नेपाली विद्यार्थीको आकर्षक गन्तव्य बनेको छ– अस्ट्रेलिया । मुख्य रूपमा पढ्दै कमाउँदै गर्नका लागि नेपाली विद्यार्थीले अस्ट्रेलिया रोज्ने गरेको देखिन्छ । रोजगारीका अवसर, आकर्षक जीवनशैली, भौतिक सुविधा र स्थायी बसोबास (पिआर) लिन सकिने परिवेशले विद्यार्थीमा अस्ट्रेलिया मोह छ ।
आंशिक र पूर्णकालीन रोजगारीका अवसर प्राप्त हुनु, अन्तर्राष्ट्रिय मान्यताका विश्वविद्यालय र उच्च गुणस्तरको शिक्षा हुनु, अध्ययन गर्ने प्रकृति, सांस्कृतिक विविधता र नयाँ अवसरबारे ज्ञान हासिल गर्न सकिने अवस्था अस्ट्रेलियामा छ ।
अस्ट्रेलियामा छ राज्य (स्टेट) र दुई क्षेत्र (टेरिटोरी) छन् । यसका मुख्य सहरमा मेलबर्न, सिड्नी, ब्रिस्बेन, एडिलेड, क्यानबेरा, पर्थ र गोल्ड कोस्ट हुन् । यी सबै शहरमा नेपाली विद्यार्थी पढ्ने र बस्ने गर्छन् । सिड्नी सबैभन्दा ठूलो शहर हो र यहाँ नेपाली विद्यार्थी बढी छन् ।
त्यस्तै राजधानी क्यानबेरा शहरमा अस्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालय र क्यानबेरा विश्वविद्यालय रहेको छ । वातावरणका दृष्टिले डार्विन र क्विन्सल्यान्ड बढी गर्मी हुने शहर हुन् भने ताजमेनियामा प्रायः सधैँ चिसो हुने गर्दछ । यो छुट्टै टापु शहर हो ।
सन् २०२१ मा अस्ट्रेलियामा गरिएको जनगणना अनुसार नेपाली मूलका मानिसको सङ्ख्या एक लाख २२ हजार छ । पछिल्लो तथ्याङ्कमा एक लाख ५० हजार पुगेको हुन सक्ने अनुमान छ । सन् २०२२ र २०२३ मा अस्ट्रेलियामा नेपाली विद्यार्थी धेरै थपिएका छन् । त्यसैले सरदर दुई लाख नेपाली भएको अनुमान अस्ट्रेलियास्थित नेपाली दूतावासको छ । स्थायी बसोबास (पिआर) पाउने नेपाली करिब २५ हजार छन् र उनीहरूको परिवारका सदस्य आउने जाने क्रम भइरहन्छ ।
पाठ्यक्रमको दायरा
अस्ट्रेलियाका शीर्ष विश्वविद्यालयमा धेरै पाठ्यक्रमबाट विषय छनोट गर्न पाइन्छ । धेरै छोटो अवधिका पाठ्यक्रम जस्तै प्रमाणीकरण र डिप्लोमा पाठ्यक्रम छन् । यिनले विद्यार्थीलाई आफ्नो पाठ्यक्रम छिटो पूरा गर्न र विशेष सीपहरू सजिलै सिक्न मद्दत गर्छ । यसले विद्यार्थीलाई रोजगार बजारमा फाइदा पुर्याउँछ ।
लेखा, वास्तुकला, व्यापार व्यवस्थापन, कम्प्युटर विज्ञान र आइटी, इन्जिनियरिङ, स्वास्थ्य, पृथ्वी विज्ञान, पर्यटन र आतिथ्य व्यवस्थापन आदि अन्तर्राष्ट्रिय विद्यार्थीका लागि केही लोकप्रिय पाठ्यक्रम हुन् । पढाइ कहिले सुरु हुने र सकिने भन्ने स्पष्ट क्यालेन्डर हुनु र त्यसको पालना हुनुले विद्यार्थीलाई आफ्नो योजना बनाएर अगाडि बढ्न सजिलो हुन्छ ।
