विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २१ गते । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पुष्पा कुमारी चौधरीले मधेश प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्न आवश्यक बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभएको छ ।
उहाँले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई पत्रमार्फत मधेश प्रदेश अझै पूर्ण साक्षर घोषणा हुन नसकेकोप्रति ध्यानाकर्षण गराउँदै बजेट विनियोजन गर्न माग गर्नुभएको हो ।
पत्रमा नेपालको संविधानले शिक्षालाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ ले सो अधिकार कार्यान्वयनका लागि कानुनी आधार प्रदान गरेको उल्लेख गर्नुभएको छ ।
सङ्घीय संरचना कार्यान्वयनपछि पूर्वका अनौपचारिक शिक्षा केन्द्रहरु खारेज भई हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गतको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा र सामुदायिक सिकाइ केन्द्रमार्फत साक्षरता कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख पत्रमा उल्लेख गरिएको छ ।
हालसम्म देशका ६ वटा प्रदेश पूर्ण साक्षर घोषणा भइसके पनि मधेश प्रदेश अझै उक्त सूचीमा समावेश हुन नसकेको जनाउँदै सांसद चौधरीले पूर्ण साक्षर घोषणा सुनिश्चित गर्न आवश्यक बजेट विनियोजन गर्न सरकारसँग आग्रह गर्नुभएको हो ।
उहाँले समयमै आवश्यक स्रोत–साधन उपलब्ध गराइए मधेश प्रदेशलाई पनि छिट्टै पूर्ण साक्षर घोषणा गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।