• २१ चैत २०८२, शनिबार

विश्वशान्तिको सन्देश

blog

शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी आज केवल धार्मिक आस्थाको केन्द्रमा सीमित नरही विश्व समुदायलाई जोड्ने सांस्कृतिक, आध्यात्मिक र कूटनीतिक थलोका रूपमा विकास हुँदै गएको छ । नेपालसहित थाइल्यान्ड, क्याम्बोडिया, भारत, म्यानमार, श्रीलङ्का, चीन, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, रुसलगायतका देशले आफ्ना मौलिक वास्तुकला र बौद्ध परम्परा झल्काउने गरी विहार, गुम्बा र ध्यान केन्द्र निर्माण गरेका छन् । लुम्बिनी विकास कोषका अनुसार १५ वटाभन्दा बढी देश र ४२ वटा अन्तर्राष्ट्रिय संस्थाको संलग्नतामा ३० वटाभन्दा बढी संरचना निर्माण भइसकेका छन्, जसले लुम्बिनीलाई ‘जीवित बौद्ध सङ्ग्रहालय’ का रूपमा स्थापित गरेको छ ।

लुम्बिनीको समग्र विकासका लागि जापानी योजनाविद् केन्जो टाङ्गेले तयार पारेको गुरुयोजना अत्यन्त महत्वपूर्ण मानिन्छ । संयुक्त राष्ट्रसङ्घका महासचिव उ थान्तको पहलमा तयार उक्त योजना अनुसार लुम्बिनीलाई उत्तरमा गाउँ क्षेत्र, बिचमा मोनास्टिक जोन र दक्षिणमा पवित्र बगैँचा (जहाँ मायादेवी मन्दिर अवस्थित छ) गरी तीन भागमा विभाजन गरिएको छ । यस अवधारणाले विश्वका विभिन्न बौद्ध परम्परालाई एउटै थलोमा अवलोकन गर्न सकिने वातावरण सिर्जना गरेको छ भने प्रत्येक विहारले सम्बन्धित देशसँग नेपालको कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने काम गरेको छ ।

लुम्बिनीलाई विश्वले केवल धार्मिक स्थलका रूपमा मात्र होइन, एक सार्वभौमिक मानवीय मूल्यको केन्द्रका रूपमा स्वीकार गरेको छ । युनेस्कोले सन् १९९७ मा लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि यसको अन्तर्राष्ट्रिय महìव अझ सुदृढ भएको छ । मायादेवी मन्दिर, अशोकस्तम्भ, पवित्र पुष्करिणी पोखरी जस्ता ऐतिहासिक संरचनाहरूले बुद्धको जन्मसँग सम्बन्धित प्रामाणिकता स्थापित गर्छन् ।

सम्राट् अशोकले इसापूर्व तेस्रो शताब्दीमा लुम्बिनी भ्रमण गरी यहाँ स्तम्भ स्थापना गरेका थिए, जसले लुम्बिनीको ऐतिहासिक प्रामाणिकता विश्वसामु प्रस्तुत ग¥यो । यसले लुम्बिनीलाई केवल धार्मिक नभई पुरातात्त्विक र सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण बनाएको छ ।

अन्तर्राष्ट्रिय शान्ति महोत्सव 

हालै सम्पन्न ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव–२०२६’ ले विश्वभर फैलिएको अस्थिरता र युद्धको सन्दर्भमा आशाको किरण प्रस्तुत गरेको छ । लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी र नेपालस्थित चिनियाँ दूतावासको सहकार्यमा सम्पन्न उक्त महोत्सवले लुम्बिनीलाई केवल आध्यात्मिक केन्द्र होइन, अन्तर्राष्ट्रिय संवादको मञ्चका रूपमा स्थापित गर्ने प्रयास गरेको छ ।

ध्यान साधना, ‘पिस कन्सर्ट’ र अन्तर्राष्ट्रिय पिस म्याराथन जस्ता कार्यक्रमले शान्तिको सन्देशलाई व्यवहारमा उतार्ने प्रयास गरेका छन् । विश्वका विभिन्न मुलुकबाट आएका भिक्षु, साधक, कलाकार र खेलाडीहरूको सहभागिताले लुम्बिनीलाई साँच्चिकै ‘ग्लोबल पिस हब’ को रूपमा प्रस्तुत गरेको छ ।

