• १७ असार २०८१, सोमबार

पौडेलले लिनुभएन उम्मेदवारी फिर्ता

blog

भरतपुर महानगरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका जगन्नाथ पौडेलसँगको छलफलमा गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलगायतका नेता पौडेल निवासमा ।

नारायणगढ समाचारदाता

नारायणगढ, वैशाख १७ गते । सत्ता गठबन्धनको उम्मेदवारका विरुद्धमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलले निर्वाचन कार्यालयबाट तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिनुभएन । 

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय शुक्रबार साँझ ५ बजेसम्मका लागि तय गरेको थियो । सत्ता गठबन्धनले भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रलाई प्रमुख दिने निर्णयविरुद्ध विद्रोह गर्दै असन्तुष्ट काँग्रेसका तर्फबाट प्रमुखमा पौडेलले स्वतन्त्र रूपमा प्रमुख पदमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको थियो । 

पौडेललाई फकाएर उम्मेदवारी फिर्ता गराउन नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण र अर्का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठले चितवनमै बसेर तीन दिनदेखि गरेको प्रयास उम्मेदवारी फिर्ता नभएसँगै असफल भएको छ । शुक्रबार दिउँसो काठमाडौँ फर्कने क्रममा भरतपुर विमानस्थलमा गृहमन्त्री खाणले चितवन आएर साथीभाइलाई आफ्नो र पार्टीको कुरा राखेको बताउनुभयो । 

“हामीले साथीभाइलाई आफ्नो र पार्टीको कुरा पनि भन्यौँ र उहाँहरूका कुरा पनि सुन्यौँ,” पत्रकारको प्रश्नको सङ्क्षिप्त उत्तर दिँदै उहाँले भन्नुभयो, “अझै पनि उहाँहरूले विवेकपूर्ण निर्णय गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ ।”  

पौडेलले भने आफ्नो उम्मेदवारी चितवन काँग्रेसको भावना र मान्यताअनुसार भएकाले फिर्ता नलिएको बताउनुभयो । “मेरो उम्मेदवारीले सत्ता गठबन्धनलाई असर गर्दैन । चितवनका कार्यकर्ताको मान्यता र भावनाअनुसार उम्मेदवारी दिएको हुँदा फिर्ता नगरेको हुँ,” पौडेलले सञ्चारकर्मीसँग भन्नुभयो, “मेरो उम्मेदवारी चितवनवासीसँग सम्बन्धित छ ।

यहाँको लोकतन्त्रसँग सम्बन्धित छ । सत्ता गठबन्धनसँग मेरो उम्मेदवारीको कुनै लेनदेन छैन ।” उम्मेदवारी फिर्ता नलिँदा तपाईंलाई पार्टीबाट अनुशासनको कारबाही होला नि भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै पौडेलले भन्नुभयो, “अनुशासनको कारबाही गरेमा मलाई कुनै आपत्ति छैन ।”

माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेनु दाहालले प्रमुख पदमा उम्मेदवारी दर्ता गरेपछि काँग्रेसको असन्तुष्ट पक्षले पौडेललाई स्वतन्त्र उम्मेदवार उठाएका हुन् । पौडेल काँग्रेसका पुराना नेता हुनुहुन्छ । उहाँ पूर्वराष्ट्रिय सभा सदस्य, साबिक भरतपुर नगरपालिका उपप्रमुख पनि रहनुभएको थियो । 

भरतपुर महानगरमा विभिन्न पार्टी र स्वतन्त्र गरी प्रमुख पदमा ३० जनाले उम्मेदवारी दर्ता गराएकामा एक प्रमुख, दुई उपप्रमुखसहितका १७० उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।