दुःख दुई अक्षरको शब्द हो तर यसले मानिसको आधा जीवनलाई समेटेको छ । जीवन दुःख र सुखको सम्मिश्रण हो । सुख र दुःख जीवनका आधा आधा भाग हुन् । जतिसुकै सुखका बिचमा पनि दुःखले छाडेको हुँदैन । दुःखका बिचमा पनि सुखको छुट्टै संसार हुन्छ । जीवनको आधा भागको दुःखमा पनि अनेक प्रकार हुन्छन् । इच्छा गरेको कुरा नपुग्नु, कसैको भनाइले मन दुख्नु, जतिसुकै प्रयास गरे पनि सफल नहुनु, सधैँ अभावमा रहनु यी दुःखका केही प्रकार हुन् ।
कुनै दुःख प्राकृतिक हुन्छ भने कुनै कृत्रिम । प्राकृतिक विपत् आई लाग्छ, कसैले टार्न सक्दैन । उमेर बढ्दै जान्छ, जतिसुकै पथपरहेजमा रहँदा पनि रोगले बिस्तारै च्याप्न थाल्छ । जन्मपछिको मृत्यु सत्य हो । अकालमा चिनजान नभएको कोही कसैको ज्यान गएको खबर सुन्दै गर्दा पनि दुःख लाग्छ । कुनै दुःख छोटो समयमा टरेर जान्छ भने कुनै दुःख लामो समयसम्म पनि रहिरहन्छ । कुनै दुःख भित्र पनि सुख लुकेको हुन्छ । कुनै सुख भनेर अनुभूत गर्दा त्यसले ल्याउने परिणाम दुःखद हुन सक्छ । कसैको दुःख कसैलाई सुख हुन्छ । कसैको सुख कसैलाई दुःख हुन सक्छ । त्यस कारण सुख र दुःख मानिसले अनुभूत गर्ने कुरा मात्र हुन् ।
कुनै विशेष घटना, सम्बन्ध, स्वास्थ्य, पढाइ र काम वा कुनै अन्य कारणले दबाब परेको हुन्छ । त्यति बेला दुःखको अनुभूति हुन्छ । यीमध्ये कतिपय स्वाभाविक दुःख हुन् । यिनलाई प्राकृतिक भन्न मिल्दैन, न त कृत्रिम नै । उदाहरणका लागि अध्ययन गर्नु आजकलको अनिवार्य सर्त हो । पढाइमा कति बेला बोझको अनुभूति हुन्छ । यसलाई कृत्रिम दुःख मानेर छोड्ने छुट घर परिवारले दिँदैन, कतिपय सन्दर्भमा समाजले पनि दिँदैन । सहरी जीवनमा आजकल हाइकिङ फेसन बनेको छ । अग्ला पहाड चढ्नु, अप्ठेरा बाटामा हिँड्नु–यी सुखका लागि गरिएका अभ्यास हुन् । शारीरिक दुःख यसमा पनि छ तर यो कृत्रिम हो । यो आफैँबाट सिर्जित हो । यस कारण यो कृत्रिम हो । यो विषय तपाईं र परिवारको दैनिक जीवनयापनसँग जोडिएकोे हुन सक्छ ।
आफैँले रोजेको वा सिर्जना गरेको दुःखको पहाडमा हिँड्दा छुट्टै आनन्द आउँछ । यसमा हामीले सहज महसुस गरिरहेका हुन्छौँ । आफैँले रोजेको यात्रामा कत्रा कत्रा ढुङ्गा पहरामा खाली खुट्टा हिँड्दा पनि हामीलाई त्यति दुःखको महसुस हुँदैन । हाम्रो खुट्टा ठुला ठुला ढुङ्गामाथि हिँड्न सक्षम हुन्छ, जसरी समाजका बैरीलाई पछार्दै अगाडि बढिन्छ । त्यही यात्रामा जुत्ताभित्र पसेको सानो ढुङ्गाले पनि हामीलाई ठुलो पीडा दिन्छ । हामी हिँड्न असमर्थ हुन्छौँ, साह्रै पीडामा हुन्छौँ । बडेमानका ढुङ्गामाथि फुर्तिसाथ हिँडेका बेला ढुङ्गाको एउटा सानो टुव्रmा पीडादायी बन्छ यो हाम्रो नजिकका आफन्तले दिएको पीडा जस्तै हुन्छ । आफन्तले दिने पीडालाई हामी न अस्वीकार नै गर्न सक्छाँै, न त अपनाउन नै ।