अस्ट्रेलियामै अध्ययन गरेर शिक्षण पेसामा संलग्न डा. भरत थापा भन्छन्, “उच्च आर्थिक वृद्धिदर, गुणस्तरीय शिक्षा र रोजगारीका अवसर हुनु नै विद्यार्थीका लागि मुख्य आकर्षणका कारण हुन् । एउटा विषय पढ्न भनेर विद्यार्थी भर्ना भयो तर विविध कारणले त्यो अध्ययन गर्न सकेन भने उसले विषय परिवर्तन गर्न पाउने सुविधा यहाँ छ । यसले पनि विद्यार्थीलाई सजिलो बनाएको छ ।”
डा. थापाका अनुसार अस्ट्रेलियामा हरेक वर्ष पाठ्यक्रममा परिमार्जन गरिन्छ । जसले गर्दा नवीन प्रविधिलाई आत्मसात् गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्छ ।
अस्ट्रेलियास्थित नेपाली दूतावासका काउन्सिलर कुलबहादुर मगरको विचारमा नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया आकर्षक गन्तव्य बन्नुमा शिक्षा र रोजगारी नै मुख्य कारण हुन् । मगरको भनाइ छ, “शिक्षाका लागि आउने हो तर शिक्षाभन्दा पनि यहाँ पढ्दै जागिर खाना पाउने कुरा नै मुख्य आकर्षण हो । विद्यार्थीले एक हप्तामा २४ घण्टा काम गर्न पाउँछन् । पढाइ सकेपछि पिआरका लागि प्रयास गर्छन् ।”
अस्ट्रेलियाको आकर्षक जीवनशैली, पर्याप्त भौतिक सुविधा, अधिकांश सरकारी काम अनलाइनबाटै हुने र कागजपत्र घरघरमा ल्याइदिने प्रभावकारी हुलाक सेवा अर्को आकर्षण हो । कुनै कारणले रेल सेवा बन्द भएमा त्यस क्षेत्रमा जानका लागि निःशुल्क बस सेवा उपलब्ध गराउने व्यवस्था छ ।
सात लाख विद्यार्थी
अस्ट्रेलियालाई विभिन्न संस्कृतिको पग्लने भाँडो मान्न सकिन्छ । विश्वका विद्यार्थीसँग सञ्जाल बनाउने अवसर नेपाली विद्यार्थीलाई प्राप्त हुन्छ । विभिन्न संस्कृति, विचार, भाषा, परम्परा र विश्व परिदृश्यबारे जान्ने अवसर मिल्छ ।
अस्ट्रेलियाको शिक्षा विभागका अनुसार सन् २०२४ को फ्रेबुअरीसम्ममा विभिन्न विश्वविद्यालयमा भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सात लाख तीन हजार २४५ पुगेको छ । सन् २०१९ को सोही अवधिमा कुल पाँच लाख ७८ हजार ९३० विद्यार्थी भर्ना भएका थिए । पाँच वर्षको अवधिमा एक लाख ७७ हजार ९३ विद्यार्थी थपिए । अस्ट्रेलियामा पढ्ने विद्यार्थी यो सङ्ख्या अहिलेसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये ५६ प्रतिशत विद्यार्थी पाँच देश चीन, भारत, नेपाल, फिलिपिन्स र भियतनामका छन् । जसमा चीनका २२, भारतका १७, नेपालका आठ र भियतनामका पाँच प्रतिशत विद्यार्थी पर्छन् । पाँच वर्षको अवधिमा ‘भोकेसनल एजुकेसन ट्रेनिङ’ (भिइटी) क्षेत्रमा सबैभन्दा बढी १७ प्रतिशतले विद्यार्थी सङ्ख्या वृद्धि भएको छ । सन् २०२३ मा अस्ट्रेलिया पढ्न आउने मुख्य १० देशको सूचीमा चीन, भारत, नेपाल, दक्षिण कोरिया, ब्राजिल, संयुक्त राज्य अमेरिका, मलेसिया, थाइल्यान्ड, भियतनाम र कोलम्बिया छन् ।
