• १२ असार २०८१, बुधबार

सर्लाहीका १०३ मतदानस्थल अति संवेदनशील

blog

मतदानस्थलको निरीक्षण गर्दै सुरक्षा अधिकारीको टोली। तस्बिर : जनार्जन

जनार्जन खत्री
सर्लाही, वैशाख १४ गते। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा १०३ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ। 

भूगोलको विकटता, यातायातको असुविधा र विगतका निर्वाचनमा दलबीच भएका झगडा, विवादलगायतलाई आधार मानेर वर्गीकरण गर्दा १०३ वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलको सूचीमा राखिएको हो। ती मतदानस्थलमा २०५ वटा मतदान केन्द्र छन्। 

अति संवेदनशील मतदानस्थल अधिकांश निर्वाचन क्षेत्र नम्बर ३ र ४ का रहेका छन्। यस्तै, जिल्लामा १८४ वटा मतदानस्थल संवेदनशील छन्। 

संवेदनशील रहेका १८४ वटा मतदानस्थलमा ३३९ वटा मतदान केन्द्र  छन्। सुरक्षा निकायले जिल्लाका ३१ वटा मतदानस्थललाई भने सामान्य सूचीमा राखेका छन्। 

३१ वटा सामान्य मतदानस्थलमा ५५ वटा मतदान केन्द्र  छन्। मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलतालाई विश्लेषण गरेर सोही अनुसार आवश्यक सुरक्षा प्रबन्ध मिलाइने जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो। 

आउँदो निर्वाचनका लागि सर्लाही जिल्लाभर ३१८ वटा मतदानस्थल र ५९९ वटा मतदान केन्द्र कायम गरिएको छ। २०७४ सालको निर्वाचनमा पनि सर्लाहीमा मतदानस्थल ३१८ वटै थिए। 

यो पटक मतदान केन्द्र भने ५१८ बाट थपेर ५९९ पुर्‍याइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिनुभयो। उहाँका अनुसार मतदाता बढेको आधारमा मतदान केन्द्र थपिएका हुन्।