• १६ चैत २०८२, सोमबार

रूस-इरानबिच सैन्य प्रविधि सहकार्य तीव्र

blog

लन्डन, चैत १४ गते । रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोन इरानतर्फ पठाइरहेको विभिन्न अमेरिकी र युरोपेली अधिकारीले बताएका छन् । रिपोर्ट अनुसार, इरानले सुरुमा रूसलाई उपलब्ध गराएको ड्रोन प्रविधिलाई रूसले युक्रेन युद्धका क्रममा थप सुधार गरेको छ ।

अहिले ती सुधारिएका ड्रोन फेरि इरानतर्फ पठाइँदै छन् । ती ड्रोनमा उन्नत मार्ग निर्देशन प्रणाली, क्यामेरा, विद्युतीय अवरोध पार गर्ने क्षमता तथा कृत्रिम बुद्धिमत्तामा आधारित सञ्चालन प्रणाली जस्ता विशेषता थपिएका छन्, जसले तिनीहरूलाई अझ प्रभावकारी बनाएको छ ।

अधिकारीहरूका अनुसार यस महिनामा रूस र इरानबिच ड्रोन हस्तान्तरणबारे सक्रिय छलफल भएको थियो । यद्यपि कति सङ्ख्यामा ड्रोन पठाइयो वा यो एक पटकको आपूर्ति हो कि निरन्तर हुने हो भन्ने स्पष्ट छैन । यसैबिच, इरानले पछिल्लो समय मध्यपूर्व क्षेत्रमा विभिन्न स्थानमा ड्रोन आक्रमण तीव्र बनाएको छ । 

उन्नत ड्रोनको प्रयोगले अमेरिका र उसका सहयोगी राष्ट्रका लागि ती आक्रमण रोक्न थप चुनौती सिर्जना गर्न सक्ने बताइएको छ । रूस र इरानबिच सैन्य तथा प्रविधिगत सहकार्य पछिल्ला वर्षमा बढ्दै गएको छ । युक्रेन युद्धपछि रूसले इरानी ड्रोन व्यापक रूपमा प्रयोग गरेको थियो भने अहिले दुवै देशबिच प्रविधि आदानप्रदान अझ गहिरिएको देखिएको छ । रासस/एपी