रोजगारीका अवसर
अन्तर्राष्ट्रिय विद्यार्थीका लागि कामका धेरै अवसर छन् । विश्वविद्यालयमा ‘इन्टर्नसिप’ कार्यक्रममार्फत पैसा कमाउन सक्ने व्यवस्था छ । त्यति मात्र होइन अन्य काम गर्न इच्छुकलाई कामको अभाव छैन तर उसमा काम गर्ने जाँगर चाहियो ।
अध्ययनपछि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सुमित पौडेलको भनाइ छ, “यहाँ आउनेबित्तिकै काम पाइन्छ भन्ने छैन । नेपालको पढाइ अनुसारको काम यहाँ मिल्दैन । यहाँ कामको सम्मान हुन्छ, जे काम गरे पनि हुन्छ । यहाँ पढाइको डिग्री एउटा छ तर काम अन्यत्र पनि हुन सक्छ ।”
अधिकांश नेपाली विद्यार्थीले सुरुमा घरबाट ल्याएको रकमबाहेक बाँकी खर्च आफैँ जुटाउने गर्दछन् । खाना, बस्न, पढ्ने शुल्कका लागि आयआर्जन आफैँले गर्नुपर्ने हुन्छ । बावुआमाको मायामा हुर्केकाहरू यहाँ आएपछि काम गर्न बाध्य हुन्छन् । कतिपय विद्यार्थीले नेपालबाटै खर्च मगाएर पढ्ने गरेका छन् ।
विद्यार्थीले आफ्नो सेमेस्टरमा प्रतिहप्ता २४ घण्टा आंशिक समय काम गर्ने अवसर पाउँछन् तर एउटा सेमेस्टर सकिएपछि र अर्को सेमेस्टर सुरु नहुँदासम्म भने असीमित अर्थात् धेरै घण्टा काम गर्न पाउँछन् । शनिबार र आइतबार तथा अन्य सार्वजनिक बिदामा पनि विद्यार्थीलाई काम गर्न पाउने अनुमति छ । बिदाको समयमा काम गर्दा अन्य दिनको भन्दा बढी पारिश्रमिक पाइने हुँदा बिदाका दिनमा बढी नेपाली विद्यार्थी काममा जाने गर्छन् । अन्य मानिस बिदामा परिवारका साथ रमाउँछन् भने नेपाली विद्यार्थी कमाएर खुसी हुन्छन् ।
आइटी म्यानेजमेन्ट पढ्दै गरेका विद्यार्थी निश्चल शर्मा भन्छन्, “एक वर्षअगाडि पढ्न आउँदा स्नातकोत्तर अध्ययन सकेपछि पाँच वर्ष काम गर्न पाउने (टिआर) सुविधा थियो । अहिले घटाएर दुई वर्षमा झारिएको छ । दुई वर्ष काम गरेपछि कि पिआर पाउनु पर्यो नत्र नेपाल फर्कनु पर्यो ।”
पढाइ सकिएपछि अस्ट्रेलिया कति वर्ष रहने भन्ने कुरा विद्यार्थीको अध्ययनको विषयमा भर पर्छ । नर्सिङ पढेका विद्यार्थीलाई पिआर पाउन सजिलो छ । अस्ट्रेलिया सरकारले स्वास्थ्यलाई बढी प्राथमिकता दिएर स्वास्थ्यका कर्मचारीको तलब सुविधा बढाएको छ । नर्सिङ होममा काम गर्नेको पारिश्रमिक अझ बढेको छ । स्वास्थ्य क्षेत्रमा रोजगारी पाइने र पिआर पनि छिटो हुने हुँदा नेपाली विद्यार्थी नर्सिङ पढाइमा बढी आकर्षित छन् ।
पिआरको अभिलाषा :
पढाइ सकेपछि पिआरको बाटो खुला हुन्छ । पाठ्यक्रम अनुसार पढाइ जब सकिन्छ तब पढाइ अनुसारको काम पाइन्छ ।
