• ११ असोज २०८१, शुक्रबार

आइसिसी विश्वकप लिग–२

नेपाल आज ओमानको सामना गर्दै

blog

क्यानडासँगको दोस्रो खेल हारेपछि नेपाली टोली । तस्बिरहरु सौजन्य : विकास तिमल्सिना

काठमाडौँ, असोज ८ गते । आइसिसी विश्वकप लिग–२ सिरिजअन्तर्गत चौथो खेलमा नेपालले मङ्गलबार (आज) राति ओमानसँग प्रतिस्पर्धा गर्दैछ । 

क्यानडाको किङ्ग सिटीमा नेपाली समयअनुसार साँझ ८:४५बजे खेल सुरु हुनेछ । यस सिरिजमा लगातार तेस्रो हार खेपेको नेपाललाई साख जोगाउन पनि आजको खेल जित्नै पर्ने दबाब छ । 

नेपाललाई आज ओमानसँगको पहिलो खेलमा जित नजिक पुगेर खेपेको हारको बदला समेत लिने अवसर छ । एक दिवसीय त्रिकोणात्मक यस सिरिजमा नेपाल, क्यानडा र ओमान छन् ।


कमजोर ब्याटिङका कारण नेपाली टोलीको क्यानडा भ्रमण विर्सनलायक बनेको छ । नेपालले यस सिरिजको सात खेलमा ६ खेलमा हार खेपिसकेको छ । त्यसैले नेपाललाई यस सिरिजमा टिक्न पनि अबका खेलहरू निकै महत्त्वपूर्ण रहेको छ । 

नेपाल पहिलो खेलमा क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल जित नजिक पुगेपनि ओमानसँग एक विकेटले पराजित भएको थियो । नेपालले आफ्नो कमजोरी तेस्रो खेलमा सुधार गर्न नसक्दा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।  


नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेलिरहेको हो । यसअघि पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान छ । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ ।

नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो । क्यानडामा तीन टोलीबिच टी–२० सिरिज पनि हुनेछ । नेपालले क्यानडापछि अमेरिकामा विश्वकप लिग–२ कै अर्को सिरिज खेल्नेछ । यस सिरिजमा आयोजक नेपाल र स्कटल्यान्ड  छ । 


आठ टोली सहभागी लिग–२ को यस सिरिजमा नेपाल अहिले सातौँ स्थानमा छ । सात खेल सकेको नेपालको दुई अङ्क छ । शीर्षस्थानमा रहेको क्यानडाको ११ खेलबाट १४ अङ्क पुगेको छ । दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको आठ खेलबाट १२ अङ्क छ । तेस्रो स्थानमा रहेको अमेरिकाको सात खेलबाट १० अङ्क छ ।


यस्तै चौथो स्थानमा रहेको स्कटल्यान्डको सात खेलबाट नौ अङ्क, पाँचौँ स्थानमा रहेको नामिबियाको नौ खेलबाट आठ अङ्क छ । छैटौँ स्थानमा रहेको ओमानको ६ खेलबाट पाँच अङ्क छ । पाँच खेल सकेको संयुक्त अरव इमिरेट्स (युएई) दुई अङ्कसहित अन्तिम स्थानमा छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्लेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, सन्दीप लामिछाने र देव खनाल (वैकल्पिक खेलाडी) ।