• १९ असार २०८१, बुधबार

अग्निपीडितले पाएनन् राहत

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख १५ गते । पश्चिमतर्फबाट तातो हावा ‘लु’ चलेको थियो । सोही दिशामा गहुँको नलमा ह्वारह्वार्ती दन्कियो आगो । पूर्वतिरको नजिकै रहेको विपतपुर गाउँवासी चिच्याउन थाले, ‘आगो, आगो ।’

उनीहरू आगो निभाउन खेततिर दगुरे । हावाका कारण ह्वारह्वार्ती दन्किएको आगो नियन्त्रणमा लिन सम्भव भएन र आगो सोझियो बस्तीतिर । क्षणभरमै आसपासका घरमा आगो दन्किन थाल्यो । घर बलिरहेको देखेर कैयौँ स्थानीय खेतमै बेहोस भएर ढले । “खेतबाट घर पुग्न नपाउँदै मिनेटमा नै एक घरबाट अर्को घरमा, अर्कोबाट अर्कोमा आगो लाग्योे,” अग्निपीडित सुनीता चौधरी भन्नुहुन्छ, “त्यसपछि ज्यान बचाउने कि सम्पत्ति, केही सोच्नै सकेनौँ । हेर्दाहेर्दै आँखै अगाडि घर, सम्पत्ति खरानी बन्यो ।” 

गएको आइतबार कैलाली गाउँपालिका–७, विपतपुर मुक्तकमैया बस्तीका लागि कालो दिन नै बन्यो । कुनै किसानले गहुँको नल बाल्नका लागि खेतमा लगाएको आगोले बस्ती नै खरानी बनेको हो । निर्वाचनको मुखमा भएको आगलागीले मुक्तकमैयाको कन्तबिजोग भएको छ । 

घर, जायजेथा सबै खरानी बनेपछि उनीहरूको बिचल्ली भएको छ । मुक्तकमैया त्यसै पनि दुई छाक जोहोका लागि सङ्घर्ष गरिरहेका थिए । विपतपुरको त्यही गाउँमा थप विपत्ति आइपरेको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, कृषियन्त्र, चौपाया मात्रै होइन, कमाएर ल्याएका र गहुँ बेचेर राखेका नगद पनि जलेर खरानी भएको छ । 

भारतबाट कमाएर ल्याएको एक लाख ६० हजार नगद  खरानी बनेको गाउँका भलमन्सासमेत रहनुभएका हिङ्गुराम चौधरीले बताउनुभयो । “उता खेतमा आगो निभाउन दगुरेँ । यता घरमै आगो पुगिसकेछ । पावर टिलर किन्नका लागि राखेको पैसा जोगाउन सकिएन,” उहाँले भन्नुभयो । 

आगलागीबाट धेरै बालबालिकाका पाठ्यपुस्तकदेखि लिएर पठ्यसामग्री सबै जलेर नष्ट भएको छ । त्यति मात्रै नभएर थारू समुदायका महिलाले लगाउने सुनचाँदीका पुख्र्यौली गहना पनि सबै जलेका छन् । स्थानीय दिलबहादुर चौधरीले १२/१३ लाख रुपियाँको हुने पुख्र्यौली गहनासहित बयलगाडा, पावर टिलर र एउटा इन्जिनसमेत जलेर नष्ट भएको दुखेसो गर्नुभयो ।  

आगलागीले ७१ घरमा क्षति भएको छ । ४४ घर पूर्ण रूपमा जलेर खरानी बनेको र बाँकी २७ घरमा आंशिक क्षति भएको कैलारी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । त्यस्तै दुईवटा पावर टिलर, आठवटा डल्लप, १३ वटा डिजल इन्जिन, ४५ वटा सोलार नष्ट भएको जनाइएको छ । 

जीवनमा पहिलो पटक यस्तो विपत् देख्नु परेको ६६ वर्षीया कालीदेवी चौधरीले बताउनुभयो । “मैले यसरी आगो दन्केको कहिल्यै देखेको थिएन,” उहाँले भन्नुभयो, “टिनको छानो भएका घर पनि दन्किएर बल्न थाले ।” यति बेला लगाउने कपडासमेत मुक्तकमैयासँग छैन । शरीरमा जे कपडा थियो, त्यही मात्रै छ, उनीहरूसँग । 

रेडक्रसले ‘धाप’ कपडा दिए पनि तत्काललाई सिलाउन सक्ने अवस्था पनि नरहेको उनीहरू बताउँछन् । “शरीरमा लगाएको कपडा मात्रै छ, तत्काल हामीलाई कसैले तयारी कपडा उपलब्ध गराइदिए हुन्थ्यो,” सगनी चौधरीले भन्नुभयो । 

यसवर्ष बेमौसमी वर्षा र बाढीले क्षति बेहोरेका मुक्तकमैयामा अब अर्को ठूलो विपत्ति आइपरेको छ । भर्खरै भिœयाएका गहुँ खरानी बनेको छ । अहिले स्थानीय तह निर्वाचनको चहलपहल बढेका बेला विपतपुरवासी भने दुःखको पहाडले थिचिएका छन् । 

दमकल नहुँदा थप क्षति

कैलारी गाउँपालिका र नजिकको पालिका भजनी नगरपालिकामा दमकल छैन । विपतपुरमा मध्याह्न १२ बजेतिर आगलागी भएको थियो तर धनगढी, घोडाघोडीलगायतबाट बोलाइएको दमकल ३ बजे मात्रै आइपुग्यो । “दमकल पुग्दासम्म धेरै घर जलिसकेका थिए,” भलमन्सा चौधरीले भन्नुभयो, “निभाउनका लागि मान्छे त हजारौँ थियो तर हाम्रो केही जोर चलेन ।

नजिक दमकल भए सायद यति ठूलोको क्षति हुँदैनथ्यो कि ।”  अग्निपीडित मुक्तकमैयाका लागि सहयोग जुट्न थालेको छ । उनीहरूलाई रेडक्रसले भाँडाकुँडा र बस्नका लागि टेन्ट, म्याट्रेस दिएको छ । यसैगरी छिमेकी गाउँ र केही सङ्घ, संस्थाले पनि खाद्यान्न सहयोग गरेका छन् ।