राममणि दाहाल
मकवानपुर, वैशाख १३ गते । मकवानपुर प्रहरीले क्षमताभन्दा बढी चुनढुङ्गा बोकेका टिप्परहरू नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गस्तीका क्रममा हेटौँडा उपमहानगरपालिका–१९, नेवारपानीबाट ती टिप्परहरू नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बेगटीका अनुसार मनहरीतर्फबाट हेटौँडा बजारतर्फ आउँदै गरेका १३ वटा टिप्परहरू जाँच गर्दा क्षमताभन्दा बढी चुनढुङ्गा (ओभरलोड) बोकेको पाइएको हो ।
उहाँका अनुसार ती टिप्परहरूमा बिलसमेत नभएको पाइएपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रहरीले म.प्र.०३–००१ क २५९५, म.प्र.०३–००१ क २५८१, बा.प्र.०३–००१ ख १२७३, बा.प्र.०३–००१ ख १२७२, ना ८ ख ४३८२, म.प्र.०३–००१ क २५९१, म.प्र.०३–००१ क २५८३, बा.प्र.०३–००१ ख १२७०, ना ८ ख ५०२९, ना १ क ८७०१, ना १ क ८६९८, ना १ क ८६९६ र बा.प्र.०३–००१ ख ४६६२ को टिप्पर नियन्त्रणमा लिइएका हो ।