• १७ असार २०८१, सोमबार

मिचाहा झार हटाएर बेसार खेती

blog

दमक समाचारदाता

दमक, वैशाख १७ गते । झापाको जलथलको जङ्गललाई चारकोसे झाडीको रूपमा पनि चिनिन्छ । सो जङ्गल क्षेत्रमा पाइने लोपोन्मुख प्रजातिका बोट बिरुवालाई माइकेनिया अर्थात् मिचाहा झारले निकै सताएको थियो । ती झार हटाएर गरिएको बेसार खेतीबाट स्थानीयले राम्रो आम्दानी लिइरहेका छन् । सो वन क्षेत्रबाट २५० हेक्टरको माइकेनिया हटाइसकिएको छ ।

हल्दिबारी–४ को पाथीभरा कालीका सामुदायिक वन उपभोक्ता समूहले माइकेनियालाई हटाउने अभियानसँगै बेसार खेतीबाट आम्दानी लिन सुरु गरेको हो ।

वन क्षेत्रको माइकेनियालाई सरसफाइ गरेर गत वर्ष फरेस्ट एक्सन नेपालको सहयोगमा कृषि वनअन्तर्गत बेसार खेती भएको थियो । फरेस्ट एक्सन नेपालका डा. लिलानाथ शर्माका अनुसार वनको दीर्घकालिन विकास गर्ने उद्देश्य राखेर गरेको कामको प्रतिफल देखिन सुरु गरेको छ ।

“जङ्गलमा भएका लोपोन्मुख तथा विभिन्न प्रजातिका बिरुवाको संरक्षण गर्दै बिरुवाको प्राकृतिक पुनरूत्पादन राम्रो रहेको पाएका छौँ,” उहाँले भन्नुभयो । जङ्गलमा समस्याका रूपमा देखिएको माइकेनियालाई हटाउँदा वन संरक्षणमा सहयोग पुग्ने बेसारलगायतका खेतीबाट उपभोक्तालाई पनि फाइदा हुने डा.शर्माले बताउनुभयो ।

वन सुधारको दीर्घकालीन लक्ष्यमा अल्पकालीन कार्यक्रममार्फत वन र उपभोक्तालाई केहि राहत होस् भनि सामुदायिक वन, डिभिजन वन कार्यालयसँग समन्वय गरेर यो काम भइरहेको शर्माले जानकारी दिनुभयो । 

माइकेनियालगायत अन्य मिचाहा प्रजातिहरूको प्रयोग गरेर कम्पोस्ट मल बनाउन र यसलाई उपभोतmाको आयआर्जनसँग जोडन सकिन्छ । दक्षिण एसियाकै सबैभन्दा बढी जैविक विविधता भएको यस वनमा मिचाहा प्रवृतिका झारको ठूूलो समस्या रहेको बताइन्छ । 

झापा जिल्लाको दक्षिणी भागमा अवस्थित (जलथल–चारकोसे) वन लगभग छ हजार ३०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । पहिला खुला रूपमा प्रयोग भएको यहाँको वन हाल २२ वटा सामुदायिक वनले व्यवस्थापन गरिरहेका छन् । जङ्गलको जैविक विविधता क्षेत्रमा कार्यरत देवका अधिकारीका अनुसार जलथल वनको करिब दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफल मिचाहा प्रजाति प्रभावित रहेको छ ।

 स्थानीय भाषामा यसलाई तिते, प्याङ्ग्री ट्याङ्ग्री लहरा भन्ने गरिन्छ । असोज/कात्तिक महिनामा फुल्ने यो प्रजातिको फल पाकिसकेपछि नयाँ बिरुवा धेरै फैलिने गरेको पाइन्छ । घनत्व कम रहेको चिस्यान बढी हुने क्षेत्रमा यसको फैलावट बढिरहेको बताइन्छ ।