• २६ असोज २०८१, शनिबार

‘पर्यटन विकासमा सबैको सहकार्य जरुरी’

blog

पर्वत समाचारदाता

पर्वत, भदौ ३१ गते । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा पर्यटनको उच्च सम्भावना रहेकाले यसको विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । 

पर्वतको भुकताङ्लेमा आयोजित बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै मन्त्री बस्यालले पर्यटकीय विकासबाट मात्रै समृद्धि हासिल गर्न सकिने भएकाले सबैले हातेमालो गर्न जरुरी रहेको बताउनुभयो । “गण्डकी प्रदेश पर्यटनको क्षेत्रमा विश्वमै नमुना छ,” उहाँले भन्नुभयो, “भएका पूर्वाधारको संरक्षण गर्न र नयाँ पूर्वाधारको विकासमा निजी क्षेत्र र सरकारी तवरबाट सहकार्य गरेर जान आवश्यक छ ।” 

उहाँले पर्यटकीय पूर्वाधार, पर्यटकीय स्थलको पहिचान र विकासमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय समुदायले पर्यटकीय विकासमा गरेका काममा गण्डकी प्रदेश सरकारले सहकार्य गरेर जाने बताउनुभयो । 

मन्त्री बस्यालले बालबालिकाको सर्वाङ्गीण विकासका लागि उनीहरूको क्षमता र दक्षता अभिवृद्धिमा राज्यका निकायले टेवा दिनुपर्नेमा समेत जोड दिनुभयो । भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकालाई सकारात्मक र व्यावहारिक शिक्षाले मात्र सही दिशामा पुर्‍याउने भएकाले समुदाय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले बालबालिकालाई उनीहरूको क्षमता र रुचिका आधारमा शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बालमैत्री बुझाइ नहुँदा उनीहरू विभिन्न ठाउँमा पछि परेको बताउँदै बालबालिकालाई मूलधारमा ल्याउन जरुरी रहेको बताउनुभयो । 

मोदी गाउँपालिका–१, भुकताङ्ले बालमैत्री वडा घोषणाका लागि विभिन्न ५१ सूचकको निर्माण गरी ती सबै सूचक पूरा गरेपछि बालमात्रै वडा घोषणा गरिएको हो । वडाध्यक्ष टेकबहादुर गुरुङले सबै सूचकको निर्माण गरी वडास्तरमा प्रतिबद्धतापछि मात्रै बालमैत्री वडा घोषणा गरिएको बताउनुभयो ।

बालमैत्री वडाका लागि बाल प्रोफाइल, बाल लगानी योजना, बालक्लब भेला, वडास्तरीय बालमैत्री कमिटी र बालबालिकालाई क्षमता अभिवृद्धि गराउने काम सम्पन्न भएका हुन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बालमैत्री सुशासनका लागि बालबालिकालाई समाजका हरेक क्षेत्रमा प्रतिनिधित्व गराई उनीहरूको समेत अपनत्व गराउन जरुरी रहेको बताउनुभयो । उहाँले मोदी गाउँपालिकाका सबै वडालाई बालमैत्री वडा बनाई गाउँपालिकालाई नै बालमैत्री गाउँपालिका घोषणाको तयारीमा रहेको बताउनुभयो ।