कुनै विषयको प्रामाणिक लेख वा रिकर्ड; त्यस्तो लेखोटलाई प्रज्ञा नेपाली बृहत् शब्दकोशले अभिलेखको रूपमा परिभाषित गरेको छ । अभिलेख, अभिलेखन तथा दस्ताबेजीकरण कुनै पनि देश, संस्था, कार्यालय, व्यक्ति सबैका लागि चाहिने महत्वपूर्ण सामग्री हो, जसले दूरगामी प्रभाव पार्छ । इतिहासका विविध विधाको खोज, अध्ययन, अनुसन्धान तथा प्रमाणका लागि पनि पुराना अभिलेख, दस्ताबेजसँगै तथा वर्तमानका विविध विषयलाई तिनको महत्व, आवश्यकताका आधारमा वर्गीकरण गरी अभिलेखीकरण गर्न आवश्यक छ । नेपालमा अभिलेखीकरणमा ध्यान नदिँदा हाम्रा धेरै पुरातात्त्विक तथा ऐतिहासिक महत्व बोकेका थुप्रै सम्पत्ति, सामग्री तथा अभौतिक सम्पदा/ज्ञान लोप भएर गइसकेका छन् भने केही प्रयोग गर्न नसकिने अवस्थामा पनि पुगेका छन् ।
हाम्रो देशको इतिहास पल्टाएर हेरेमा लिच्छवि र मल्लकालका हस्तलिखित ग्रन्थबाहेक अभिलेख प्रायः नगन्य नै छ । अन्तिम मल्ल राजाहरूका समयका केही कागजात भने राष्ट्रिय अभिलेखालयको सङ्ग्रहमा छ । भक्तपुर राजदरवारमा राजा भूपतिन्द्र मल्लको शासनकालदेखि नै हस्तलिखित ग्रन्थहरूको राम्ररी सूचीकरण गरी संरक्षण गर्ने गरिन्थ्यो, यो परम्परा पछिसम्म पनि चलि नै रहेको थियो । यसैबाट प्रेरित भई पृथ्वीनारायण शाहले पछि डफ्टरखाना भनी बेग्लै अड्डा खडा गरी यो काम गर्न लगाएको केही इतिहासकार विश्वास गर्छन् । शाहकालको सुरुवातदेखि नै कागजातको समुचित ढङ्गबाट सुरक्षा हुन थालेको देखिन्छ । (अभिलेख र अभिलेखालय, डा. साफल्य अमात्य, नागरिक दैनिक, २९ असार २०७४)
सरकारी तवरबाट नेपालमा २००७ सालपछि अभिलेखनको केही कामको सुरुवात भएको देखिए पनि विसं २०१६ मा घोषणा भई औपचारिक रूपमा भने २०२४ ताका राष्ट्रिय अभिलेखालयको स्थापनापश्चात् भएको पाइन्छ । (अभिलेख तथा दस्ताबेजका रूपमा त्यसअघि अर्थात् लिच्छविकाल, मध्यकाल मल्लकाल, शाह काल, राणाकालमा शिलालेख, ताम्रपत्र, भोजपत्रमा लेखिएका अभिलेखका दस्ताबेजसँगै ती कालका राजकीय आदेश–लालमोहर, सन्धि सम्झौता, सैनिक विवरण, जग्गासम्बन्धी कागजात, धार्मिक क्रियाकलाप आदिका विवरण पनि पाइएका छन् ।) त्यसपछिका दिनमा नेपालमा सरकारीसँगै केही निजी सङ्घ संस्था तथा व्यक्तिगत रूपमा पनि अभिलेख तथा अभिलेखनको कार्य भइरहेको छ ।
नेपालमा २०८२ भदौ २४ गते भएको घटनामा देशसँगै विभिन्न निकाय, संस्था, व्यक्तिका थुप्रै धनसम्पत्तिसँगै महत्वपूर्ण कागजात नष्ट भए । यससँगै देशको मुख्य प्रशासनिक निकाय रहेको इतिहास बोकेको सिंहदरबार पनि जल्यो । विसं २०३० असार २५ गते सिंहदरबारमा भएको आगलागीको घटनाबाट जोगिएका/जोगाइएका राष्ट्रका महत्वपूर्ण र दुर्लभ कागजात÷दस्ताबेज ५२ वर्षपछि अर्थात् २०८२ भदौ २४ गतेको घटनामा खरानी भए । धेरैलाई यो विषय सामान्य लागिरहेको जस्तो देखिन्छ तर यसको दूरगामी महत्व र आवश्यकताका बारेमा बोध हुनेको मन कम्ती रोएको छैन । युगौँ युगसम्म नेपालले यसको मूल्य चुकाउनुपर्ने छ । बाढी, पहिरो, भूकम्प, आगलागीलगायतका विपत्तिबाट पनि देश, सङ्घ संस्था, कार्यालयसँगै व्यक्तिका विभिन्न कागजपत्र, तस्बिर, पुस्तकलगायतका सामग्री नाश भइरहेका छन् ।
हामीमध्ये धेरैको घरमा अभिलेख/दस्ताबेज राख्नुपर्ने धेरै सामग्री हुन्छन् । तीमध्ये अघिल्लो तथा वर्तमान पुस्ताका चिना, टिपन, हस्तलिखित धार्मिक तथा अन्य पुस्तक, तस्बिर, नागरिकता, जन्मदर्ता, लालपुर्जा तथा अन्य विभिन्न कागजपत्रलेसमेत एक समयको इतिहासलाई प्रमाणिक रूपमा बताइरहेको हुन्छ । हजुरबुवा, हजुरआमा, बुवा, आमासँगै अग्रज पुस्ताका जोकोहीसँग त्यो बेलाका इतिहास, लोकसंस्कृति, जीवनशैलीलगायतका विविध विषयमा कुराकानी गरेर भिडियो वा अडियो फर्मम्याटमा रेकर्ड समेत गरेर राख्न सकिन्छ तर हामीले त्यसलाई ध्यान दिएका छैनौँ । दस्ताबेजीकरणको हालसम्मको नेपाली अभ्यास हेर्ने हो भने कमजोर देखिन्छ ।
