प्रचण्ड गर्मीले छटपटिएको बेला शीतल वर्षा हुँदा आनन्द लाग्छ । उकुसमुकुस भएका देशवासी र विदेश पलायन भएका युवामा भर्खरै सम्पन्न निर्वाचनले शीतलता प्रदान गरेको छ । यो वेदनाले छटपटिएकी नेपाल आमाको पुकार पनि हो । माओवादी द्वन्द्वको त्रासदीपूर्ण वातावरण र रोजगारीका अवसर केही नहुनाले युवा पलाएन भएका हुन् । रोजगारीका अवसर अझै सिर्जना भई नसकेकाले पलायन हुने क्रम जारी छ । सरकारमा बस्नेहरू झुट, लुट, झगडा, सत्ताको हानथाप र भ्रष्टाचारमा लिप्त भएकै कारण जनता आजित भएका थिए ।
घरमा कुटपिट हुन थालेपछि बालबालिका घर छोडेर भाग्छन् । अरूको घरमा शरण लिन पुग्छन् । शरण दिनेले सानोतिनो काममा अल्झाएर राख्छ । हाम्रा होनहार युवा बाहिरी मुलुकका रोजगारीमा जान बाध्य छन् । पढालेखा प्रतिभाशाली युवा पलाएन भएपछि देशमा सिर्जनशील जनशक्तिको अभाव भएको छ । उर्वर फाँट बाँझो बसेका छन् । उद्योग कारखाना बन्द भएका छन् । सदाकाल यसै गरी रेलिङ भाँच्ने, टायर पोल्ने ग¥यो भने पलायन हुने क्रम अझै तीव्र हुने छ । गलत गर्नेलाई सरकारले दण्ड दिनु पर्छ । गलत गर्नेलाई दण्ड दिनु हुँदैन भनेर नाराबाजी गर्नु गलत कार्य हो । आन्दोलन गर्ने नाराबाजी गर्नेले पनि दण्ड सजाय भोग्नु पर्छ ।
नेपाल हाम्रो साझा घर हो । हामी सबै यहीँ अटाएका छौँ । हामीले वातावरण बनायौँ भने हाम्रा युवा पनि यहीँ अटाउने छन् । हामीले विशाल घरलाई शान्त बनाउन सकेनौँ भने हामी सबैले अझै दुःख भोग्नुपर्ने छ । अब हामीले विकास निर्माणका काम बिनाझन्झट सहज रूपमा गर्ने वातावरण बनाउनु पर्छ । अवरोध गर्ने हुँदैन । अवरोध गर्न थाल्यो भने काम गर्ने वातावरण भत्किन्छ । नयाँ सरकारलाई काम गर्ने सहज वातावरण बनाइदिनु हामी सबैको कर्तव्य हो । सरकार नयाँ जोसजाँगर लिएर हिन्दु परम्परा अनुसार काम गर्न लागेको छ । सुशासन र विकासनिर्माणका काम गर्न कटिबद्ध देखिन्छ । अवरोध नगरी काम गर्ने वातावरण बनाइदिनु हामी सबैको दायित्व हो ।
सञ्चार क्षेत्रको भूमिका
सञ्चार क्षेत्रले सरकारलाई काम गर्ने सहज वातावरण बनाइदिनु पर्छ । सरकारलाई अप्ठारो हुने कुरा गर्न हुँदैन । नचाहिने विषयमा बहस वा होहल्ला गर्नु हुँदैन । कसैलाई उचाल्ने कसैलाई थेचार्ने गर्नु हुँदैन । राष्ट्रहितका, राष्ट्रिय गोपनीयताका, संवेदनशील विषय राष्ट्रिय/अन्तर्राष्ट्रिय मामिलाका विषयलाई धेरै सार्वजनिक बनाउनु हुँदैन । राष्ट्रिय गौरवका गोप्य विषयलाई गोप्य नै राख्नु पर्छ । ठुलो स्वरले कराउने झगडा गर्ने, खोचे थाप्ने गर्नु हुँदैन । शिष्टता र सम्मानपूर्वक प्रश्नोत्तर गर्ने सभ्यताको विकास गर्नु पर्छ । के कुरा प्रसार गर्र्दा राष्ट्रको हित हुन्छ के गर्दा राष्ट्रको नोक्सान हुन्छ भन्ने विषयमा विचार गर्नु पर्छ । आक्रामकभन्दा शिष्ट र शालीन शैली अपनाई सदाचारको पालना गर्दै सञ्चार क्षेत्रलाई मर्यादित बनाउन जरुरी छ ।
