• ३ साउन २०८१, बिहिबार

घोडाघोडीका मिश्र त्रिवि टपर

blog

स्नातक तह दोस्रो बर्षमा त्रिभुवन विश्वविद्यालय टपेका गोविन्द मिश्रलाई सम्मान गरिदै । तस्बिरः चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), साउन ३ गते । कैलालीको गोविन्द मिश्रले स्नातक तह दोस्रो वर्षको परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी नेपाल टप गर्नु भएको छ ।

लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका मिश्रले ३९५ अर्थात् ७९ प्रतिशत अङ्क प्राप्तगरी त्रिभुवन विश्वविद्यालय टप गर्नु भएको हो । माध्यमिक तह पास गरी छ वर्ष ग्याप गरेका मिश्रले २०७८ सालमा स्नातक तह प्रथम वर्षमा भर्ना गर्नुभएको थियो । 

कैलालीको घोडाघोडी नगरपालिका –१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा मानविकी सङ्कायमा सामाजिक कार्य र ग्रामीण विकास मूल विषय लिएर अध्ययनरत मिश्र नियमित कक्षा नलिने विद्यार्थी हुनुहुन्थ्यो । तर उहाँले २०८१ सालमा प्रकाशित नतिजामा नेपाल टप गरेको दाबी क्याम्पस पदाधिकारीको भनाइ छ । 

शिक्षण पेसामा आबद्ध मिश्रले लामो समय अध्ययन ग्याप भएपछि नियमित कक्षा लिन नपाए पनि घरमै अध्ययन गरेर परीक्षा दिने उद्देश्यले क्याम्पस भर्ना गरेको बताउनुभयो ।

बिहीबार मिश्र अध्ययनरत क्याम्पसले उहाँलाई बधाई तथा सम्मान गरेको छ । बधाई कार्यक्रममा मिश्रले नियमित कक्षा लिन क्याम्पस नआए पनि शिक्षकको सुझाव उत्प्रेरणा र घरमै मेहनत गरेर अध्ययन गरेकाले राम्रो अङ्क ल्याउन सफल भएको बताउनुभयो ।

उहाँले प्रथम वर्षमा ७० प्रतिशत ल्याई उत्तीर्ण हुनुभएको छ भने २०८० सालको दोस्रो वर्षको नतिजामा ७९ प्रतिशत ल्याई सर्वोत्कृष्ट बन्नु भएको छ । घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले मिश्रले नियमित कक्षा नलिएर घरमै स्वअध्ययन गरी नेपाल टप हुँदा क्याम्पसको नाम उच्चो भएको बताउनुभयो । 

मिश्रलाई क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रेमबहादुर सहकारी, प्राध्यापक सङ्घ सभापति दिनेशराज जोशी सहायक क्याम्पस प्रमुख चेतराज विनाडीलगायत प्राध्यापकले बधाई तथा शुभकामना दिनुभयो ।