• २१ वैशाख २०८३, सोमबार

विकास बैङ्कको नाफामा उल्लेख्य वृद्धि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २१ गते । राष्ट्रियस्तरका विकास बैङ्कहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि गरेका छन् । राष्ट्रियस्तरका आठ विकास बैङ्कले चालु आवको चैतसम्म पाँच अर्ब ५० करोड ३५ लाख रुपियाँ खुद नाफा आर्जन गरेका हुन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.०४ प्रतिशतले बढी हो ।गत आवको सोही अवधिमा यी बैङ्कहरूको नाफा तीन अर्ब ६९ करोड २७ लाख रुपियाँ थियो ।

नाफाका आधारमा गरिमा विकास बैङ्क शीर्ष स्थानमा रहेको छ । समीक्षा अवधिमा गरिमाले एक अर्ब चार करोड ८२ लाख रुपियाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४२.९१ प्रतिशतले बढी हो ।

त्यसै गरी मुक्तिनाथ विकास बैङ्कले ९४ करोड २६ लाख रुपियाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ७८ करोड ८४ लाख रुपियाँ र ज्योति विकास बैङ्कले ६२ करोड ९४ लाख रुपियाँ नाफा आर्जन गरेका छन् ।

यस्तै कामना सेवा विकास बैङ्कले ५८ करोड ८६ लाख रुपियाँ, लुम्बिनी विकास बैङ्कले ५६ करोड १६ लाख रुपियाँ, साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले ४८ करोड ४५ लाख रुपियाँ र महालक्ष्मी विकास बैङ्कले ४५ करोड ९९ लाख रुपियाँ नाफा आर्जन गरेका छन् ।

नाफा वृद्धिदरका आधारमा भने लुम्बिनी विकास बैङ्क सबैभन्दा अगाडि रहेको छ । लुम्बिनीको नाफा अघिल्लो वर्षको तुलनामा १०२८.२५ प्रतिशतले बढेको छ । त्यस्तै ज्योति विकास बैङ्कको नाफा १०५.३ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको नाफा ५३.३८ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै गरिमाको ४२.९१ प्रतिशत, मुक्तिनाथको ३०.०४ प्रतिशत, कामना सेवाको १९.३७ प्रतिशत, साङ्ग्रिलाको ११.५९ र महालक्ष्मीको ५.३६ प्रतिशतले नाफा बढेको छ ।