• २१ चैत २०८२, शनिबार

सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा पक्राउ

blog

शशिधर पराजुली 
विराटनगर, चैत २१ गते ।
सरकारी छाप र सरकारी कर्मचारीको दस्तखत किर्ते गरी ठगी गरेको अभियोगमा मोरङ प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने ३७ वर्षीय कमल कुमार स्वर्णकार रहेको प्रहरीले जनाएको छ ।

विराटनगरस्थित यातायात कार्यालय परिसरमा लेखापढीको काम गर्दै आएका स्वर्णकारले को ३१ प ५५७९ नम्बरको मोटरसाइकलको बिलबुक नवीकरण गरिदिने भन्दै सरकारी छाप र छैठौं तहका अधिकृतको दस्तखत किर्ते गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

अन्य व्यक्तिहरूले राजस्व तिर्न दिएका सवारी दर्ता किताबहरूमा समेत स्वर्णकारले किर्ते गर्ने गरेको सूचनाका आधारमा प्रहरीले स्वर्णकारलाई यातायात कार्यालय परिसरबाटै पक्राउ गरेको थियो । प्रहरीले स्वर्णकारको घरमा खानतलासी गर्दा विभिन्न ११ थान सवारी दर्ता किताबहरू समेत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

स्वर्णकारमाथि मोरङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबिच, प्रहरीले स्वर्णकारलाई सवारी दर्ता किताब नवीकरणका लागि दिएका कोही व्यक्तिहरू भएमा ५ दिनभित्र जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।