भक्तपुर, असार १ गते । ग्रामीण ऋणग्रस्तता, स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा र धामीझाँक्रीको भरमा सामान्य शल्यक्रियाबाटै उपचार हुने पाठेघर खस्ने समस्याबाट अहिले पनि १० औँ लाख आमा आक्रान्त छन् । कतिपय आमा ‘लगान लागेको, वनको लागेको’ भनेर आफ्नो जटिल रोग लुकाएरै बस्न बाध्य छन् । त्यसमाथि आफ्नो गोप्य अङ्गमा रोगबारे खुलेर आफन्तलाई भन्ने आँटसमेत गर्दैनन् ।
तर सिन्धुपाल्चोक पिस्करकी ६७ वर्षीय नेप्टी थामीलाई अहिले थाहा भयो, पाठेघर खस्ने रोगको न्यूनतम खर्चमै सहज शल्यक्रिया गरेपछि निको हुने रहेछ । उहाँ वर्षौंअघिदेखि पाठेघर खस्ने (आङ खस्ने) समस्याले पिरोलेको थियो । धेरैबेर उभिँदा र थोरै गह्रौँ भारी बोक्नासाथ पाठेघर खसिहाल्थ्यो । उहाँले अर्थिक अभावका कारण आङ खस्ने रोगको उपचार गर्न सक्नुभएको थिएन । उहाँले रोग पहिचान गर्न पनि सक्नुभएको थिएन ।
तर सिन्धुपाल्चोकस्थित त्रिपुरासुन्दरी गाउँपालिकाले ‘आमा बचाऔँ’ अभियान सञ्चालन गरेर पालिकाका आमाहरूका लागि वरदान साबित हुने गरी पाठेघर खस्ने रोगको निदान गर्न थालेपछि उहाँलाई वर्षौंदेखि बोकेको भारी बिसाए जस्तो महसुस भएको छ । उहाँलाई अब गाउँ गएर सबै काम सजिलै गर्न सक्ने भएकी छु भन्ने महसुस भएको छ । उहाँले भन्नुभयो, “दस वर्षदेखि आङ खस्ने समस्या थियो । पालिकाले काठमाडौँसम्म ल्याएर उपचार भएपछि रोग निको भयो ।” त्रिपुरासुन्दरी चौथलीकी ५६ वर्षीया मैया श्रेष्ठको पाठेघर खस्ने समस्या ४५ वर्षदेखि थियो । उहाँले भन्नुभयो, “उपचार गर्न पैसा थिएन । काठमाडौँसम्म ल्याइदिने मानिस थिएनन् । उपचार गर्दा निको हुने रहेछ । गाउँपालिकाले निःशुल्क उपचार गराइदियो । मलाई नयाँ जीवन पाए जस्तै भएको छ ।”
उपचारमा पालिकाको पहल
सरकारी तथ्याङ्क अनुसार बर्सेनि ३० हजारभन्दा धेरै महिलाको पाठेघर खस्ने रोगको शल्यक्रिया हुँदै आएको छ । आङ खस्ने समस्या भएका महिलाको सङ्ख्या सहरभन्दा गाउँमा धेरै छ । गत वर्ष प्रसूतिगृहमा पाँच सय जनाको आङ खस्ने योजना अनुसार शल्यक्रिया गरिएको थियो ।
यसैबिच त्रिपुरासुन्दरी गाउँपालिकाले पालिकाका आर्थिक अवस्था ज्यादै नाजुक भएका महिलाका लागि काठमाडौँ ल्याएर पाठेघर झर्ने रोगको शल्यक्रिया आरम्भ गरेको छ । पालिकाले २४ जना महिलालाई भक्तपुर अस्पतालमा ल्याएर निःशुल्क शल्यक्रिया गरेको छ । २४ जनामध्ये १७ जना महिलाको आङ खस्ने रोगको निःशुल्क शल्यक्रिया गरेको हो । अन्य सात जना महिलाको विभिन्न रोगका कारण पाठेघर खस्ने रोगको शल्यक्रिया हुन सकेन ।
त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले पालिकाले आर्थिक अभावका कारण उपचार गर्न नसकेर वर्षौंदेखि रोग लुकाएर बसेका महिलाको पाठेघर झर्ने रोगको उपचार गराइएको बताउनुभयो । उहाँले गाउँपालिकाले गत वर्ष पनि पालिकाबाट २१ जनालाई थापाथलीस्थित प्रसूतिगृहमा ल्याएर आङ खस्ने रोगको शल्यक्रिया गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकाले ‘आमा बचाऔँ’ अभियान सुरु गरेको छ । अभियान अन्तर्गत आङ खस्ने समस्या भएका महिलाको शल्यक्रियामा लाग्ने सम्पूर्ण खर्चसहित सिन्धुपाल्चोकदेखि काठमाडौँ लाने, बस्ने, खाने र ल्याउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले गाउँका महिलाले आफ्नो रोगबारे खुलेर भन्न नसक्दा अकालमा ज्यान गुमाउनुपरेको अवस्थालाई दृष्टिगत गरी अभियान सञ्चालन गरेको बताउनुभयो ।
गाउँपालिकाका हरेक वडाबाट महिला स्वयंसेविकामार्फत महिलाको स्वास्थ्य अवस्थाबारे बुझ्ने गरिन्छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण साहका अनुसार शल्यक्रिया गर्नुअघि वडास्तरीय स्वास्थ्य सेवा केन्द्रमार्फत स्त्री रोगसम्बन्धी छनोट र उपचार शिविर सम्पन्न गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य शिविरमा पाँच सय जना आमाको सहभागिता रहेको जानकारी दिँदै तीमध्ये २४ जनाको पाठेघर झर्ने समस्याबाट पीडित रहेकाले शल्यक्रिया गर्नुपरेको बताउनुभयो । गाउँपालिकाकी उपाध्यक्ष गीताकुमारी नेपालले पालिकाका महिलाहरूले आमा बचाउ अभियान अन्तर्गत ठुलो राहत पाएको बताउनुभयो ।