• १६ फागुन २०८२, शनिबार

आयोगमा एक हजार उजुरी, उनान्सय प्रतिशत फर्स्योट

blog

काठमाडौँ, फागुन १६ गते । निर्वाचन आचारसंहिता उल्लङ्घन घटनाका सम्बन्धमा निर्वाचन आयोगको केन्द्र र जिल्लास्तरमा प्राप्त उजुरीमध्ये ९९ प्रतिशत उजुरी फस्र्योट भएको छ । आयोगका अनुसार आचारसंहिता लागु भएपछि जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको थियो । त्यसमध्ये एक हजार ६१ वटा अर्थात ९९ प्रतिशत) फस्र्योट भएको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभयो । 

आयोगका अनुसार प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ वटा उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् । प्राप्त उजुरीमध्ये ९७ वटा (नौ प्रतिशत) लिखित र ९७९ वटा (९१ प्रतिशत) टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएको आयोगले जनाएको छ । आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा भने इमेल, व्यक्तिगत दर्ता तथा सञ्चार माध्यमबाट २५४ उजुरी लिइएको थियो । सोमध्ये ‍८८ वटा उजुरीमा स्पष्टीकरण सोधिएकोमा ५७ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ । 

आयोगबाट सोधिएका स्पष्टीकरणमध्ये राजनीतिक दललाई सोधिएका स्पष्टीकरणको सङ्ख्या चार र उम्मेदवारलाई सोधिएको स्पष्टीकरणको सङ्ख्या ३३ रहेको छ । त्यसबाहेक सरकारी/शैक्षिक संस्था/कर्मचारी तथा अन्य व्यक्तिलाई ५१ वटा स्पष्टीकरण सोधिएको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा आठ, मधेश प्रदेशमा १३, बागमती प्रदेशमा ४०, गण्डकी प्रदेशमा छ, लुम्बिनी प्रदेशमा सात, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार वटा रहेको पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले बताउनुभयो । 

आयोगमा प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठुला तुल ब्यानर र झन्डा प्रयोग गरेको, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झन्डा टाँगेको, अनुमति नलिएका सवारीसाधन प्रयोग गरेको लगायतका छन् ।

सबै जिल्लामा पुग्यो मतपत्र

फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सम्पूर्ण जिल्लामा पु¥याइसकिएको छ । मतदाता शिक्षा कार्यक्रम ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन भइरहेको छ । मतदाता शिक्षा कार्यक्रम सबै वडामा स्वयंसेवक परिचालन गरी प्रदान गर्ने कार्य जारी छ । मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालिसकेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । 

मतदान केन्द्र रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतका भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराइदिन सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको छ । निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय आयोगबाट भइसकेको पनि प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । 

निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही गर्ने प्रक्रिया जारी राखेको आयोगले जनाएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत, सुरक्षा निकाय तथा सम्बन्धित निर्वाचन अधिकृतका कार्यालय क्रियाशील रहेको पनि आयोगले जनाएको छ । त्यस्तै आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आयोगबाट सम्बन्धित राजनीतिक दल, उम्मेदवार तथा निकायबाट स्पष्टीकरणसमेत लिई जरिबाना तथा सचेत गराउने निर्णय पनि भएको छ ।

आयोगले निर्वाचन आचारसंहिता, २०८२ विपरीत कार्य गरेकाले नेपाली कम्युनिस्ट पार्टीका जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शक्तिबहादुर बस्नेत, रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल जनसेवा पार्टीका उम्मेदवार डा. कमल भुसाल (निकोलस भुसाल) लाई २५ हजार रुपियाँ जरिबाना गर्ने निर्णय आयोगले यसअघि नै गरिसकेको छ । 

आचारसंहिताको उल्लङ्घन गरेकामा श्रम संस्कृति पार्टीलाई पनि आयोगले २५ हजार रुपियाँ जरिबाना गर्ने निर्णय गरिसकेको छ । त्यस्तै बाँके निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार खगेन्द्र सुनार र भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल जनसेवा पार्टीबाट उम्मेदवार जानुका पाठक (शोभा) लाई पनि सचेत गराउँदै अब उप्रान्त यस्तो कार्य गरेमा प्रचलित निर्वाचन कानुनबमोजिम कारबाही गरिने निर्णय आयोगले गरेको थियो ।  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।