कोठामा नेपालको राष्ट्रिय झन्डा फहराएर राखेका नेपाली विद्यार्थी अस्ट्रेलियाको नागरिक बन्न सधैँ आतुर देखिन्छन् । विद्यार्थीले पढाइको विषय अनुसार रोजगारीका लागि आवेदन दिन सक्छन् तर त्यो कोटामा भर पर्छ । यसमा हजारौँ विद्यार्थीले प्रतिस्पर्धा गर्छन् । त्यसैले मुख्य शहरमा बढी प्रतिस्पर्धा हुने हुँदा अलि दुर्गम मानिएका राज्यमा गएर दुई वर्ष बसेपछि पिआरको सम्भावना बढी हुन्छ । त्यसैले पिआरका लागि दुर्गम क्षेत्रमा जाने नेपाली धेरै देखिन्छन् । पिआर पाएपछि भविष्यका सबै ढोका खुल्छन् भन्ने मान्यता विद्यार्थीमा छ ।
सुरक्षा र जीवनयापन :
यहाँको जीवनस्तर निकै राम्रो छ । बस्ने लागत बेलायत र संयुक्त राज्य अमेरिकाको भन्दा सस्तो छ । विद्यार्थीले स्वास्थ्य बिमा सुविधा पाउँछन् र त्यो बिमा प्रदायकको आधारमा रकम फरक हुन सक्छ । पढ्न र काममा जान सजिलो होस् भनेर विद्यार्थीहरू रेल्वे स्टेसनको नजिक बस्ने गर्छन् । अपार्टमेन्टमा साथीहरू मिलेर बस्ने गर्नाले सस्तो पर्दछ । राम्रो कमाउन सक्नेले घर नै खरिद गरेर बस्ने गरेका पनि छन् । पिआर भएपछि प्रायः सबै नेपाली विद्यार्थीको धोको भनेको घर किन्ने र राम्रो आम्दानी गर्ने हुन्छ ।
धेरै सांस्कृतिक पृष्ठभूमिका विद्यार्थी अध्ययन गर्ने हुनाले अस्ट्रेलिया सरकारले उनीहरूका लागि सुरक्षित र स्वागतयोग्य वातावरण प्रदानको सुनिश्चित गरेको छ । सामान्यतया अन्तर्राष्ट्रिय विद्यार्थीले सुरक्षाका बारेमा चिन्ता गर्नु पर्दैन ।
यहाँका सडकमा प्रहरी र ट्राफिक प्रहरी देखिँदैनन् तर नियम पालना गरेन भने प्रहरीले जुनसुकै बेला पनि पक्राउ गर्छ भन्ने समझ सबैमा रहन्छ ।
कोभिड–१९ पछि संसारभर महँगी बढ्यो तर पनि अस्ट्रेलिया बस्न र अध्ययन गर्न धेरै महँगो छैन । खर्च घटाउन मद्दत गर्ने धेरै तरिका छन् । आंशिक समय काम गर्ने, छात्रवृत्ति र अन्य आर्थिक सहायता पनि प्राप्त गर्न सकिन्छ ।
सन् २०२३ मा स्नातकोत्तर तहमा आइटी म्यानेजमेन्ट अध्ययन गर्न सिकेयु विश्वविद्यालयमा भर्ना भएका एक नेपाली विद्यार्थीले एक वर्षको पढाइ शुल्क २५ लाख रुपियाँ तिरेको जनाए । अर्को वर्षको २५ लाख रुपियाँ दुई किस्तामा बुझाउनुपर्ने हुन्छ । उनको भनाइ छ, “बाँकी पढाइ शुल्क आफैँ कमाएर तिर्न सक्छु ।” स्नातकोत्तरमा पढ्ने पाठ्यक्रमको शुल्क महँगो छ । स्नातक तहको शुल्क अलि कम छ । विश्वविद्यालय अनुसार पढाइ शुल्क फरक छ ।
नसाको कुलत
अस्ट्रेलिया समस्यारहित छ भन्ने होइन । अन्तर्राष्ट्रिय सञ्जाल/सम्पर्कका आफ्नै फाइदा र बेफाइदा पनि छन् । मानसिक अस्पतालमा कार्य गर्ने एक नेपाली नर्सका अनुसार अस्पतालमा आउने मानसिक रोगीमा अन्य देशसहित नेपालका पनि आउँछन् । अस्ट्रेलियामा मानसिक रोगीको सङ्ख्या बढ्दो छ । यसका धेरै कारण छन् र लागूऔधषको कुलत एउटा मुख्य कारण हो । नसामा फसेका विद्यार्थीले पैसा धेरै खर्च गर्ने, अभिभावकलाई ढाँट्ने र सम्पर्क नगर्ने जस्ता समस्या पनि छन् ।