आजको विश्वमा युद्ध, आतङ्क, आर्थिक असमानता र सांस्कृतिक द्वन्द्व बढिरहेका छन् । यस्तो अवस्थामा बुद्धको मध्यम मार्ग, करुणा र प्रज्ञामा आधारित दर्शन अत्यन्त सान्दर्भिक देखिन्छ । बुद्धले सिकाएको ‘अहिंसा’, ‘मैत्री’ र ‘सम्यक दृष्टि’ जस्ता सिद्धान्तहरूले मानव जीवनलाई सन्तुलित, शान्त र सार्थक बनाउने आधार प्रदान गर्छन् ।

पश्चिमी मुलुकहरूमा ‘माइन्डफुलनेस’ (सचेतन), ध्यान र योगप्रतिको आकर्षण बढ्दै जानु यसको प्रमाण हो । माइन्डफुलनेस अध्ययन अहिले विश्वका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन–अध्यापनको विषय बनेको छ । यसले देखाउँछ कि लुम्बिनीबाट उत्पन्न भएको ज्ञान आज पनि विश्वलाई मार्गदर्शन गर्न सक्षम छ । तर, हामीले यो अथाह सम्भावनालाई वेवास्ता गरिरहेका छौँ । 

लुम्बिनीलाई ‘शान्ति कूटनीति’ को केन्द्रका रूपमा विकास गर्ने सम्भावना पनि अत्यन्तै ठुलो छ । वर्तमान विश्वमा मध्यपूर्वलगायतका क्षेत्रमा देखिएको द्वन्द्वले देखाउँछ कि परम्परागत कूटनीतिक प्रयासहरू मात्र पर्याप्त छैनन् । यस्तो अवस्थामा आध्यात्मिक र सांस्कृतिक संवादमार्फत शान्ति स्थापनाको नयाँ विकल्प खोज्न आवश्यक छ । नेपालले सार्थक पहल गर्ने हो भने बौद्ध कूटनीतिका माध्यमबाट विश्व शान्ति वार्ता स्थल लुम्बिनीलाई बनाउन सकिन्छ । 

लुम्बिनी यस्तो संवादका लागि आदर्श स्थल बन्न सक्छ । यहाँ राजनीतिक, धार्मिक र सांस्कृतिक नेतृत्वहरूलाई एकै ठाउँमा ल्याएर संवाद, सहकार्य र समाधानका नयाँ मार्गहरू खोज्न सकिन्छ । ‘लुम्बिनी संवाद’ जस्ता अवधारणालाई संस्थागत गर्न सकेमा विश्व शान्ति प्रयासको अग्रपङ्क्तिमा नेपाल उभिन सक्छ ।

बौद्ध सर्किट र पर्यटन विकास

लुम्बिनीको विकास केवल आध्यात्मिक दृष्टिले मात्र होइन, आर्थिक र पर्यटन विकाससँग पनि गहिरो रूपमा जोडिएको छ । कपिलवस्तुको तिलौराकोट (प्राचीन कपिलवस्तु दरबार क्षेत्र, जहाँ बुद्धका पिता राजा शुद्धोदनको दरबार थियो), रुपन्देहीको देवदह (मायादेवीको माइतीघर) र नवलपरासी बसुपको रामग्राम स्तूप (यहाँ बुद्धको अस्तुधातु रहेको छ) जस्ता बौद्धकालीन स्थललाई समेटेर ‘बौद्ध सर्किट’ विकास गर्न सकिन्छ । 

