काठमाडौँ, फागुन १५ गते । निर्वाचन आचारसंहिता उल्लङ्घनमा संलग्न रहेको आरोपमा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका उम्मेदवार, सरकारी कर्मचारी तथा शिक्षकलाई जरिबाना र विभागीय कारबाही गर्ने निर्णय गरेको छ । आचारसंहिताविपरीत गतिविधि गरेको आरोपमा आयोगले नेपाली कम्युनिस्ट पार्टीका जाजरकोट निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २५ हजार रुपियाँ जरिबाना गर्ने निर्णय गरेको छ । मनोनयन दर्ताका लागि बाजागाजा बजाउँदै सो क्रममा उपस्थित व्यक्तिलाई पाँच सय रुपियाँको नोट प्रदान गरेको उजुरी आयोगमा परेको थियो ।
बस्नेतको उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (झ) र (ण) विपरीत रहेको बताउँदै जरिबानाको निर्णय गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले बताउनुभयो । त्यस्तै जेनजी आन्दोलनमा रगतबाट लतपतिएको भाइरल र आइकोनिक जुत्ता दुरुपयोग गरेको आरोपमा रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाल जनसेवा पार्टीका उम्मेदवार डा. कमल भुसाल (निकोलस) लाई पनि २५ हजार रुपियाँ जरिबाना गर्ने निर्णय आयोगले गरेको छ ।
आयोगले श्रम संस्कृति पार्टीलाई पनि २५ हजार रुपियाँ जरिबाना गर्ने निर्णय गरेको छ । उक्त दलले निर्वाचनमा बालबालिका प्रयोग देखिने श्रव्यदृश्य सामग्रीसमेतको उजुरी आयोगमा परेको थियो । आयोगले सम्बन्धित दलबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (छ) र ऐ, आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) को उल्लङ्घन गरेको बताएको छ ।
उम्मेदवारलाई सचेत
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार खगेन्द्र सुनारलाई निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी अभिव्यक्ति नदिने सचेत गराउने निर्णय गरेको छ ।
त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहनुभएकी जानुका पाठक (शोभा) लाई पनि जेनजी आन्दोलनमा रगतबाट लतपतिएको आइकोनिक जुत्ता दुरुपयोग नगर्न सचेत गराएको छ । अब उप्रान्त यस्तो कार्य गरेमा प्रचलित निर्वाचन कानुनबमोजिम कारबाही गरिने निर्णय भएको आयोगले जनाएको छ ।
विभागीय कारबाही सिफारिस
वन तथा वातावरण मन्त्रालय अन्तर्गत ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख रामदेव चौधरीलाई विभागीय कारबाही गर्ने निर्णय आयोगले गरेको छ ।
चौधरीले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सामाजिक सञ्जालमा द्वेषपूर्ण तथा अपमानजनक भाषामा अभिव्यक्ति दिई निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) विपरीतको कार्य गरेको आयोगले जनाएको छ । चौधरीलाई विभागीय कारबाही गरी सोको जानकारी आयोगमा गराउन पनि आयोगले भनेको छ ।
धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नं. ५ मा रहेको श्री माध्यमिक विद्यालयका शिक्षक दीपनारायण ठाकुरलाई पनि विभागीय कारबाही गर्न आयोगले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।
ठाकुरले राजनीतिक गतिविधिमा संलग्न भई निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (क) प्रतिकूल कार्य गरेको बताउँदै आयोगले शिक्षा ऐन, २०२८ बमोजिम विभागीय कारबाही गरी आयोगमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको छ । साथै आयोगले निर्वाचन आचारसंहिता पालना गरी निर्वाचन स्वच्छता प्रवर्धनमा सहयोग गर्न आयोग राजनीतिक दल, उम्मेदवार तथा सबै सरोकारवाला व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई आग्रह गरेको छ ।
उहाँका अनुसार आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीका प्रक्रिया पनि जारी राखेको छ ।