सरकारी कार्यप्रणाली
सरकार सानातिना बाधा अड्चनमा अलमलिनु हुँदैन । बलियो सरकार बनेको छ । नडगमगाई शान्त भएर निर्णय गर्दै जानु पर्छ । भ्रष्टाचार नियन्त्रणका साथै सदाचार प्रवर्धनका कार्यलाई सँगसँगै लिएर जानु पर्छ । विकासनिर्माणतिर ध्यान पु¥याउनु त्यत्तिकै जरुरी छ । प्रतिशोध, दण्ड र सजायतिर मात्र फोकस गर्न थाल्यो भने देश विकासतिर नभई द्वन्द्वतिर मोडिन्छ । भ्रष्टाचारीलाई कारबाही गर्नु राम्रो कुरा हो । समुन्नत राष्ट्रनिर्माणका लागि विकासनिर्माणको लहर आउन जरुरी हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा सदाचारको पालना गर्नु हो । हामी सबै अनुशासित हुन जरुरी छ, सबै सदाचारी हुन आवश्यक छ । देश विकासको महाअभियानमा फुटेर होइन जुटेर सबै सँगसँगै हिँड्नु अपरिहार्य छ ।
सदाचारको पालना
विकसित मुलुकका कामदार कर्मचारी, आआफ्ना काममा व्यस्त हुन्छन् । फाल्टु कुरा गर्ने फुर्सद हुँदैन । काममा भएको मानिसले फोन रिसिभ गर्न पनि सक्दैन । काममा खटिएको मानिसलाई अर्को मानिसले फोन गर्न पनि आँट गर्दैन । हामी काममा खटिएका मानिस पनि अनावश्यक कुरा गरेर समय बिताइरहेका हुन्छौँ । राजनीतिका फाल्तु कुरा गरेर समय बिताउँछौँ । अब सबैले सदाचारको पालना गर्नु पर्छ । प्रत्येक पललाई उत्पादक बनाउनु पर्छ । सबैले राष्ट्रलाई आफ्नै घर जस्तो माया गर्नु पर्छ । जुनसुकै काम गर्दा पनि राष्ट्रको हितमा छ कि छैन भनेर विचार पु¥याउनु पर्छ ।
गौँथलीको प्रसङ्ग
घरमा गौँथलीले गुड लगाएर मैला गरेको देखेर मानिसलाई रिस उठ्यो पटक पटक भत्काउँदा पनि गौँथलीले गुड राख्यो । गौँथलीसँग मानिसलाई धेरै रिस उठ्यो । उसले गौँथलीको गुडमा आगो लगाइदियो । गुडमा आगो लगाउँदा मानिसको घर पनि जल्यो । गौँथलीको बास भत्काउँदा आफ्नो पनि बास भत्कियो । हामीले प्रतिशोध लिँदा वा अवरोध गर्दा अवरोध गर्नेको पनि नोक्सान हुन्छ । हामी सबैको एउटै साझा घर हो । अरूको भत्काउन खोज्दा आफ्नो पनि भत्किन्छ । अरूलाई साथ सहयोग ग¥यो भने आफ्नो पनि कल्याण हुन्छ ।
सदन र प्रतिपक्ष
