• ८ पुस २०८१, सोमबार

सशक्त महिला चित्रणमा ‘शाम्भाला’

blog

काठमाडौँ, असोज २ गते । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नाम र दाम कमाएर नेपाल भित्रिएको ‘शाम्भाला’ नेपाली चलचित्रघरमा प्रदर्शन भइरहेको छ । ‘कालोपोथी’ चलचित्रबाटै प्रशस्तै चर्चा कमाएका मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्भाला’ ले हिमाली संस्कृति, जनजीवन र कथावस्तु भन्ने प्रयास गरेको छ । 

डोल्पामा बहुपति प्रथा, ल्हासासँगको परम्परागत व्यापार, संस्कार र संस्कृति, बौद्ध धर्म एवं मिथकमा चलचित्र घुमेको छ । टासीको घरमा भित्रिएकी पेमाले कसरी शाम्भालाका रूपमा निर्वाण प्राप्त गर्छिन् भन्ने कथालाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ । व्यापारको सिलसिलामा ल्हासा पुगेका श्रीमान् टासीको खोजी गर्दै हिँडेकी गर्भवती पेमाको सङ्घर्षको कथा शृङ्खलामा चलचित्र घुमेको छ । हिमाली संस्कृतिमा रहेको एउटा पुनर्जन्म र मिथकलाई चलचित्रमा देखाइएको छ । 

चलचित्रको कथा हिमाली भेगमा बस्ने शेर्पा समुदायबाट सुरु हुन्छ जहाँ चलचित्रको मुख्य पात्र पेमा (थिन्ले ल्हामो) मा केन्द्रित छ । चलचित्रको सुरुवातमा नै पेमाको विवाह तीन पुरुष टासी (तेन्जिन दल्ह), कर्मा (सोनाम तोप्देन) र दावा (कर्म वाङ्याल गुरुङ) सँग एकैसाथ हुन्छ । बहुपति प्रथा यसबेला चलचित्रमा झल्कन्छ यसपछि सुरु हुन्छ पेमाको जीवनीको कथा । तीन पुरुषसँग जीवनयापन गरिरहेकी पेमाको सामीप्य जेठो टासीसँग धेरै बढेको हुन्छ । उनले अन्य दुई जनालाई भन्दा टासीलाई अत्यधिक माया गर्छिन् । विवाहको रात दुवैले सँगै बिताउँछन् र उनको गर्भ बस्छ । टासी व्यापारका लागि ल्हासा पुग्छन् र उतै हराउँछन्  । अर्का पति माइलो कर्म रिम्पोछेको सेवामै गुम्बामा लिप्त छन्  । कान्छो श्रीमान् दावा पेमाको छोरा बराबरका छन् । कान्छो श्रीमान्का लागि पेमा श्रीमती कम आमाको भूमिकामा धेरै देखिन्छिन् । 

दावाको पढाइ र छुकछुके बानीले गर्दा पेमा गाउँका राम सर (कर्म शाक्य) सँग सहयोग माग्न पुग्छिन् र त्यही सहयोग उनलाई टोक्नु न ओकल्नुमा परिणत हुन्छ । समाजले पेमाप्रति अनेकन् नराम्रा कुरा काट्न थाल्छन् । उनको गर्भमा हुर्कंदै गरेको बच्चा टासीको नभएर ‘राम सर’ को हो भन्ने अनेकन् अड्कलबाजी गर्न थालिन्छ । यता दावाको बालमस्तिष्कले पनि यही कुरालाई सत्य ठान्न थाल्छ । गाउँघरको हल्लालाई साँचो ठानेर घर फर्कंदै गरेको टासीले बाटो फेर्छन् । उनमा समाजसँग लड्ने क्षमता हुँदैन र नाङ्ला पासतिरबाटै उनी बाटो मोड्छन् । यो कुरा थाहा पाएसँगै पतिको खोजीमा निस्किन्छिन्, गर्भवती पेमा । यसपछि पेमाको जीवनमा अनेकन् आश्चर्यजनक मोड आउन थाल्छन् । 

‘शाम्भाला’ संवाद होइन दृश्यप्रधान चलचित्र हो । चलचित्रमा कलाकारले संवाद डोल्पो भाषामा बोलेका छन् । कहीँकतै मात्र नेपाली भाषाको प्रयोग गरिएको छ । संवादलाई अङ्ग्रेजी र नेपालीमा ‘सबटाइटल’ गरिएको छ । 

निर्देशक भामको एउटा विशेषता भनेको नै गैरकलाकारलाई आफ्नो चलचित्रमा अभिनय गराउनु हो । जहाँ उनी सफल भएका छन् ।  

चलचित्रको सबैभन्दा राम्रो पक्ष भनेकै यसको ‘सिनेम्याटोग्राफी’ हो । हिमालका सुन्दर दृश्य देख्दा चलचित्र हेरिरहुँ जस्तो भान हुन्छ । मीनले चलचित्रको कथामा भन्दा दृश्यमा धेरै खेल्ने काम गरेका छन् । उनले दृश्यमार्फत नै धेरै कुरा चिनाउन खोजेका छन् । ‘शाम्भाला’ को सबैभन्दा सुन्दर पक्ष भनेकै यसको दृश्य हो । साथै निर्देशकले चलचित्रको रङ र प्रकाशमा कन्जुस्याइँ गरेका छैनन् । दृश्य अनुसारको रङ र प्रकाशले चलचित्रलाई झन् माथि उठाउने काम गरेको छ । 

चलचित्रमा निर्देशक चुकेका भनेकै लामा लामा संवादका दृश्यमा हो । चाहे त्यो कान्छो श्रीमान्सँगको दृश्य होस् या कर्मासँग टासीलाई खोज्न हिँडेको । प्रायः दृश्य र त्यसको संवादले दर्शकलाई हाय काढ्न पनि बाध्य पार्दैन भन्न सकिन्न । चलचित्रको अर्को कमजोर पक्ष भनेको पेमा श्रीमान् खोज्न त हिँड्छिन् तर उनको गन्तव्य कहाँसम्मको हो । यो कुरा प्रस्ट खुलाइएको छैन । त्यस्तै पेमासँगै हिँडेको नाम्खा (घोडा) हिउँमा मरेको भेटिन्छ । घोडा कसरी हिउँमा पुरियो भन्ने कुरा प्रस्ट पारिदिएको भए दर्शकका मनमा अनेकन् शङ्का उब्जने थिएनन् कि ? दीपकराज गिरीको चटपटे चलचित्र वा बलिउड कलाकार सलमान खान र अक्षय कुमारलाई हेरिरहने दर्शकका लागि ‘शाम्भाला’ उपयुक्त चलचित्र हुन नसक्ला तर चलचित्रमा नेपाली मौलिकताको खोजी गर्नेका लागि हेर्नेपर्ने चलचित्र चाहिँ हो ।