• १९ पुस २०८१, शुक्रबार

साहित्यकार गैरेको 'मोहोर' विमोचन

blog

उपन्यास ‘मोहोर’ का विमोचन गर्दै लेखकसहित अतिथिहरु । तस्बिर : सिराज खा

सिराज खान 

नेपालगन्ज, साउन २० गते । कोहलपुरका साहित्यकार सागर गैरेको तेस्रो कृति उपन्यास ‘मोहोर’ को विमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको एक कार्यक्रममा प्राध्यापक डा. कृष्ण प्रसाद घिमिरे, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जान, लेखकका पिता तथा उपन्यासका मुख्य पात्र घनश्याम गैरे, लेखककी पत्नी यशोदा गैरे र लेखक सागर गैरेले संयुक्त रूपमा उपन्यास ‘मोहोर’ को विमोचन गर्नुभएको हो । 

सो अवसरमा उपन्यासका बारेमा चर्चा गर्दै प्राध्यापक डा. जनार्दन आचार्यले उपन्यासमा चौरासी वर्ष पार गरिसक्नुभएका आफ्ना बाको जीवन र कर्मका अनेकौँ चित्र उतारिएको बताउनुभयो । उहाँले सामाजिक सङ्घर्ष, पारिवारिक सङ्घर्षका क्रममा एउटा आम मान्छेको भोगाइजस्तै बाले भोगेका पीडा, अभाव र त्यसबाट प्राप्त गरेका तीता–मीठा अनुभूति उपन्यासमा समेटिएकोले यो कथा गैरे परिवारका लागि मात्र नभई आमपाठकका लागि पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । 

यसैगरि समालोचक तथा उपप्राध्यापक हरि प्रसाद तिमिल्सिेनाले मोहोरले मानिस किन एक ठाउँमा अर्को ठाउँमा बसाइँ सर्छ ? उसको चरित्र किन अस्थिर हुन्छ र आफ्ना थातथला, नातागोता, कुटुम्ब किन छोड्न तयार हुन्छ भन्ने दार्शनिक पाटोलाई चिरफार गरेको बताउनुभयो । 

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष कपिल अन्जानको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल, प्रतिष्ठानका कानुनी सल्लाहकार सन्तोषी विष्ट लगायतले उपन्यासबारे आफ्नो धारणा राख्नुभयो । उपन्यासका लेखक गैरेले यसअघि २०७७ सालमा कोरोनाको अवस्था झल्काउने निबन्ध सङ्ग्रह ‘लकडाउन’ र २०७८ सालमा ‘बलैगाउँदेखि बाकुसम्म’ नियात्रा प्रकाशित गरिसक्नुभएको छ । उपन्यास ‘मोहोर’ उहाँको तेस्रो कृति हो । 

विमोचन कार्यक्रममा करिब डेढ सय जना साहित्यकार र साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो । गैरेको उपन्यासमा राणाकाल, सात सालको क्रान्ति र सहिदहरू, राजतन्त्र, बहुदल, माओवादी जनयुद्ध, गणतन्त्रसम्मका नेपालले अँगालेको शासन व्यवस्थामा आममान्छेका बुझाइ र भोगाइ तथा सामाजिक–आर्थिक प्रभाव नै किताबको अन्तर्वस्तु बनाइएको छ । यो उपन्यास पहाड र तराईको बसाई सराईको कथा भएको लेखक गैरेले बताउनुभयो ।