माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको दुई साता बित्न लागेको छ । विद्यालयमा कक्षा ११ मा भर्नाको चहलपहल सुरु भइसकेको छ । केही विद्यालयले भर्नाको फाराम वितरण गरिरहेका छन् भने केहीले पहिलो चरणको प्रवेश परीक्षा सञ्चालनको तयारी पनि गरिरहेका छन् । यसबिचमा विद्यार्थी तथा अभिभावक कक्षा ११ मा भर्ना हुने शैक्षिक संस्थाको खोजी तथा परामर्शमा जुटिरहेका छन् ।
तैपनि कक्षा ११ मा आफूले पढ्ने विषय कस्तो होला ?
यो विषय पढेपछि उच्च शिक्षामा आफूले रोजेको विषय पढ्न पाइएला कि नपाइएला वा आफूले रोजेको शैक्षिक संस्थाले स्तरीय र सिपमूलक शिक्षा दिन्छ कि दिँदैन भन्नेमा विद्यार्थी तथा अभिभावकसमेत दुविधामा छन् । स्वदेशी तथा विदेशी श्रमबजारमा तीव्र प्रतिस्पर्धा भएको आजको विश्वमा हरेक क्षेत्रमा अवसर र चुनौती थपिँदै गएका छन् । यस्तो बदलिँदो परिवेशको चुनौतीपूर्ण श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न समयको माग अनुसार आफूले अध्ययन गर्ने विषयको छनोट होस पु¥याएर गर्नु पर्छ । तसर्थ कुन विषय किन र कहाँ पढ्ने ? अभिभावक र अनुभवीको सल्लाह र सुझाव लिएर मात्रै अभिभावक तथा विद्यार्थीले कक्षा ११ मा भर्ना प्रव्रिmया अघि बढाउनु पर्छ ।
त्योभन्दा ठुलो दुविधा विद्यार्थीलाई अहिले परीक्षामा आफूले प्राप्त गरेको ग्रेड प्वाइन्ट एभरेज (जिपिए) ले पनि खडा गरेको छ । राम्रो ग्रेड ल्याउनेले पढ्ने विषय राम्रो हुने र तल्लो ग्रेड ल्याउनेले पढ्ने विषय नराम्रो हुने भन्ने आमबुझाइले यसलाई थप मलजल गरेको छ । यो भ्रमबाट मुक्त भएर मात्र विद्यार्थी शैक्षिक संस्थाको परामर्शमा जानु उपयुक्त हुन्छ ।
कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन या अन्य जे विषय पढे पनि यी कुनै ठुलो वा बढी महत्वपूर्ण र अर्को सानो वा कम महत्वपूर्ण भन्ने छैन । यी विषयमध्ये कुनै पहिलो दर्जा र अर्को दोस्रो दर्जाको होइन । सबै विषय आआफ्ना विधामा उत्तिकै महत्वपूर्ण छन् । पढाइमा राम्रा विद्यार्थीका लागि सबै विषयमा रोजगारी र पेसागत विकासको उत्तिकै सम्भावना रहने बताउँदै शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले भन्नुभयो, “मुख्य कुरा विद्यार्थीको चाख र रुचि के हो भन्ने कुरा यकिन गर्न सक्नु पर्छ । समाजको ट्रेन्ड र त्यसैका आधारमा सृजित पारिवारिक दबाब विद्यार्थीको शैक्षिक र पेसागत उपलब्धिका लागि प्रत्युत्पादक बन्न सक्छ ।”