विज्ञहरूले दुःख र पीडालाई फरक ढङ्गमा विश्लेषण गर्छन् । दुःख भावनात्मक अवस्था पनि हो । दुःख भनेको मनभित्र उत्पन्न हुने पीडा, हराएको अनुभूति, निराशा, चोट वा असन्तोष जस्तो नकारात्मक भावना हो । दुःख जीवन अनुभवको प्रतिव्रिmया पनि हो । जब मानिसले हानि, असफलता बेहोर्छ वा अपेक्षा पूरा हुँदैन, त्यसपछि सम्बन्धमा समस्या आउँछन् । त्यसको प्राकृतिक प्रतिव्रिmया नै दुःख हो । मनोवैज्ञानिक कारणबाट पनि मानिस दुःखी हुन्छ तर यस्तो दुःख कुनै स्थायी अवस्था होइन । यो छोटो, गहिरो वा बारम्बार दोहोरिएर आउन सक्छ । यो व्यक्तिको विचार, स्मरण र अनुभवसँग जोडिएको हुन्छ । कतिपय दुःख सर्वमान्य मानवीय अनुभूति हो । यसले मानिसलाई जीवन बुझ्न, परिवर्तन स्वीकार गर्न र कहिलेकाहीँ आफैँलाई बलियो बनाउने प्रेरणा पनि दिन्छ । यसले हामीलाई खासै दुःखको महसुस पनि हुँदैन । यो जीवनको प्रव्रिmया नै हो भनेर सहजताका साथ लिएका हुन्छौँ ।
आफन्तभित्र रहेको व्यक्ति अर्थात् जुत्ताभित्र रहेको सानो ढुङ्गाको पीडाले अगाडि बढ्न असमर्थ हुन्छ । कत्रा कत्रा ढुङ्गा टेकेर अगाडि बढ्ने हाम्रो खुट्टालाई त्यो जुत्ताभित्र भएको सानो ढुङ्गाले यात्रा नै रोकिदिन्छ या मानव यात्रामा नै पूर्णविरामसम्म लगाइदिन्छ । पन्छाउन पनि सक्दैनौँ सानो भए पनि ठुलो पीडा दिइरहेको हुन्छ । फालौँ भने पनि आफ्नै जुत्ताले त्यसलाई घेरिरहेको हुन्छ । यो कुरा त्यो जुत्ताभित्र रहेको ढुङ्गालाई आभास हुन्छ कि हुँदैन थाहा छैन ।
दुःख र पीडा सुन्दा उस्तै लाग्ने शब्द हुन् । गहिराइमा गएर हेर्ने हो भने यी दुई फरक अनुभूति हुन् । दुःख सामान्यतः दुई खालको हुन्छ–मानसिक र भावनात्मक । यी दुवै मनभित्रका भावना हुन् । घटना वा परिस्थितिका कारण उत्पन्न हुने निराशा, एक्लो अनुभूति, वियोग, नकारात्मक सोच आदि दुःखका कारण हुन् । सम्बन्धमा आएका समस्या, असफलता, अपेक्षा पूरा नहुनु, हानि पुग्नुले मानसिक वा भावनात्मक रूपमा मानिसलाई दुःखी बनाउँछ । दुःख प्रायः अस्थायी हुन्छ । जुन कारणबाट दुःख अनुभूति भएको छ, त्यो पूरा भएपछि दुःख आफैँ हटेर जान्छ ।
पीडा पनि शारीरिक वा मानसिक दुवै हुन सक्छ । शरीरमा चोट लाग्नु वा रोगी हुनु अथवा थकान हुनु शारीरिक पीडा हुन्् । कसैको भनाइ, मिथ्या आरोपले मानसिक चोट पु¥याउँछ । यसबाट मानसिक पीडा उत्पन्न हुन्छ । कुनै पीडा सामान्य पनि हुन्छन्, समय व्रmममा त्यो बिर्संदै पनि गइन्छ । कतिपय पीडा दीर्घकालीन हुन्छन्, यसले मानसिक समस्या उत्पन्न गर्न सक्छ । यो पीडाबाट मुक्त हुन उपचार गर्नुपर्ने हुन सक्छ । लामो समय लाग्न पनि सक्छ । रुनु, निराश, मौन हुनु, मन खिन्न हुनु, शारीरिक छटपटी हुनु पीडाका लक्षण हुन् । यसले मानिसमा गहिरो मानसिक कष्ट दिन सक्छ ।
कुनै पीडा सतहमै बग्छ, भोलि पर्सि नै भुलिदिने खालको हुन्छ । नजिकका आफन्त हाम्रो जीवनका अध्याय हुन् । उनीहरू विश्वास र प्रेमका सुरक्षा र सान्त्वना पनि हुन् । उनीहरूका हरेक शब्दले हृदयमा गहिरो छाप छोड्छ । किनकि नजिकका मानिससँग हामी अपेक्षा धेरै गर्छौं । उसले आफूलाई बुझिदेओस्, साथ दिओस् विश्वास गरिदियोस् भन्ने लाग्छ । जब त्यही अपेक्षाको जग हल्लिन थाल्छ, जीवनको आधार नै हल्लिन्छ । टाढाको चोट क्षणिक हुन सक्छ तर नजिकको चोट गहिरो र लामो हुन्छ । यसले मनमस्तिष्कलाई थकित बनाइदिन्छ । सुख मानिस जोकसैले खोज्छ, दुःख कसैले चाहँदैन । सुखमा धेरैले साथ दिन्छन् तर दुःखमा साथ दिने पाउन कठिन छ । कसैलाई खुसी दिन सकिँदैन भने उसलाई दुःख पनि नदिउँ । पीडा हुने व्यवहार पनि नगरौँ ।