• ६ जेठ २०८१, आइतबार

ई–सिम कार्ड ल्याउँदै टेलिकम

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ (गोरखापत्र), वैशाख १५  ।  नेपाल टेलिकमले छिट्टै इम्बेडेड सीम (ई–सिम) कार्ड उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र मोन्टी यूके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता भएको हो । 

सम्झौताअनुसार मोन्टी यूके ग्लोबलले नेपाल टेलिकमका ग्राहकलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउनेछ । सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकमले नयाँनयाँ प्रविधि भिœयाउने क्रममा ई–सिमसमेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै नै प्रारम्भ हुने बताउनुभयो । 

ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आएपछि सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिन्छ ।