सरकारले गर्न लागेका राम्रा काममा प्रतिपक्षले पनि साथ सहयोग गर्नु पर्छ । सरकारले बाटो बिराएको बेला सजग गराउनु समाधानका वैकल्पिक उपाय देखाएर राष्ट्रहितको माहोल बनाउनु राष्ट्रिय गौरवलाई जोगाउने भूमिका निभाउनु प्रतिपक्षको प्रमुख दायित्व हो । सानातिना विषयमा होहल्ला मच्चाउनु राम्रो होइन । यो गरिमामय सदनमा शिष्ट भाषा प्रयोग गर्ने, मर्यादित ढङ्गले प्रस्तुत हुने ग¥यो भने देशको गरिमा बढ्न थाल्ने छ ।
सार्वजनिक र व्यक्तिगत सम्पत्ति
सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति नाश गर्नु हुँदैन । हाम्रा सम्पदा पूर्वाधार भत्काउनु हुँदैन । सबै धनी भए भने बल्ल देश धनी बन्छ । धनीको डाहा गर्नु हुँदैन । ठुला उद्योगी देशका सपुत हुन् उनीहरूका उद्योगधन्दा व्यापार व्यवसाय तोडफोड गर्ने आगजनी गर्ने कार्य भयो । दसौँ हजारलाई रोजगारी दिएका, सेवा प्रदान गरेका यस्ता उद्यमी व्यवसायीमाथि प्रहार गर्नु हुँदैनथ्यो । उनीहरूको सम्पत्ति पनि राज्यकै सम्पत्ति हो । उद्योगधन्दा कलकारखानाबाट आमजनता नै लाभान्वित भएका थिए । उद्यमी व्यवसायीको मनोबल बढाउने उत्साहित गर्ने वातावरण हुनु पर्छ । सबैलाई धनी बन्ने अवसर दिनु पर्छ । गरिब बनाउने प्रयास गर्ने होइन । धनी बनेको देखेर डाहा गर्नु हुँदैन । मानिसमा गुण देख्ने आँखा चाहिन्छ । दोष देख्ने आँखा हुनु हुँदैन । शिष्ट भाषाको प्रयोग पनि महत्वपूर्ण हो । सबैतिर आक्रामक शैलीको विकास भएको छ । आक्रमण गर्ने शैलीलाई सरलता, सिष्टता र शालीनतामा रूपान्तरण गर्न जरुरी छ । राजनीतिज्ञ, प्रशासक, कामदार, शिक्षक, शिक्षिका र आमजनता सबैले सदाचारको पाठ सिक्नु पर्छ । सदाचारको तालिम लिनु पर्छ । कल्याणकारी राज्य र समाज निर्माणका लागि सबैले सदाचारको तालिम लिन अनिवार्य हुन्छ । यो महत्वपूर्ण मनोवैज्ञानिक पक्ष हो । गल्ती गरेपछि दण्ड दिनुभन्दा गल्ती नै नगर्ने मानसिकता विकास गर्नु जरुरी हुन्छ । कल्याण दिवस र कल्याण महोत्सव मनाउन थाल्यो भने स्वस्फूर्त सदाचारको विकास हुन थाल्ने छ ।
आर्थिक तथा औद्योगिक पक्ष
देश समुद्ध बनाउन हामीसँग धेरै सम्पदा छन् । तिनीहरूको संरक्षण र संवर्धन गरी प्रयोगमा ल्याउन जरुरी छ । देश खर्बौंको ऋणमा डुबेको छ । ऋण मुक्त गराउन पहिलो आवश्यकता हो भने पुनः ऋण नलाग्ने उपाए अवलम्बन गर्नु अर्को महत्वपूर्ण पक्ष हो । राज्यका आय अनुरूपको खर्च तर्जुमा गरेर मितव्ययिता अपनाउन जरुरी छ । प्रादेशिक संरचना समानुपातिक पद्धति संसद्को ठुलो आकारले देशलाई ठुलो व्ययभार थपेको छ । यो खर्च देशलाई धान्न मुस्किल परेको छ । आउँदा दिनमा यसमा पुनर्विचार हुन जरुरी छ । आयमूलक पुराना कारखाना उद्योगधन्दा पुन सञ्चालनमा ल्याउन फलदायी हुने छ ।