अभिलेख र अभिलेखनमा ध्यान नदिँदा अधिकांशलेअनुमानित/काल्पनिक तथ्याङ्क तथा विषयवस्तुलाई भनिरहेका हुन्छन् र यसैलाई धेरैले पत्याइरहेका पनि हुन्छन् । यसको प्रमुख कारण भनेको उनीहरूले अभिलेख तथा अभिलेखनलाई ध्यान नदिएरै हो । उदाहरणका लागि कुनै पनि गायक/गायिकालाई उनीहरूको गीतको बारेमा सोध्दा ‘मेरो गीत यति सालदेखि रेकर्ड सुरु भएको हो । हालसम्म मैले यो यो विधाको यति गीत गाएको छु’ भनेर भन्न सक्थे । यसले वैज्ञानिकता देखिन्थ्यो र सबैले पत्याउन योग्य हुन्थ्यो तर उनीहरूलाई यस बारेमा सोच्ने फुर्सद कहाँ छ र ? यी विषय पुराना तथा नयाँ सबै पुस्ताका लेखक, कलाकार, नेता, कर्मचारी, गायक/गायिका, सङ्गीतकार, गीतकार, ललितकलाकर्मी, अभिनेता, अभिनेत्रीका हकमा लागु हुन्छ । सबैले आफ्ना व्यक्तिगत तथा सार्वजनिक गतिविधिलाई विषय/विधा छुट्याएर अभिलेख राख्नु पर्छ, जसले अनुशासित, जिम्मेवार र व्यवस्थित बनाउँछ भने भविष्यको योजना बनाउनसमेत सहयोग गर्छ ।
गाउँघरमा पनि थुप्रै सामग्री अभिलेख, अभिलेखन तथा दस्ताबेजीकरण योग्य हुन्छन् तर हामीले त्यसलाई ध्यान दिएका हुँदैनौँ । जसले गर्दा ती हराएर गएका छन् । अहिले धेरैको हातमा मोबाइल हुन्छ । क्यामेरा भएको साधारण मोबाइलबाट पनि हामीले कुरालाई अभिलेखन गर्न सक्छौँ । साधारणतः चिना, टिपन, लिखत, घरजग्गासम्बन्धी कागजात, नागरिकता, शैक्षिक प्रमाणपत्र, अनुभवसम्बन्धी प्रमाण पत्रलगायतका अन्य कागजातसँगै घर, टोल, छिमेकमा रहनुभएका वृद्ध आमा बुवाहरूसँगको कुराकानी, अनुभव, वर्णन र त्यहाँका लोककथा/गाथा/गीतसङ्गीत, पोसाक, गरगहना, भजन, पर्व, संस्कृति, रीतिरिवाज, चालचलन, उखान टुक्कालगायतलाई अडियो, भिडियो, तस्विरको माध्यममा रेकर्ड गरेर राख्न सके त्यसको संरक्षण मात्र हुने छैन भावी पुस्तालाई पनि इतिहासबारे जान्न सहयोग पुग्ने थियो ।
अहिले हामीलाई साधारण लागेको विषय भावी पुस्तालाई महत्वपूर्ण अध्ययन सामग्री बन्न सक्छ । हरेक सामग्रीलाई डिजिटलाइज गरी अभिलेख, अभिलेखन तथा दस्ताबेज गरी राख्दा प्राकृतिक तथा मानवसृजित घटनाबाट धेरै हदसम्म यसलाई सुरक्षित राखी आगामी पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ । सम्बन्धित व्यक्तिका अन्तर्वार्ता, समाचार, लेख, गीतसङ्गीत, पत्रपत्रिका, म्यागेजिन, अडियो, भिडियो, तस्बिर, पुस्तक, डायरी आदिलाई डिजिटल अभिलेख र अभिलेखनको कार्य गर्न जरुरी छ । पङ्क्तिकारले खोज र अनुसन्धानका कार्य गरिरहँदा उक्त आर्काइभमा हालसम्म आठ टिबी (आठ हजार जिबी) भन्दा बढी डिजिटल सामग्री र थुप्रै हार्डकपी सङ्गृहीत भएका छन् । आगामी पुस्ताका लागि महत्वपूर्ण अध्ययन सामग्रीका रूपमा रहने छन् ।
इतिहास/अभिलेख/दस्ताबेज/तथ्याङ्क एक आपसमा अन्तरसम्बन्धित विषय हुन् । यी विविध पक्षलाई समेट्दै अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्दै हाल नेपालमा अभिलेख संरक्षण (पहिलो संशोधन) ऐन, २०८१ (राष्ट्रपतिबाट २०८२ साउन १४ मा प्रमाणीकरण) तथा अभिलेख संरक्षण नियमावली, २०६३ हाल कार्यान्वयनमा छन् । मुख्य प्रश्न भनेको यी ऐन, निमावलीलगायतका कानुन प्रभावकारी कार्यान्वयनमा छन् ?, देशका सबै सार्वजनिक निकायले यसको पालना गरेका छन् त ? सरकारले जवाफ खोज्ने हो कि ?