यही सम्भावनालाई आधार मानेर ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजनाको अध्ययन पूरा भएको छ । विश्व बैङ्कको सहकार्यमा यो परियोजनाको अध्ययन पूरा भएको हो । विश्व बैङ्कले यो परियोजनाका लागि १२ अर्ब ३५ करोड रुपियाँभन्दा धेरै लगानी गर्न तयार रहेको समेत निर्णय गरिसकेको छ । अब नेपाल सरकारले चाहेमा यो विषयमा सम्झौता गर्दै परियोजना कार्यान्वयनमा लैजान सक्छ । यसले नेपाललाई विश्वका बौद्ध अनुयायीको प्रमुख गन्तव्य बनाउने छ । चीन, श्रीलङ्का, थाइल्यान्ड, जापान, म्यानमारलगायत देशका लाखौँ बौद्ध श्रद्धालुलाई आकर्षित गर्न सकिने सम्भावना छ । यसबाट स्थानीय अर्थतन्त्र, रोजगारी र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने छ । लुम्बिनीलाई केन्द्रमा राखेर यहाँका तराईका तीन जिल्ला मात्रै होइन, पहाडी जिल्लालाई समेत समेटेर हिलस्टेसनका रूपमा विकास गर्न सकिन्छ । बुटवलमा दुई वटा पहाडलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने गरी दुई ठुला केबलकार सञ्चालनमा छन्, नुवाकोट र वसन्तपुरमा अर्बौं लगानीमा होटल र रेष्टुरेन्ट खुल्दै छन् । यसलाई विस्तार गरेर होमस्टे, सांस्कृतिक डबलीमार्फत यहाँका पर्यटकलाई परपरसम्म लैजान सकिन्छ । 

बेथिति नहोस्

लुम्बिनी आज केवल गौतम बुद्धको जन्मस्थलको धार्मिक पहिचानमा सीमित छैन; यो विश्व समुदायलाई जोड्ने सांस्कृतिक, आध्यात्मिक र कूटनीतिक केन्द्रका रूपमा व्रmमशः उभिँदै गएको छ । विभिन्न देशहरूले निर्माण गरेका विहार, गुम्बा र ध्यान केन्द्रहरूले लुम्बिनीलाई ‘विश्व बौद्ध सहर’ का रूपमा स्थापित गरिरहेका छन् । यसले नेपालको अन्तर्राष्ट्रिय छवि विस्तार मात्र होइन, पर्यटन, अर्थतन्त्र र सांस्कृतिक कूटनीतिमा पनि नयाँ सम्भावना खोलिदिएको छ । लुम्बिनीलाई केवल तीर्थस्थल नभई ‘जीवित सङग्रहालय’ बनाएको छ, जहाँ धर्म, संस्कृति र अन्तर्राष्ट्रिय सम्बन्ध एकैसाथ अभिव्यक्त हुन्छन् तर यति ठुलो सम्भावनाका बिच व्यवस्थापनका कमजोरी र अनियमितताले गम्भीर प्रश्न उठाएका छन् । मोनास्ट्री निर्माणका नाममा प्लट वितरणमा भएको बेथिति, सम्झौता अनुसार निर्माण सम्पन्न नगर्ने प्रवृत्ति र कतिपय संरचनाको गैरधार्मिक प्रयोगले लुम्बिनीको मूल परिकल्पनामाथि नै असर पर्ने खतरा बढाएको छ । लुम्बिनी विकास कोषको प्रभावकारी नियमन अभाव र पूर्वअध्ययन प्रतिवेदनमाथि कारबाही नहुनुले समस्या अझ जटिल बनेको छ । 

पवित्र सम्पदाको भरपुर सदुपयोग गर्नेतर्फ राज्यका सम्बन्धित निकायको ध्यान जान सकेको छैन । लुम्बिनीलाई पवित्र तीर्थस्थल, बुद्धका अनुयायीको आस्थाको केन्द्र मात्रै होइन, विश्वशान्ति वार्ता स्थल पनि बनाउन सकिन्छ । यसका लागि कूटनीतिक पहलकदमीको खाँचो छ । मुलुकमा पहिले स्थायित्व, सुशासनको खाँचो छ । मुलुकभित्रका आन्तरिक समस्याको समाधानको खाँचो छ । हामी सुरुमै आग्रह गर्न चाहन्छौँ कि पवित्र लुम्बिनीमा बेथिति नहोस् ।

