• ६ जेठ २०८१, आइतबार

द्वेषपूर्ण अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण

blog

इश्वरचन्द्र झा

काठमाडौँ, वैशाख १६ गते । निर्वाचन आयोगले राजनीतिक दलका शीर्ष नेताबाट आएको द्वेषपूर्ण अभिव्यक्तिलाई गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले त्यस्तो अभिव्यक्तिलाई गम्भीर रूपमा लिएर विश्लेषण गरिरहेको जनाएको छ । पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूबाट एक अर्काप्रति लाञ्छना लगाउने र चरित्रहत्या गर्ने किसिमले नै द्वेषपूर्ण टिप्पणी आएको विषयमा आयोगले यस्तो धारणा राखेको हो । 

आयुक्त रामप्रसाद भण्डारीले पछिल्ला दिनमा राजनीतिक दलका शीर्ष नेताबाट एक अर्कालाई लक्षित गरी चरित्रहत्या गर्ने किसिमले नै अभिव्यक्ति आएको सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । निर्वाचन आयोगले विभिन्न माध्यमबाट आउने त्यस्ता अभिव्यक्तिलाई प्रमाणका रूपमा सङ्कलन गरिरहेको छ ।

आयुक्त भण्डारी केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक हुनुहुन्छ । आयोगले सामाजिक सञ्जालमा आउने द्वेषपूर्ण अभिव्यक्ति वा आचारसंहिता आकर्षित हुने उल्लङ्घनका घटनाको अभिलेख राख्न र सिफारिस गर्न कार्यदल गठन गरेको छ । उक्त कार्यदलको सिफारिस र आयोगमा परेको उजुरीका आधारमा समितिले कारबाही प्रक्रिया अगाडि बढाउने कार्यविधि छ । 

आयुक्त भण्डारीले आचारसंहिता उल्लङ्घनका यस्ता अभिव्यक्तिको कडाइसाथ अनुगमन भइरहेको र प्रमाणको आधारमा उचित निर्णय छिट्टै हुने बताउनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ को तयारीबारे जानकारी गराउन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले द्वेषपूर्ण अभिव्यक्तिमा साइबर कानुन आकर्षित हुने बताउँदै आयोगमा गठन भएको कार्यदलले यस्ता टिप्पणीको विवरण सङ्कलन गरेर विश्लेषण गरिरहेको बताउनुभयो ।

प्रवक्ता अर्यालले भन्नुभयो, “कुन डिग्रीको टिप्पणी हो, त्यसको विश्लेषण गरेर कारबाही गर्ने विषयमा स्पष्टता चाहिन्छ ।” उक्त स्पष्टताका लागि आयोगले कस्तो अभिव्यक्तिलाई द्वेषपूर्ण अभिव्यक्ति भन्ने सम्बन्धमा आचारसंहिता लागू भएको तीन सातापछि मात्रै परिभाषा तयार गर्दैछ । 

आयोगले त्यस्ता टिप्पणीलाई निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ सँग जोडे पनि उक्त नीतिमा सामाजिक सञ्जालमा प्रेषित अभिव्यक्ति मात्रै समेटिन्छ । निर्वाचन आचारसंहिता र साइबर कानुनले गलत अभिव्यक्ति प्रकाशन वा प्रसारण गर्न नहुने र त्यसो गरिए कारबाहीको भागी हुने उल्लेख गरेको छ । 

सार्वजनिक बिदा दिन माग

निर्वाचन आयोगले स्थानीय निर्वाचन २०७९ अन्तर्गत मतदान हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन माग गरेको छ । आयोगले सार्वजनिक बिदाका लागि मुख्यसचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको जनाएको छ ।त्यसैगरी आयोगले मतदानको पूर्वसन्ध्यामा तीन दिनसम्म विद्यालयमा विद्यार्थी र शिक्षकको भौतिक उपस्थिति नगराउन प्रस्ताव गरेको छ । 

मतपत्र छपाइ सकियो

निर्वाचन आयोगले ७२ जिल्लाको मतपत्र छपाइ सकिएको जनाएको छ । वैशाख १५ गतेसम्म एक करोड ७७ लाख ७५ हजार मतपत्र छापिएको आयोगले जनाएको छ । आयोगका अनुसार स्थानीय निर्वाचन २०७९ मा कुल एक करोड ९४ लाख मतपत्र छापिनेछन् । शुक्रबारसम्म छ महानगरपालिका र भक्तपुर जिल्लाबाहेकको मतपत्र छापिसक्ने आयोगले जनाएको छ । हालसम्म ३३ जिल्लाका ५१ लाख ८१ मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ ।