• ११ असोज २०८१, शुक्रबार

वालिङमा प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविर

blog

शिविरमा स्वास्थ्य परीक्षण गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, असोज ९ गते ।
स्याङ्जाको वालिङमा मासिक रुपमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । वृद्धवृद्धा र असक्तहरुका लागि लक्षित गरी प्रत्येक महिना स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।

वालिङ–१० भकुण्डेमा रहेको नवजागरण संस्था र ग्रामीण घुम्ती स्वास्थ्य सेवा पाल्पाको सहयोगमा प्रत्येक महिनाको पहिलो सोमबार शिविर सञ्चालन हुन लागेको हो ।

वृद्धवृद्धा तथा असक्तहरुका लागि लक्षित गरेर गाउँमा नै शिविर सञ्चालन गर्न लागिएको नवजागरण संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सामाजिक कार्यअन्तर्गत विभिन्न संघसंस्थाको सहकार्यमा शिविर र अन्य गतिविधि गरिने छ ।” साथै शिविरमा औषधी पनि निःशुल्क वितरण गरिने उहाँको भनाइ छ ।

असोज महिनाको पहिलो सोमबार भएको शिविरमा ६३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । सेवा लिनेमा आधिकांश वृद्धवृद्धा रहेको अध्यक्ष खनालले जानकारी दिनुभयो ।

नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न र निःशुल्क रुपमा औषधी उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको उहाँको भनाइ छ ।