यसैबिच युनेस्कोले मायादेवी मन्दिरको संरक्षण, वातावरणीय जोखिम र अव्यवस्थित पूर्वाधारप्रति व्यक्त गरेको चिन्ताले लुम्बिनीको दिगो भविष्यप्रति सचेत गराएको छ । यदि यस्ता चेतावनीलाई गम्भीरतापूर्वक नलिने हो भने लुम्बिनीको विश्व सम्पदा मूल्य नै कमजोर हुन सक्छ । त्यसैले अब गुरुयोजनाको कडाइका साथ कार्यान्वयन, पारदर्शी र उत्तरदायी व्यवस्थापन तथा सम्पदाको दिगो संरक्षणको खाँचो छ । लुम्बिनी केवल नेपालको सम्पत्ति होइन; यो समग्र मानव सभ्यताको साझा धरोहर हो, जसको रक्षा र संवर्धनमा कुनै पनि प्रकारको लापर्बाही नहोस् । पवित्र सम्पदा क्षेत्रमा बेथिति त झन् स्वीकारै छैन ।

लुम्बिनी केवल एउटा भौगोलिक स्थल होइन । यो मानव इतिहासको एक महत्वपूर्ण मोड हो, जहाँ करिब २६०० वर्षअघि गौतम बुद्धको जन्मसँगै मानव सभ्यताले नयाँ चिन्तन, दर्शन र जीवन पद्धतिको मार्ग प्राप्त ग¥यो । आज जब विश्व पुनः द्वन्द्व, असहिष्णुता र अस्थिरताको चक्रमा अल्झिएको छ । लुम्बिनीबाट फेरि एक पटक शान्ति, करुणा र सहअस्तित्वको सन्देश प्रवाहित गर्ने प्रयास हुनु आफैँमा ऐतिहासिक सन्दर्भ बोकेको घटना हो ।

पूर्वाधार र नीति सुधार 

लुम्बिनीको सम्भावना विशाल भए पनि यसको पूर्ण उपयोग गर्न अझै धेरै काम गर्न बाँकी छ । अन्तर्राष्ट्रियस्तरको पूर्वाधार, सहज यातायात, गुणस्तरीय आवास र प्रभावकारी व्यवस्थापन आवश्यक छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको पहुँच सहज भएको छ तर नियमित अन्तर्राष्ट्रिय उडान, सेवा सुधार र प्रचारप्रसार अझ सुदृढ गर्नुपर्ने आवश्यकता छ । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भएको छ तर यसको व्यापार कमजोर छ । विमानस्थललाई चलायमान बनाउन प्रभावकारी पहलको खाँचो छ । त्यस्तै, वातावरणीय संरक्षण, सांस्कृतिक सम्पदाको संरक्षण र स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नु पनि उत्तिकै महìवपूर्ण छ । विकास र संरक्षणबिच सन्तुलन कायम गर्न सके मात्र लुम्बिनी दिगो रूपमा विकास हुन सक्छ ।

शान्तिको सन्देश

आजको अशान्त विश्वमा शान्तिको सशक्त सन्देश दिने केन्द्रका रूपमा लुम्बिनी उभिएको छ । गौतम बुद्धले देखाएको करुणा, सहिष्णुता र समझदारीको मार्ग कुनै एक धर्मका लागि मात्र होइन, सम्पूर्ण मानवताका लागि हो । लुम्बिनीले स्पष्ट सन्देश दिन्छ– शान्ति बाह्य शक्तिबाट होइन, व्यक्तिको आन्तरिक चेतनाबाट सुरु हुन्छ । लुम्बिनी अतीतको गौरव मात्र नभई भविष्यको सम्भावनासमेत हो । अन्तर्राष्ट्रिय सहकार्य र शान्ति पहलहरूबाट यसलाई व्यवहारमै विश्वशान्तिको केन्द्र बनाउन सकिने आधार देखिएको छ । दूरदर्शी नीति, प्रभावकारी कार्यान्वयन र विश्वस्तरीय सहकार्यबाटै लुम्बिनीलाई 

‘विश्वशान्तिको राजधानी’ का रूपमा स्थापित गर्न सकिन्छ ।