै जान्छ, भारतीय श्रमिकमार्फत । भारतबाट वस्तु आयात गरेर बाहिरिने रकमको त लेखाजोखा नै छैन । किनभने नेपालमा घरेलु कामदेखि कृषि, औद्योगिक मजदुर, निर्माण मजदुरलगायत सानोतिनो व्यापार व्यवसायलगायत ठूला औद्योगिक प्रतिष्ठानसम्म भारतीयको संलग्नता छ ।
यसै भएर नेपाल भारतको आर्थिक स्रोतको प्रमुख मुलुकका रूपमा स्थापित भएको हो । विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रका रूपमा उपस्थित हुँदै गएको भारतको रेमिट्यान्स भित्रिने प्रमुख राष्ट्रमा नेपाल पनि रहनुका कारण र यसको नकारात्मक प्रभाव नेपाली अर्थतन्त्रमा परिरहेको छ ।
देश विकास नै गर्ने हो भने मुलुकको श्रमशक्ति विदेशिने र विदेशीले यहाँ श्रम गरेर अथाह कमाउने विडम्बनापूर्ण स्थितिको अन्त्य गर्नैपर्छ, युवालाई श्रमसँग जोड्न सक्नुपर्छ । राजनीतिक दलका कार्यकर्ता मात्र बनाएर सत्ता र शक्तिमा पुग्ने भ¥याङ बनाउने गलत अभ्यासको अन्त्य गर्दै श्रम र सम्मानको नीति लिनुपर्छ ।
यसो गर्न सकियो भने काम पाइएन भनेर विदेशिन चाहनेहरू घरघरमा साइकलमा तरकारी बेच्न पुग्नेछन् । यस्तो अवस्था निर्माण भएमा यसले मुलुकको आर्थिक–सामाजिक विकासमा छलाङ नै मार्नेछ । गाउँघरमा जन्ती–मलामीको अभाव पनि हुने छैन, धार्मिक–सांस्कृतिक पर्व मनाउने युवाको पनि खाँचो हुने छैन । देश हराभरा हुनेछ ।