• २१ चैत २०८२, शनिबार

डुम्रे–बेसीसहर सडक खण्ड आजदेखि दैनिक ८ घण्टा बन्द

blog

तनहुँ, लमजुङ र मनाङ जोड्ने डुम्रे–बेसीसहर सडक खण्ड । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत २१ गते ।
सडक विस्तार कार्य सुरु भएसँगै तनहुँ, लमजुङ र मनाङ जोड्ने मुख्य मार्ग डुम्रे–बेसीसहर सडक खण्डमा शनिबारदेखि दैनिक आठ घण्टा सवारी आवागमन बन्द गरिएको छ । भानु नगरपालिकाको चाम्बासदेखि तुरतुरेसम्म पहाड काट्ने र सडक चौडा गर्ने काम भइरहेकाले चैत ३० गतेसम्म यो व्यवस्था लागू गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार चैत २१ गतेदेखि हरेक दिन दिउँसो १२ देखि ४ बजेसम्म र साँझ ५ देखि राति ९ बजेसम्म सडक पूर्णरूपमा बन्द रहनेछ । हिमाली जिल्ला मनाङ र लमजुङ जोड्ने यो मुख्य मार्ग भएकाले बन्द अवधिभन्दा अघि नै गन्तव्यमा पुग्ने गरी यात्रा तय गर्न प्रशासनले आग्रह गरेको छ ।

सडक बन्द रहने समयमा साना तथा हल्का सवारी साधनका लागि तुरतुरे–पालुङटार–खत्रीटार हुँदै विमलनगर निस्कने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाइएको छ । निर्माण कार्य छिटो र सुरक्षित रूपमा सम्पन्न गर्न यो निर्णय गरिएको भन्दै प्रशासनले पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ ।