गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ७ गते । नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारिक समझदारी पत्रमा सोमबार आयोजित एक कार्यक्रमका बीच कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले हस्ताक्षर गरी समझदारी पत्र आदानप्रदान गर्नुभएको छ ।
देशका ६४ जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको यस लघुवित्तमा हाल करिब पाँच सय कर्मचारी कार्यरत रहेका छन् । कोषले कार्यान्वयनमा ल्याएको यस योजनामा विभिन्न संगठित संस्था र त्यहाँ कार्यरत कर्मचारीहरू सहभागी हुन पाउने कानुनी व्यवस्था रहेको छ ।
यस योजनाअन्तर्गत संघ–संस्थाहरूले आफ्ना कर्मचारीका लागि योगदानमा आधारित वा गैर योगदानमा आधारित दुवै पद्धतिबाट उपदान कोषको व्यवस्थापन गर्न सक्नेछन् । सोही व्यवस्थालाई आत्मसात गर्दै मेरो माइक्रोफाइनान्सले आफ्ना कर्मचारीहरूको भविष्य सुरक्षित गर्न यो कदम चालेको हो । यसअघि पनि विभिन्न लघुवित्त वित्तीय संस्थाहरू कोषको यो योजनामा आबद्ध भइसकेका छन् ।
नागरिक लगानी कोषले वि.सं. २०५५ सालदेखि नै उपदान तथा पेन्सन योजना सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान र पेन्सनबापतको रकम संकलन गरी सुरक्षित लगानी गर्ने र सम्बन्धित कर्मचारी सेवाबाट निवृत्त भएपछि उचित भुक्तानी दिने गरिन्छ । कर्मचारीहरूको सामाजिक सुरक्षालाई ध्यानमा राखेर सञ्चालित यस योजनामा इच्छाअनुसार रकम जम्मा गरी सहभागी हुन सकिने प्रावधान रहेको छ ।