• ६ मंसिर २०८२, शनिबार

सिउँदो पुछियो, फर्किने आशा अझै

blog

फोटोमा माल्यार्पण गर्दै बेपत्ता राजकुमार थारूका श्रीमती, छोरा र छोरी ।

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया), मङ्सिर ६ गते । राजापुर नगरपालिका वडा नं ६ बिक्रमपुरकी हिराकुमारी थारुलाई अझै पनि आफ्नो श्रीमान् सकुसल फर्किन्छन् जस्तो लाग्छ तर उहाँको सिउँदो पुछियो । 

२३ वर्ष अगाडि तत्कालीन सुरक्षा फौजले श्रीमान् राजकुमार थारुलाई बाटो देखाइदिन भनेर लगेका थिए । राजकुमारको अवस्था अझै अज्ञात छ तर बाध्यतावश राजकुमारको परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।

“सरकारले सत्यतथ्य जानकारी नगराउँदासम्म काजक्रिया गर्न मन थिएन । बेपत्ता राजकुमारकी श्रीमती हीराले भन्नुभयो, “मलाई त अझै पनि श्रीमान् आउनुहुन्छ होला जस्तो लाग्छ । हिजो जस्तै लाग्छ श्रीमानलाई राती बोलाएर लगेको म त अझै पनि आशमा छु ।”

काखमा सुतिरहेको ४ वर्षीय कान्छो छोरा सुजन थारु २७ वर्ष पुगिसकेका छन् । अहिले छोरा नै बाबुको खोजीमा भौँतारिएको लामो समय भयो । अन्ततः तिनै छोरा बुवाको सास र लास नभेट्दै कुशको शव बनाएर अन्त्येष्टि गर्न बाध्य भए । 

“मलाई त सरकारले सत्य तथ्य थाहा नदिँदासम्म काजक्रिया गर्न मन थिएन । बेपत्ता राजकुमारको कान्छो छोरा सुजनले भन्नुभयो, “पर्खाइ पनि लामो भयो। घरपरिवारमा कोही बिरामी भयो भने धामीझाँक्री र गुरुवाले बेपत्ता भएको बुवा नै लागेको भन्दै काजक्रिया गर भन्छन् । परिवार र समाजले पनि काज क्रिया गर्नुपर्छ भनेर दबाब दिन थालेपछि बाध्य भएर गर्नुपरेको हो ।”

राजकुमारसँगै २०५९ कात्तिक ३ गते लगेका बिक्रमपुरकै राधेश्याम थारूको कुशको शव बनाएर अन्तिम संस्कार दुई वर्ष अगाडि भयो । त्यतिबेला नै मानपुर टपरा आसपासका धेरै सर्वसाधारणलाई जबरजस्ती घरबाट ल्याएर मानपुर माध्यमिक विद्यालयमा राखिएको थियो । 

जसमध्ये १४ जना अझै बेपत्ताको सूचीमा छन् । राधेश्यामको अन्तिम संस्कार भएपछि राजकुमारको परिवारलाई काजक्रिया गर्ने दबाब बढ्दै गएको थियो । 

समयमै सरकारले सत्यतथ्य सार्वजनिक गर्न नसक्दा बेपत्ता पारिएका व्यक्तिका परिवारहरूको धैर्यको बाँध टुट्न थालेको छ । कतिपयले अंशबन्डा लगायतका प्रशासनिक समस्या भएको कारणले काजक्रिया गरेर मृत्यु दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको छ । 

सामाजिक तथा सांस्कृतिक कारण बेपत्ताका परिवार दबाबमा परेका छन् । कतिपय दबाब सहँदै बसेका छन् भने कतिपयले दबाब सहन नसकेर कुशको शव बनाई काजक्रिया गर्न बाध्य छन् । 

सरकारले बेपत्ता पारिएका नागरिकको सत्यतथ्य सार्वजनिक गर्न ढिलाइ गरेकै कारण यस्तो समस्या आएको द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले बताउनु भयो । 

“शान्ति सम्झौतामा ६ महिनाभित्रमा बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्ने सहमति भएको थियो । उहाँले भन्नुभयो “शान्ति सम्झौता भएको पनि २० वर्ष पुग्न थाल्यो तर बेपत्ता नागरिकको अवस्था सार्वजनिक भएको छैन । सामाजिक सांस्कृतिक र प्रशासनिक कामको लागि बेपत्ताका परिवारहरूले काजक्रिया गर्ने मृत्यु दर्ता गराउने जस्ता काम गरेका छन् ।” उहाँका अनुसार बर्दिया जिल्लामा ५० भन्दा बढी परिवारले काजक्रिया गरिसकेका छन् । यो क्रम बढ्दै गएको छ । 

बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका अनुसार बर्दियामा दुई सय ६१ ओटा बेपत्ताका उजुरी दर्ता भएका छन् भने नेपालभरबाट दुई हजार छ सय ४० जना बेपत्ता पारिएको भन्दै उजुरी दर्ता भएका छन् । आयोगका अनुसार बर्दियाबाट देशभरिमै सबैभन्दा बढी बेपत्ता पारिएको भन्दै उजुरी दर्ता भएका छन् ।