• ६ जेठ २०८१, आइतबार

चार सबस्टेसनको निर्माण धमाधम

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १४ गते । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका चारवटा सबस्टेसनको निर्माण धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धारापानीमा २२० केभीका सबस्टेसन तीव्र गतिमा निर्माण भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नयाँ भरतपुर र उदीपुर सबस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने प्राधिकरणको दाबी छ । 

खुदी सबस्टेसन एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसनको निर्माण हालै सुरु भएको छ । विकट ठाउँमा रहेकाले धारापानी सबस्टेसन भने केही ढिला हुनेछ । नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, ३२० एमभीए र २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मर राखिँदै छ ।

दुवै सबस्टेसनका मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ भने उपकरणको जडान जारी छ । खुदी र धारापानी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए र २२०/१३२ केभी, १०० एमभीए तथा १३२/३३ केभी, ३० एमभीए क्षमताका पावर ट्रान्सफर्मर राख्न लागिएको छ । खुदी सबस्टेसनको मुख्य सिभिल संरचना निर्माणाधीन छन् । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्च व्यवस्थापन टोलीले स्थलगत अनुगमन भ्रमणमार्फत सबस्टेसन निर्माणमा भइरहेको प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी जानकारी लिएको छ । 

कार्यकारी निर्देशक घिसिङले मस्र्याङ्दी करिडोरमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन तथा सबस्टेसन महŒवपूर्ण भएकाले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गर्नुभयो । 

लमजुङको दोर्दीखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिनेछ । उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि दोर्दीखोलाका आयोजनाको विद्युत् वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमस्र्याङ्दी विद्युत् गृहको स्वीचयार्डमा जोडिनेछ । लमजुङकै ङादी तथा त्यसका सहायक खोलाहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् खुदी सबस्टेसनमा जोडिनेछ । 

मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन बनाउन लागिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । भरतपुरदेखि मनाङको धारापानीसम्मको डब्बल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैङ्क (ईआईबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।