फडिन्द्र अधिकारी
लेखनाथ, पुस १२ गते ।बेमौसममा नेपालका पर्यटन गन्तव्यहरू करिब सुनसान हुन्छन् । पर्यटन राजधानी पोखरामा भने बेमौसममा पनि पाहुना आकर्षित गर्न केही न केही भइरहन्छ ।
पुस, माघ महिनामा सुनसान हुने पोखराको लेकसाइड क्षेत्रमा चहलपहल बढाउन सुरु भएको सडक महोत्सवको २७ औं शृङ्खला यसपालि मनाइँदै छ ।
अङ्ग्रेजी नयाँ वर्ष मनाउन स्वदेशीदेखि विदेशी पर्यटकसम्म पोखरा आउने प्रचलन भइसकेको छ। महोत्सवका सांस्कृतिक संयोजक चौबहादुर गुरुङले अहिलेका चर्चित कलाकारसहित सांस्कृतिक नाचहरु पनि महोत्सवका आकर्षण बन्ने जानकारी दिनुभयो ।
“कौरा नृत्य, थारु समुदायको लाठी नाच जस्ता संस्कृति त रहने नै छन्,” उहाँले भन्नुभयो, “यसपालि विशेष आकर्षणका रुपमा रोधीको सेट नै आउँदै छ । यसपालि महोत्सव बेला लेकसाइडमा रोधी घन्किन्छ ।”
रेष्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) कास्कीको आयोजनामा पुस १३ देखि १७ गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
रेवान कास्की अध्यक्ष विश्वराज पौडेल महोत्सवको तयारी करिब सकिएको जनाउँदै लेकसाइड झकिझकाउ बनाइसकिएको बताउनुहुन्छ ।
“यसपालि हाम्रो मुख्य चासो सुरक्षामा छ, पछिल्लो आन्दोलनपछि पहिलो महोत्सव गर्दै छौँ,” उहाँले भन्नुभयो, “खाना, स्थानीय उत्पादनहरूलाई प्राथमिकता दिएका छौँ ।”
उहाँले महोत्सवले यो क्षेत्रको आर्थिक चलायमान बनाउन पनि योगदान गर्ने अपेक्षा सुनाउनुभयो । पछिल्लो क्रममा महोत्सवलाई नाचगान र खानपानमा सीमित नराखी जाति, धर्म संस्कृतिबीचको सहिष्णुता र सद्भावको माध्यम बनाइएको छ ।
सांस्कृतिक संयोजक गुरुङ कृषि, हस्तकला, प्रविधि र मौलिक उत्पादनलाई महोत्सवसँग जोडेर अघि बढाइएको उल्लेख गर्नुहुन्छ । लेकसाइडको करिब साढे तीन किलोमिटर सडकमा महोत्सव हुने गरेको छ । महोत्सवका संयोजक वसन्त गौतम महोत्सवलाई अङ्ग्रेजी नयाँ वर्ष गन्तव्यको रूपमा स्थापित गरिएको बताउनुहुन्छ।
महोत्सवमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख झाँकी, वेषभूषा र नृत्य, चर्चित राष्ट्रिय कलाकारको लाइभ कन्सर्ट रहनेछ । लोक दोहोरी, बोट रेस, वेटर रेस, टग अफ वार र पर्यटक लक्षित खेलसहित पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरूसँग विमर्श पनि हुने तय छ ।