• २१ असार २०८१, शुक्रबार

कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार न्यूनीकरण गर्ने प्रतिबद्धता

blog

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम । तस्बिर : रजनी योगी

रजनी योगी 

सुर्खेत, असार १९ गते । कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार न्यूनीकरण गर्न सरोकारवालाहरूले प्रतिबद्धता जाहेर गरेका छन् । सञ्चारीका समूह कर्णाली प्रदेशको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा आयोजित कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी तालिम तथा अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहारका घटनालाई निरुत्साहित गर्न सरोकारवालाहरूले साझा प्रतिबद्धता जनाएका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढाकालले कार्यस्थलमा हुनसक्ने हिंसा र दुर्व्यवहार रोक्न कार्ययोजना निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । वीरेन्द्रनगरमा आयोजित कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कार्यस्थलमा हुन सक्ने हिंसा र दुर्व्यवहारलाई निरुत्साहित गर्न सबैले आ–आफ्नो क्षेत्रबाट पहल थाल्नुपर्नेमा उहाँको जोड छ । हिंसाका घटना रोक्न सम्बद्ध पक्षको शून्य सहनशीलता हुनुपर्ने उहाँले जानकारी दिनुभयो । 

सुर्खेत उद्योग वाणिज्य सङ्घका कार्यकारी निर्देशक गणेश कार्कीले कार्यस्थलमा विभिन्न खाले शारीरिक र मानसिक दुर्व्यवहारका घटना हुने भन्दै यसको न्यूनीकरणका लागि साँझ धारणा आवश्यक रहेको बताउनुभएको छ । विशेष गरी कार्यस्थलमा महिलाहरू बढी दुर्व्यवहारमा पर्ने गरेको उल्लेख गर्दै पुरुषहरू पनि यसको प्रत्यक्ष वा अप्रत्यक्ष मारमा परेको उहाँले जानकारी दिनुभयो । कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार विरुद्ध कार्यस्थलमा खटिनेहरूले नै विरोध गर्नुपर्ने उहाँको भनाइ छ । 

यस्तै, संयुक्त यातायात व्यवसायीका सचिव रमेश खड्काले यातायात क्षेत्रमा जनचेतनाको कमीका कारण यात्रुमाथि हिंसा र यौन दुर्व्यवहार हुने गरेको उल्लेख गर्दै आगामी दिनमा कार्यस्थल सुरक्षित बनाउन सचेतनाको पाटोलाई बलियो बनाएर लैजाने प्रतिबद्धता जनाउनुभएको छ । सरकारले नीति निर्माण तथा कानुन बनाउने कुरामा भूमिका खेल्नुपर्ने साथै यस्ता खालका हिंसा र दुर्व्यवहार विरुद्धका अभियानहरूलाई सार्थक बनाइनु पर्ने नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सहसचिव ईश्वर अधिकारीले जोड दिनुभयो।