उहाँका अनुसार जिपिएको आधारमा कक्षा ११ मा भर्नाका लागि विद्यार्थीको चाख र रुचिलाई कुण्ठित गर्नु हुँदैन । विद्यार्थीलाई कक्षा ११ र १२ मा पढाइ हुने विषय तथा त्यसपछि उच्च शिक्षामा पढ्न पाइने अन्य विषयबारे आधारभूत ज्ञान र त्यससँग सम्बन्धित पेसाको कामको प्रकृतिका बारेमा विद्यार्थीलाई सुसूचित गराउन आवश्यक रहेको शिक्षाविद् प्राडा कोइरालाको सुझाव छ । पछिल्लो समय बजारमा गैरप्राविधिक विषयभन्दा प्राविधिक विषय ‘राम्रा’ भन्ने बुझाइले जरो गाडेको छ, अर्थात् बजारमा प्रशस्तै खुलेका स्कुल र सामाजिक सञ्जालदेखि मूलधारका सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण भइरहेका प्रचारप्रसारका सामग्रीले पनि विद्यार्थी अभिभावकलाई एक प्रकारको भ्रम नै छरेको छ । यही भ्रमका कारण कतिपय विद्यार्थीले एसइईमा आएको ग्रेडका आधारमा पनि आफूलाई अब्बल र कमजोर ठान्ने गरेका छन् । यी सबै भ्रमलाई चिरेर विद्यार्थीको चाख र रुचिलाई कुण्ठित गर्न नहुने यस क्षेत्रका जानकारहरूको भनाइ छ । विषय छान्दा सबैभन्दा पहिले विद्यार्थीले आफ्नो रुचि बुझ्नु पर्छ । आफू के पढ्ने, कुन विधामा जाने वा कुन विधामा रुचि छ भन्ने स्पष्ट भए त्यो उद्देश्य हासिल गर्न के पढ्ने, कुन बाटो हिँड्ने थप स्पष्ट हुन सक्ने जानकारहरूको भनाइ छ ।
अहिले नै उद्देश्य पहिल्याउन गाह्रो परेको छ भने आफू कुन कुन विषय पढ्दा रमाउँछु र ती विषय कुन समूहमा पर्छन् भनेर बुझ्न जरुरी छ । त्यसैले विषय छान्दा आफ्नो रुचिलाई पहिल्याउनु नै सबैभन्दा महत्वपूर्ण आधार हो । विद्यार्थीले जहाँ, जुन विषय पढे पनि हुन्छ । हरेक विषयको उत्तिकै महत्व छ । बाबुआमाले धान्न सक्ने खर्चको अवस्था हेरेर विषय रोज्ने हो । बाबुआमासँग आर्थिक समस्या छ, छात्रवृत्ति पनि पाइने अवस्था रहेन भने जुन विषय सजिलो लाग्छ, त्यही पढ्नु पर्छ । विज्ञान पढेर चिकित्सक वा इन्जिनियर नै बन्नु पर्छ भन्ने छैन, शिक्षा पढेर शिक्षक नै बनिन्छ भन्ने कुनै निश्चित छैन ।
विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले कक्षा ११ को कोर्स एकलपथीय भएकाले विद्यार्थीको रुचि र क्षमता हेरेर विषय छनोट गर्नुपर्ने बताउनुभयो । “म के बन्ने ? रुचि र क्षमता अनुसार मैले कुन विषय पढ्नु पर्छ, त्यसमा विद्यार्थीले ध्यान दिनु पर्छ,” उहाँले भन्नुभयो, “यो मामलामा अभिभावक तथा अग्रजहरूले सुझाव दिन सक्छन् तर विद्यार्थीलाई बाध्य पार्न हुन्न ।”
अहिले ११ र १२ लाई विद्यालय तहकै शिक्षामा ल्याइएको छ तर पनि अधिकांश विद्यार्थी, स्कुल तथा सञ्चालकदेखि अभिभावकसम्मको बुझाइ भने अहिले पनि सङ्कायमै छ । सङ्काय हुन्थ्यो भने निश्चित विषय मात्र राखिएका हुन्थे । सङ्काय नभएका कारण ११ र १२ मा विषय छनोटमा ध्यान दिइएन भने उच्च शिक्षा अध्ययनमा भने समस्या पनि पर्न सक्छ । तसर्थ कक्षा ११ र १२ मा पढेको विषयले नै उच्च शिक्षाको ढोका खुल्ने हुनाले उच्च शिक्षामा के पढ्ने हो त्यसैका आधारमा विषय छनोट गर्नुपर्ने कलङ्कीस्थित एडमार्क एकेडेमीका प्राचार्य शिव अधिकारीले बताउनुभयो । स्नातक तहमा पढ्न चाहेको सङ्काय र विषयलाई आधार मानेर कक्षा ११ र १२ मा विषय छनोट गर्न सकेको अवस्थामा विद्यार्थीलाई सहज हुने अधिकारीको भनाइ छ ।
