• १६ भदौ २०८१, आइतबार

सहर पस्न थाले बाघ

blog

वसन्त पराजुली

नारायणगढ, साउन २३ गते । बाघको सङ्ख्या बढेसँगै यसको व्यवस्थापनमा चुनौती देखिएको छ । सङ्ख्या वृद्धिसँगै संरक्षित क्षेत्रमा बाघ व्यवस्थापन हुन नसक्दा मानव बस्तीमा प्रवेश गर्ने र मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गर्ने चुनौती बढेको छ । 

भरतपुर–२ का ६० वर्षीय पशुपति श्रेष्ठलाई नारायणगढ बजारसँगै रहेको नारायणी नदीकिनारमा आक्रमण गर्ने बाघलाई आइतबार साँझ उद्धार गरी सौराहामा राखिएको छ । निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार करिब पाँच वर्षको सो बाघलाई उद्धार गरिएको हो । “बाघ निकुञ्ज आसपासका मानव बस्तीमा आउने जाने त भइरहन्छ तर अहिले मान्छे र घरपालुवा जनावरलाई आक्रमण गर्नु दुःखद हो,” उहाँले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज बाघको प्रमुख वासस्थान हो । पछिल्लो गणना अनुसार चितवनमा १२८ बाघ छन् । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको सम्मेलनमा सन् २०२२ सम्ममा नेपालमा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरिएको थियो । सोही प्रतिबद्धता अनुसार सन् २०२२ मा आइपुग्दा नेपालले बाघको सङ्ख्या ३५५ पु¥यायो । सन् २०१० मा नेपालमा बाघको सङ्ख्या १२१ थियो । बाघको वृद्धिसँगै पछिल्लो समय मानव बस्तीमा आउनेको सङ्ख्या बढ्न थाल्यो । निकुञ्जबाहिर आउने र मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गर्ने समस्याग्रस्त बाघको सङ्ख्या पनि बढ्दै गएको छ । 

निकुञ्जका अनुसार आर्थिक वर्ष २०८०/८१ मा चितवनमा आठ वटा बाघ मरेका छन् भने मानव बस्तीमा आएर दुःख दिने ११ वटा बाघको उद्धार गरिएको छ । यो अवधिमा बाघको आक्रमणबाट चार जना मानिसको मृत्यु र सात जना घाइते भएका छन् । पछिल्लो पटक आइतबार नारायणगढबाट उद्धार गरिएको बाघ चालु आव २०८१/८२ को पहिलो हो । हालसम्म उद्धार गरिएकामध्ये सौराहामा दुई, कसरामा दुई र देवनगरमा दुई गरी छ वटा बाघ चितवनमै थुनेर पालिएको छ । यस्ता समस्यामा परेर थुनेर पालिएका बाघ बर्दियामा चार र बाँकेमा एक छन् । 

यसरी थुनेर पालेको बाघ गत जेठ ६ गते सौराहामा म¥यो । दुई जना मान्छे खाएर समस्याग्रस्त बनेको १० वर्षको सो बाघ छ महिनादेखि चितवन राष्ट्रिय निकुञ्जले खोर बनाएर थुनेर पालेको थियो । 

उता पर्सा राष्ट्रिय निकुञ्जमा समस्याग्रस्त भई खोरमा थुनेर राखिएका तीन वटा बाघ २०८० असोज २५ देखि चैत १६ गतेसम्म खोरमै मरेका थिए । यसले बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती बढेको देखिन्छ । एक संरक्षणकर्मी भन्छन्, “बाघ बढेसँगै चुनौती छ । बाघ थुनेर पाल्न पनि समस्या छ, छाड्दा पनि समस्या छ ।” 

जानकारहरूका अनुसार बुढो भएर वा घाइते भएर आहारा पाउन नसकेपछि मानव बस्तीमा पसेर बाघले मानिस तथा जनावरलाई आक्रमण गर्छ तर नारायणगढमा आइतबार भेटिएको बाघ पाँच/छ वर्षको वयस्क हो । निकुञ्जका पशु चिकित्सक डा. श्रेष्ठ यो बाघ बुढो वा अशक्त भएरभन्दा पनि बाटो बिराएर नारायणगढ पुगेको अनुमान गर्नुहुन्छ । 

“निकुञ्जदेखि चुरेसम्म वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार कोरिडोरबाट नारायणी नदीकिनार हिँड्दा यो नारायणगढ आइपुगेको हुनु पर्छ,” उहाँले भन्नुभयो । वन्यजन्तुविज्ञ डा. बाबुराम लामिछाने बाघ लजालु स्वभावको हुने भएकाले सकेसम्म मानिसलाई आक्रमण नगर्ने बताउनुहुन्छ । 

अहिले वर्षाका बेला नदीमा बाढी आएर र जङ्गलमा झाडी बढेकाले पनि बाघ मानव बस्तीमा आएको उहाँको तर्क छ । सीमित वन क्षेत्र तर बाघको सङ्ख्या बढ्दो क्रममा रहेकाले पनि अब निकुञ्जले कति बाघ थेग्ने भन्ने बहस हुन थालेको छ । ९५२ वर्गकिलोमिटर निकुञ्ज र ७२९ वर्गकिलोमिटर यसको मध्यवर्ती क्षेत्रमा कति बाघ अट्ने यो अध्ययनकै विषय हुन आउँछ । 

एक अध्ययन अनुसार बाघको पोथीले १५ देखि ४० वर्गकिलोमिटर र भालेले २५ देखि ६० वर्गकिलोमिटर आफ्नो विचरण क्षेत्र बनाउने गर्छ । एउटा भालेले तीन वटासम्म पोथीलाई आफ्नो क्षेत्रभित्र बास दिन्छ । बाघले आफ्नो विचरण क्षेत्रमा दोस्रो बाघ बस्न दिँदैन । राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका योजना शाखा प्रमुख हरिभद्र आचार्य पनि बाघको सङ्ख्या बढेसँगै निकुञ्जमा बाघ बढी भएको र बस्ने ठाउँ खोज्दै बाहिरको वन क्षेत्रमा आएको बताउनुहुन्छ । 

उहाँले विभागले निकुञ्जभित्रै घाँसे मैदान व्यवस्थापन गरी बाघको आहाराजन्य जनावर बढाउने कार्य सुरु गरिसकेको बताउनुभयो । एक गणना अनुसार निकुञ्जमा प्रतिकिलोमिटरमा ९९ वटा आहाराजन्य जनावर छन् । उहाँ भन्नुहुन्छ, “नारायणगढमै वयस्क बाघ निकुञ्जबाहिर आएको घटनाले पनि अहिले बाघ नयाँ बासस्थान खोजीमा छन् भन्ने देखायो । नयाँ बासस्थान खोज्ने बाघको निगरानी राख्ने हो भने मात्रै पनि बाघ र मानिसको द्वन्द्व कम गराउन सकिन्छ ।”