• ४ साउन २०८१, शुक्रबार

चौध सय वर्ष पुरानो रथ जुधाउने पनौती जात्रा

blog

काभ्रेपलाञ्चोक, असार ४ गते । ऐतिहासिक पनौती नगरमा एक हजार ४२० वर्षदेखि मनाइँदै आएको हिलेजात्रामा स्थानीयवासी सामेल हुनैपर्ने परम्परा छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल मनाइने हिलेजात्रा सकिएको भोलिपल्टैदेखि पनौतीमा खेतको काम थाल्ने गरिन्छ ।

स्थानीय बुढापाकाको भनाइमा हिलेजात्रामा सामेल हुनैपर्ने मान्यता यहाँ छ । ‘ज्येष्ठ शुक्ल पूर्णिमाका दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने जनविश्वास छ । त्रयोदशीको तीन दिनअघि पनौतीको ऐतिहासिक क्षेत्रमा अवस्थित भैरवनाथ, भद्रकाली, इन्द्रेश्वरी र ब्रह्मायणी मातालाई मन्दिरको आसनबाट केही तल सारेपछि औपचारिक रूपमा जात्रा सुरु भएको मानिन्छ । विशेष रूपमा यस वर्ष असार ६ गते अर्थात् बिहीबारदेखि शुक्रबारसम्म धुमधामसाथ जात्रा मनाइन्छ । 

स्थानीयले भैरवनाथ र भद्रकालीको रथ बनाउँछन् । मन्दिरमा तोरण र झल्लरीसहित बत्ती तथा रङरोगनको काम भइरहेको छ । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिएको पाइन्छ । जात्रा सकिएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ अनि वर्षा सुरु हुन्छ । यहाँको जनविश्वास अनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनै पर्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको यहाँका स्थानीयसँग अनुभव पनि छ । 

किंवदन्ती अनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङमतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुल जस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । स्थानीय समाजसेवी तुयुकाजी ताम्राकारका अनुसार त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आएको छ । करिब ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुई वटा बाँस तेस्र्याइने र देवगण एक घण्टा लगाएर तर्ने गर्छन् । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठुलो जात्राका रूपमा लिने गरिएको छ । 

स्थानीय विकुनारायण ताम्राकारका अनुसार जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामहित पूजाअर्चना गरिन्छ । इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित गणेशको मूर्तिलाई खटमा राखी अबिर जात्रा गरी नगर परिक्रमा गराइन्छ । जात्राको तेस्रो अर्थात् पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथको भागदौड गराउने र रथ भेटिँदा यौन क्रियाकलापका रूपमा एकआपसमा जुधाउने काम हुन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रूपमा लिँदै युवकयुवतीको सहभागिता उत्साहजनक रहने गर्छ ।

स्थानीय वृद्धवृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रूप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रूप धारण गरी भद्रकालीलाई भगाउँछन् । 

भाग्ने र पिछा गर्ने कार्यका रूपमा रथ जुधाइने गरिएको मानिन्छ । रथ जुधाइसँगै अबिरजात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बिचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् । अघिल्तिरबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रह्मायणी शान्त स्वभाव प्रस्तुत गर्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनिक सम्बन्ध प्रस्तुतिका रूपमा लिइएको हो । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवकयुवती रथ जुधाउन तँछाडमछाड गर्छन् अनि थाक्दैनन् पनि । 

इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिले पहिले झिसमिसेअगावै रथ जुधाइने गरिएको थियो । विशेषतः कामक्रीडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बिचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो । पछिल्ला केही वर्षदेखि भने देवतारूपी रथलाई ठुलो जनसहभागितामा दिउँसो जुधाउने गरिएको छ । स्थानीय मुख्य पर्वका रूपमा जात्राको अन्तिम दिन नगरपालिकाले सार्वजनिक बिदासमेत दिने गरेको छ । 

जात्राको परम्परा अनुसार विशेष पूजामा सामग्री, सुकुन्दा बोकेर कर्माचार्य (आचाजू) हरू सुस्तरी हिँड्नु पर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगु भनिन्छ । कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठुलो अनिष्ट हुने, खडेरीले दुःख दिने जस्ता विश्वास मनमा पाल्ने भएकाले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आएको छ । 

अर्को रोचक प्रसङ्ग, जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । यसपछि यी सामग्रीको बिक्री सुरु हुने पनि जनविश्वास छ । जात्रामा चिउली चपाएर जिब्रो पड्काउँदै युवकयुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारसाथ भोज गर्छन् । भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम छ । 

किंवदन्ती अनुसार राजा प्रताप मल्लले विसं १२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता (लीलावती) र रोशी खोला (रुद्रावती) बाहेक पद्मावती नदी गुप्त रूपमा ब्रह्मायणी मन्दिरको मुनिबाट दुधका रूपमा बगिरहेको मान्यता छ ।