कक्षा ११ मा नेपाली, अङ्ग्रेजी तथा सामाजिक अध्ययन गरेर तीन वटा अनिवार्य विषय छन् भने अरू ऐच्छिक विषय छन् । ऐच्छिक विषयलाई चार खण्डमा विभाजन गरिएको छ । जस अन्तर्गत ७९ वटा विषय छन् । ७९ वटा विषयबाट तीन वटा छान्नुपर्ने भएकाले विद्यार्थीलाई केही समस्या पर्न सक्छ । यस्तो अवस्थामा विद्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सम्बन्धित स्थानीय तह, रेडियो, टेलिभिजन र अनलाइन माध्यमबाट कार्यक्रम गरेर विद्यार्थीलाई विषयको महत्वबारे परामर्श दिनुपर्ने बताउँदै शिक्षाविद् प्राडा कोइरालाले यसले विषय छनोटमा विद्यार्थीलाई सहज हुने उल्लेख गर्नुभयो । विद्यार्थीले ऐच्छिक खण्ड अन्तर्गत पनि न्यूनतम तीन वटा विषय छान्नुपर्ने हुन्छ । साथै एउटै समूहबाट दुई वटा विषय छनोट गर्न मिल्दैन ।
एउटा समूहबाट एउटा विषय मात्रै लिनु पर्छ । चौथो समूहबाट पनि विद्यार्थीले चाहेमा पढ्न त पाउँछन् तर विद्यार्थीलाई भार धेरै पर्ने भएकाले चौथो समूहबाट पढ्ने सम्भावना कम हुन्छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा ११ मा भर्ना हुने विद्यार्थीमध्ये धेरैजसो वाणिज्य समूह अन्तर्गतका रहने गरेका छन् तर एसइई उत्तीर्ण विद्यार्थीले आफूले रोजेको विषय पढ्न पाउने राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारिसकेको छ ।
कुन खण्डमा कुन विषय ?
पहिलो खण्डमा ऐच्छिक पहिलो पत्रमा १५ वटा विषय छन् । भौतिक विज्ञान, लेखाका सिद्धान्तहरू, ग्रामीण विकास, विधिशास्त्र र कानुनी सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, खेलकुद विज्ञान, बालविकास र सिकाइ, मनोविज्ञान, इतिहास, लैङ्गिक अध्ययन, अतिथि सत्कार व्यवस्थापन, बाली विज्ञान, प्राकृतिक चिकित्सा, मानव मूल्य शिक्षा र मूर्तिकला पढ्न सकिन्छ ।
त्यस्तै दोस्रो खण्डमा १४ वटा विषय छन् । रसायन विज्ञान, शिक्षा र विकास, भूगोल, कार्यविधि कानुन, समाजशास्त्र, आयुर्वेद, भाषाविज्ञान, व्यवसाय अध्ययन, राजनीतिशास्त्र, दर्शनशास्त्र, जनसङ्ख्या अध्ययन, बागवानी, खाद्यपोषण, नृत्य यो खण्डमा पर्छन् । तेस्रो खण्ड अन्तर्गत ३० वटा विषय छन् । जीव विज्ञान, अर्थशास्त्र, पर्यटन र पर्वतारोहण अध्ययन, कम्प्युटर विज्ञान, बुढ्यौली शिक्षा तथा स्याहार शिक्षा, योग तथा अध्ययन, वाद्यवादन, सिलाइ तथा बुनाइ, संवैधानिक कानुन, आमसञ्चार अध्ययन, संस्कृति, फेसन डिजाइनिङ, मूर्तिकला, पशुपालन, पन्छीपालन र माछापालन, नेपाली, अङ्ग्रेजी, मैथिली, नेवारी, हिन्दी, चिनियाँ, जर्मन, जापानी, कोरियन, उर्दु, फ्रेन्च, हिबु्र, अरेबिक, संस्कृत, पाककला र बजारशास्त्र यो खण्डमा छन् ।
त्यस्तै चौथो खण्डमा २० वटा विषय छन् । गणित, प्रायोगिक गणित, वाणिज्य गणित, मानव अधिकार, पुस्तकालय तथा सूचना विज्ञान, गृह विज्ञान, वातावरण विज्ञान, साधारण कानुन, वित्तशास्त्र, सहकारी व्यवस्थापन, बौद्ध दर्शन, प्रायोगिक कला, गायन, चित्रकला, रेशमखेती र मौरीपालन, सौन्दर्यकला र केसकला, औषधीजन्य जडीबुटी, प्लम्बिङ र वायरिङ, आन्तरिक सजावट र होटल व्यवस्थापनलगायत यो खण्डमा पर्छन् ।
पछिल्ला दिनमा नेपालमा पनि प्राविधिक शिक्षाको विकास र विस्तारमा तीव्रता आएको पाइन्छ । आर्थिक वर्ष २०८०/८१ देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका आङ्गिक प्राविधिक शिक्षालय प्रदेश सरकारमातहत हस्तान्तरण गरेपछि स्थानीय तहसमेतको साझेदारीमा शिक्षण संस्था सञ्चालनको नीति ल्याइएको छ । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कक्षा ९–१२ का लागि प्राविधिक धारसमेत सञ्चालन गर्दै आएको छ ।
सिटिइभिटीका सदस्यसचिव महेश भट्टराईले अन्य विषयको तुलनामा प्राविधिक धारको पढाइ रोजगारमुखी हुने बताउनुभयो । उहाँका अनुसार प्राविधिक शिक्षा पढाइ सकेका विद्यार्थीमध्ये ८० प्रतिशत रोजगारीमा रहेका छन् ।
उच्च शिक्षाका लागि अहिले नै विषय छनोट
भविष्यमा डाक्टर इन्जिनियर बन्ने हो भने विद्यार्थीले अनिवार्य तीन विषयसँगै जीव विज्ञान, भौतिक विज्ञान, रसायन विज्ञान रोज्नुपर्ने हुन्छ । बैङ्कर वा व्यवसाय गर्ने हो भने लेखाका सिद्धान्त, फाइनान्स, अर्थशास्त्रजस्ता विषय रोज्न सकिने छ । कानुन क्षेत्रमा जाने हो भने संवैधानिक कानुन, कार्यविधि कानुन पढ्न सकिने छ । एजुकेसनमा जाने हो भने शिक्षा, बालविकासका विषय छन् । मानविकीमा जाने हो भने मनोविज्ञान, भाषा, पत्रकारितालगायतका थुप्रै विषय छन् । सबै विषय पढाउने शिक्षक सबै विद्यालयमा नहुन सक्छन् । त्यसैले नजिकको अन्य विद्यालयमा गएर पढ्न सकिन्छ, तर दबाबमा पढ्नु हुँदैन ।
यी विषययलाई पनि नबिर्सौं
बरु सकेसम्म घरपायक हुने, जुन ठाउँमा जस्तो शैक्षिक संस्था छ, त्यहीँ पढौँ । आफ्नो आर्थिक हैसियत अनुसार शैक्षिक संस्था रोजौँ । जुन विषय उपलब्ध छ त्यही पढौँ । अनुशासित वातावरण भएको, पुस्तकालय सुविधा रहेको, विद्यार्थीलाई स्वतन्त्रता भएको, कम्तीमा गरेर खाने सिप पाउने संस्था रोजौँ । जहाँ गराइ र पढाइ जोड्ने सुविधा छ, त्यहीँ पढौँ । पढाइ नियमित, विद्यार्थीका लागि कुनै पनि हालतमा पढाइ नरोकिने संस्था खोजौँ । खुला मोड, सेल्फ स्टडी वा ट्युटोरियलबाट पढ्न पाउने संस्था रोजौँ ।
विषय छनोटसँगै यी कुरा ख्याल गरौँ
- विषय छनोटमा विद्यार्थीलाई प्रेसर नदिने ।
- रुचि अनुसार विषय पढ्ने ।
- विज्ञबाट सल्लाह सुझाव लिने ।
- आफ्नो आर्थिक अवस्था हेर्ने ।
- आफूलाई पढ्न सक्छु भन्ने लगेको विषय रोज्ने ।
- आफूले पढ्ने विषयको बजारमा माग बुझ्ने ।
- रोजगारमूलक विषय छ, छैन हेर्ने ।
- पढिसकेपछि फाइदा बेफाइदा हेर्ने ।
- विद्यालयको भौतिक संरचना ।
- ल्याब/लाइब्रेरी ।
- कलेजको व्यवस्थापन ।
- शिक्षक कस्ता छन् ।