रोजगारीका अवसर सिर्जना गर्न खनिज द्रव्यको उत्खनन प्रभावशाली हुने छ । पर्यटन व्यवसाय आर्यआर्जनको महत्वपूर्ण पक्ष हो । यहाँ वनसम्पदा, जलसम्पदा, धार्मिक सम्पदा, प्राकृतिक सम्पदा आदिको कमी छैन । पर्यटन प्रवर्धन गर्न स्थिरता र शान्ति अपरिहार्य छ । सुन खानी, फलाम खानी, युरेनियम खानी, तामा खानी, प्रेसियस ढुङ्गा खानी, मार्बल खानी, ग्रेनाइट खानी, ग्यास तथा पेट्रोलियम खानीको कमी छैन । देशमा खनिज द्रव्यको कमी नभएकाले उत्खननमा लाग्न जरुरी छ । कतिपय डाँडा पूरै फलामले ढाकिएका छन् भने कुनै ठाउँमा सुन खानी युरेनियम खानी रहेका छन् । पुराना दिनमा यिनै खानीबाट फलाम झिकेर बनाएका पुल अहिले पनि मौजुद छन् ।
सुनखानी हुँदै बगेका हाम्रा नदीमा बालुवा चाल्दा सुन निस्कन्छ । सुनखानी उत्खलनबाट रोजगारी सिर्जना हुन्छ । युरेनियम त्यत्तिकै बहुमूल्य धातु हो । यो पनि प्रशस्त मात्रामा पाइने अध्ययनबाट प्रस्ट भइसकेको छ । प्रेसियस ढुङ्गाखानी, मार्वलखानी, ग्रेनाइट खानी पनि प्रशस्त छन् । मार्बल ग्रेनाइट बाहिरबाट ल्याउने गरिएको छ ।
खनिज द्रव्यको उत्खनन, प्रशोधन र बिक्रीवितरणबाट देशमा ठुलो धनराशि प्राप्त हुने छ । यही धनराशिबाट विकास निर्माणका ठुला ठुला योजना सञ्चालन गर्न सकिने छ । विदेश पलायन भएका र जान लागेका युवा देशमा उद्योगधन्दा खुलेपछि, द्वन्द्व र आतङ्कको वातावरण शान्त भएपछि स्वदेशमै रमाएर बस्न थाल्ने छन् । जडीबुटी उत्पादन, प्रशोधनलगायतका अन्य उद्योगको पनि विकास गर्न सकिने प्रबल सम्भावना छ । विदेशतिर आकर्षित भएको युवाको मन स्वदेशतिर फर्काउन सकियो भने नेपालको मुहार हसिलो बनाउन धेरै समय लाग्ने छैन । आगामी दिनमा देश निर्माण सबैले हातेमालो गरौँ । झैझगडा, द्वन्द्व र आतङ्कलाई बिर्सेर सदाचारको पालना गरौँ । सरकारलाई काम गर्ने सहज वातावरण बनाइदिउँ । सदाचारको पालना गदैँ इमानदार बफादार भएर राष्ट्रनिमार्णमा योगदान गरौँ ।
विवेक भ्रष्ट भएपछि पटक पटक गल्ती हुन्छन् । गल्ती छोप्ने बहानामा अरू धेरै गल्ती हुन थाल्छन् । राम्रा कामको थालनीबाट राम्रा कार्यको बढोत्तरी हुन्छ भने गलत कामबाट गलत कामको । शिवको जटाबाट हिमालय हुँदै तल तल गएकी गङ्गा नदी सागरमा पुगेपछि अस्तित्व समाप्त भए जस्तै गलत काम गर्न थालेपछि मानव पनि ओरालो लाग्छ । सयौँ गल्ती गर्दै जान्छ र अस्तित्व समाप्त बनाउँछ ।