• १६ भदौ २०८१, आइतबार

प्रिन्स ओलम्पिकमा जितविहीन

blog

समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै प्रिन्स दाहाल । तस्बिर सौजन्य : लोकेन्द्र बस्नेत

काठमाडौँ, साउन १६ गते । नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा जितविहीन बन्नुभएको छ ।

समूह ‘पी’ अन्तर्गत बुधबार भएको आफ्नो अन्तिम खेलमा प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २–० को सोझो सेटमा पराजित हुनुभयो । उहाँ गिल्बरम्यानसँग ३६ मिनेट कोर्टमा टिक्नुभएको थियो । प्रिन्स २१–१२, २१–१० ले पराजित हुनुभयो । 

यसअघि प्रिन्स डेनमार्कका भिक्टर एक्सेल्सन र आयरल्यान्डका नाट गुयेनकासँग २–० को सोझो सेटमा नै पराजित हुनुभएको थियो । युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने अवसर पाउनुभएका प्रिन्सको यससँगै पेरिस ओलम्पिक यात्रा सकिएको छ । 

यस ओलम्पिकमा प्रिन्स बाहिरिएसँगै ६ नेपाली खेलाडीको चुनौती सकिएको छ । यसअघि टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह तथा जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिसक्नुभएको छ ।

 नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्न बाँकी छ । सन्तोषी मङ्गलबार राति पेरिस पुग्नुभएको छ ।