साहारा लिम्बू
फुङलिङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन (रिफाइन) गरिएको छ। करिब दुई वर्षको अवधिमा भक्तजनले चढाएको सुन तथा चाँदी रिफाइन गरिएको हो।
पाथीभरा मन्दिरको रेखदेख तथा संरक्षणका लागि नेपाल सरकारद्वारा गठन गरिएको पाथीभरा क्षेत्र विकास समितिले सुन तथा चाँदी प्रशोधन गरेको हो। समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार वि.सं. २०८० साल पुस २५ गतेदेखि २०८२ साल फागुन २५ गतेसम्म मन्दिरमा चढाइएको सुनचाँदी सङ्कलन गरी रिफाइन गरिएको हो। जिल्लामा रहेका सुनचाँदी व्यवसायीहरूको संस्था पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घको प्राविधिक सहयोगमा रिफाइन गरिएको समितिले जनाएको छ।
करिब २६ महिनाको अवधिमा सङ्कलन भएको ६७ तोला सुन र ४३ केजी चाँदी रिफाइन गरिएको समितिका सूचना अधिकारी नवीन निरौलाले जानकारी दिनुभयो। ६७ तोला सुन प्रशोधन गर्दा ५० तोला ८५ लाल तौल बराबरको २४ क्यारेट (एक नम्बर) सुन बनेको समितिको सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेले बताउनुभयो। उहाँका अनुसार करिब ४३ किलोग्राम चाँदी रिफाइन गर्दा दुई हजार ५४ तोला ३५ लाल तौल बराबरको २४ क्यारेट चाँदी बनेको छ।
यसअघि नै रिफाइन गरिएको एक सय ७८ तोला ८२ लाल सुन समितिले भण्डारण गरी राखेको छ। उक्त सुन लिलामीका लागि पाँचौँ पटक सूचना जारी गर्दा समेत कसैको आवेदन नपरेको समितिले जनाएको छ। पाँच हजार दुई सय ९८ तोला १२ लाल चाँदी भने चौथो पटक सूचना जारी गर्दा लिलामी भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो। उहाँका अनुसार गत पुस २९ गते प्रतितोला चार हजार तीन सय रुपियाँका दरले चाँदी लिलामी भएको थियो। लिलामीबाट प्राप्त रकम पाथीभरा मन्दिरको विकास तथा संरक्षणमा खर्च गर्ने योजना रहेको उहाँको भनाइ छ।
जिन्सी शाखा प्रमुख पौडेलका अनुसार पुरानो र हालै रिफाइन गरिएको गरी जम्मा दुई सय २९ तोला ६७ लाल सुन र दुई हजार ५४ तोला ३५ लाल चाँदी समितिले विभिन्न सरोकारवालाको रोहबरमा सिलबन्दी गरी भण्डारण गरेको छ। त्यस्तै दर्शनार्थीले मन्दिरमा चढाएका त्रिशूल, घण्टी र तामाका सामग्रीसमेत गोदाममा सुरक्षित राखिएको जनाइएको छ।
भण्डारणमा रहेका सुनचाँदी लिलामीका लागि नयाँ कार्यविधि तयार गरी तत्काल बिक्री–वितरण गर्ने तयारी भइरहेको कार्यकारी निर्देशक हाङबाङले बताउनुभयो। पछिल्लो समयमा सुनको भाउमा भइरहेको उतारचढावका कारण पटक–पटक सूचना जारी गर्दा पनि लिलामी हुन नसकेकाले थप कार्यविधि तयार पार्ने योजना रहेको उहाँको भनाइ छ।