• २८ वैशाख २०८१, शुक्रबार

अलमलमा वैशाख (कविता)

blog

साम्ब ढकाल


कालचक्रको अर्को फर्लाङ नाघेर

अन्ततः सँघारमा छ वैशाख

छ न त छ तर अलमलमा छ ।


भोलिको अस्पष्ट तस्बिर छातीमा टाङेर

ढलपल ढलपल हिँडिरहेको वैशाख यसै उसै अलमलमा छ ।


आँखाभरिको सबैभन्दा सुन्दर सपनाका लस्कर तितरबितर पारेर

नीरस र शुष्क दृश्यांशको थोत्रो क्यानभास 

वर्तमानको भित्ताभरि टाँसेर किंकर्तव्यविमूढमा छ वैशाख ।


सुक्न नपाएर गालाभरि आँसुका टाटैटाटा बोकेर

प्रारब्धका हत्केलाले छोप्दै÷ देखाउँदै विद्रूप अनुहार

लड्खडाउँदै लड्खडाउँदै खै कता हिँडिरहेछ वैशाख ।


जुगौँ जुग बित्छ कि क्या हो 

हिम्मतिलो वैशाखको काँधमा चढेर संसार हेर्ने धोको पूरा हुन

यो जुनीमा पुग्दैन कि क्या हो 

सुख र चैनको लामो श्वास तानेर रनबन डुल्ने यादृच्छा

पलपल मृत्युछायाले दपेटिरहेकाले होला 

प्रत्येक आगतहरूसँग जीजिविषा विनिमय गर्न वैशाख पर्खिरहेछु ।


पट्यार लाग्दा दिनहरूको खातमा खात थप्दै

निख्रिसकेर विगत बनिसकेको वैशाखको भो फेहरिस्त नपढूँ होला 

आजकल वैशाख आफैँ बिरामी हुँदै

रोगी समय ओसारी रहेको टुलुटुलू भो नहेरौं होला

सबैभन्दा सुरम्य याम पर्खेको युगौँ भयो 

यही वैशाखमा आउँछ होला भनेर विश्वस्त हुँ कि नहोऔं होला


खासमा मैले –

मेरै देशको महक बोकेर आउने वैशाख खोजेको

मेरै गुराँसको रक्ताभ र हिमालको श्वेताभ बोकेर आउने वैशाख खोजेको

मेरै अन्नको मिठास उबाएर पियाउने वैशाख खोजेको

म त अलमलमा छु, छु अब त वैशाख पनि 

कस्तो वैशाख भएर आउने हो अलमलमा छ । 


‘गन्तव्य’ चिल्ड्रेन पार्क सडक

हेटौँडा–४, हुप्रचौर ।