गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २१ गते । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग जारी युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ प्रस्तावबारे एसिया र युरोपका विभिन्न देशका आफ्ना समकक्षीसँग जानकारी आदानप्रदान गर्नुभएको छ ।
पाकिस्तानमार्फत अमेरिकालाई पठाइएको नयाँ प्रस्तावबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनर्विचार गरिरहनुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । यता इरानी विदेशमन्त्री अराघचीले टर्किए, कतार, साउदी अरेबिया, इजिप्ट, इराक, अजरबैजान, रुस, दक्षिण कोरिया, जापान, फ्रान्स, इटालीलगायत देशका अधिकारीसँग क्षेत्रीय अवस्थाबारे छलफल गर्नुका साथै वासिङ्टनसँग सम्भावित युद्धविरामका विषयमा पनि कुराकानी गर्नुभएको छ । उहाँले युरोपेली सङ्घका परराष्ट्र नीतिसम्बन्धी प्रमुखसँग पनि परामर्श गर्नुभएको छ । इरानको विदेश मन्त्रालयद्वारा जारी वक्तव्य अनुसार अराघचीले अमेरिकी तथा इजरायली सैन्य गतिविधिले फारसको खाडी र हर्मुज जलमार्ग क्षेत्रमा असुरक्षा बढाएको बताउनुभएको छ । उहाँले इरानले युद्ध सुरु नगरेको दाबी गर्दै अमेरिकाले आफ्नो कडा नीति, धम्कीपूर्ण अभिव्यक्ति तथा उक्साउने कार्य त्यागेमा इरान कूटनीतिक समाधानका लागि खुला रहेको स्पष्ट पार्नुभयो । उहाँले इरानका सशस्त्र बल कुनै पनि सम्भावित खतरा सामना गर्न पूर्ण रूपमा तयार रहेको पनि उल्लेख गर्नुभयो ।
साथै उहाँले केही क्षेत्रीय देशले कूटनीतिक पहललाई प्रोत्साहन दिँदै तनाव बढ्न नदिन खेलेको ‘रचनात्मक भूमिका’ को प्रशंसा गर्नुभएको छ । गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहितका विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए, जसमा इरानका तत्कालीन सर्वोच्च नेता आयतोल्लाह अली खामेनी, उच्च सैनिक कमान्डर तथा सर्वसाधारण नागरिकको ज्यान गएको थियो । त्यसको जवाफमा इरानले इजरायल र अमेरिकी स्वार्थकेन्द्रित क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो ।
गत अप्रिल ८ मा युद्धविराम लागु गरिएको भए पनि त्यसपछि इस्लामाबादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबिच भएको वार्ता कुनै सहमतिमा पुग्न सकेन । इरानको सरकारी समाचार संस्थाले जनाए अनुसार इरानले नयाँ वार्ता प्रस्ताव पाकिस्तानमार्फत अगाडि बढाएको छ ।