नेपाली दूतावासका काउन्सिलर रामबहादुर मगरको भनाइ निकै मार्मिक छ, “नेपालबाटै कुलतमा फसेर आउने र यहाँ आएर थप फस्ने पनि छन् । नेपालमा पैसा भएकाले छोरा बिग्रियो भनेर सुधार्न यता पठाउँछन् । अस्ट्रेलिया त सुधार केन्द्र होइन नि । जुवा, तास (ग्याम्बलिङ) तिर लागेर बिग्रने नेपाली पनि धेरै छन् । उनीहरू हप्ताभरि कमाएको त्यहाँ गएर उडाउने गर्छन् ।”
अवसर र तनाव
जहाँ अवसर हुन्छ, त्यहाँ चुनौती पनि हुन्छन् ।अस्ट्रेलिया आउँदा पैसा कमाउने उद्देश्यले आउनेभन्दा पढ्ने उद्देश्यले आउनु पर्यो भन्ने सुझाव काउन्सिलर मगरको छ । आर्थिक अवस्थालाई पनि ध्यानमा राख्नु पर्यो । कम्तीमा एक वर्षको पढाइ शुल्क तिरेर आउँदा ठूलो समस्या आउँदैन । पठाउने अभिभावक र आउने विद्यार्थीले पनि सोचेर निर्णय गर्नुपर्छ । नेपालमा चिया पनि पकाएर नखाने विद्यार्थीले यहाँ आएपछि सबै काम आफैँ गर्नुपर्ने हुन्छ ।
स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सागर गौतमका अनुसार अस्ट्रेलियाको आप्रवासन नीतिमा उतारचढाव आउँदा अब के हुन्छ भन्न सकिन्न । पढाइ सकेपछि पाँच वर्ष टिआर पाइने नीतिमा परिवर्तन भई दुई वर्ष कायम भएको छ । सन् २०२४ मा पनि केही न केही परिवर्तन भइरहेको छ । आउनेलाई पनि कडाइ गरेको छ भने यहाँ पढ्नेलाई पनि अब के हुन्छ भनेर तनाव थपिएको छ ।
नक्कली कागजपत्र बनाएर अस्ट्रेलिया आउनेहरू समस्यामा पर्ने गरेका छन् । त्यस्तो कागजपत्र बनाउने र यहाँ आएपछि काम नपाउने, कलेजको शुल्क तिर्न नसकेर उनीहरू तनावमा पर्छन् ।
यहाँ कुरा विचारणीय छ, राहदानी नवीकरण गर्न र अन्य समस्या आउँदा दूतावासमा सम्पर्क गर्दा खासै सम्बोधन नहुने गरेको गुनासो विद्यार्थीको छ । यस विषयमा काउन्सिलर मगरको भनाइ छ, “देखिएको समस्याचाहिँ राहदानी नवीकरण हो । अरू नदेखिएका समस्या धेरै छन् । जागिर नपाउने समस्या त छँदै छ महँगी पनि बढेको छ । कलेजको ‘फि’ नियमित तिर्नुपर्यो । कलेज पनि जानु पर्यो, नियमित नगएमा पछि पिआरमा समस्या पर्न सक्छ । ट्रेनको भाडा तिर्नु पर्यो, काम पाउँदा काम गर्नु पर्यो । यस्तै समस्याले गर्दा विद्यार्थीमा दबाब बढ्छ र मानसिक समस्या ल्याउँछ ।”
डा. भरत थापाको अनुभवमा कतिपय विद्यार्थी अस्ट्रेलिया आउनासाथ महँगा मोबाइल फोन, कपडा किन्न थाल्छन् । पछि काम पनि पाउँदैनन् । नेपालमा लिएको ऋण पनि बढ्दै जान्छ । यता काम पनि नपाउने अनि आमाबुवा र मिल्ने साथी नहुँदा एक्लोपनले तनाव बढ्दै जान्छ ।
सिड्नी, अस्ट्रेलिया