शंकर केसी
शारदा (सल्यान), भदौ ९ गते । मकै बाली जंगली जनावर बँदेलले सखाप पार्न थालेपछि सल्यानका किसानहरु चिन्तित बनेका छन् । रातिको समयमा बँदेलका हुलले मकैबारीमा छिरेर नष्ट गर्नथालेपछि किसानहरु चिन्तित बनेका हुन् ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा –२ को पाँच नम्बर टोलको माथिल्लो खोरबारे र रेखुहाले तथा वडा ५ को महानेटा क्षेत्रमा भर्खर दाना लागेका दुधेला मकै बँदेलले सखाप पार्न थालेको किसानहरुले बताएका छन् । महानेटाका घनबहादुर डाँगीले आफ्नो दुईवटै बारी पूर्णरुपमा सखाप भएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
यसैगरी खोरबारे क्षेत्रमा आठ घरधुरी किसानको करिव १० रोपनी बढी मकै हुलका हुल आउने बँदेलले क्षति गरेको स्थानीय रुद्रवीर दाहालले जानकारी दिनुभयो । “एउटा दुईटा होइन, ८–१० वटा बँदेल हुल बाँधेर बारीमा छिर्छन् । एकैछिनमा मकै सोत्तर पारेर जान्छन्” कृषक खुमबहादुर खत्रीले भन्नुभयो ।
जंगल छेउँका बस्तीहरुका पछिल्लो वर्षयता बँदेल, बाँदर, दुम्सी लगायतका जंगली जनावरले किसानको बालिनालीमा नोक्सानी गर्ने गरेका छन् । “यस वर्ष पनि भर्खर पोलेर खानयोग्य भएका बारीका मकै आधा जति बँदेलले सकिसके” छत्रेश्वरी –२ का हेमराज खड्काले भन्नुभयो ।
हिउँदमा गहुँ बालीमा पनि बँदेलले क्षति गर्ने गरेको उहाँले बताउनुभयो । बाली जोगाउन भनेर किसानहरुले घर–घरमा कुकुर समेत पाल्ने गरेका छन् । तर ठुला बँदेल देखेर कुकुर पनि डराउने गरेको उनीहरुको भनाइ छ ।
मकै जोगाउन रातभर जाग्राम बस्ने गरेको, पालैपालो बारीमा गएर रातभर चिच्याउने, कराउने गरे पनि बाली जोगाउनै नसकिएको किसानहरु बताउँछन् । खोरबारेका कृषक तिलक खड्काले दुःखेसो पोख्दै भन्नुभयो, “रातभर सुताई छैन, कराउँदा कराउँदा डाको नै बस्छ । किसानका दुःख कसैले देख्ने भएन, मुख्य बाली मकै सखाप भएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताउन थाल्यो ।”
बन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका बमोजिम सरकारले राहत उपलब्ध गराउने गर्दछ । तर प्रक्रिया पनि झन्जटिलो र यसरी पाइने राहतले मह्लमपट्टीको महसुस समेत नहुनेगरेको किसानहरुको भनाइ छ । निर्देशिकाअनुसार बँदेल तथा बाँदरले बालीनालीमा क्षति गरेको ३५ दिनभित्र किसानले निवेदन दिनुपर्ने प्रावधान रहेको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजंग खड्काले जानकारी दिनुभयो । जग्गाधनी प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी, सबडिभिजन वन कार्यालयको रोहबरमा प्रहरी मुचुल्का तथा बाली क्षतिको हकमा सम्बन्धित स्थानीय तहको कृषि प्राविधिक र पशु क्षतिको हकमा पशु प्राविधिकको मुल्यांकन सिफारिससहित डिभिजन वन कार्यालयमा निवेदन पेश गर्नुपर्ने हुन्छ ।
निवेदन प्राप्त भइसकेपछि क्षति भएको सम्बन्धित वडा अध्यक्ष, सम्बन्धित प्राविधिक, सम्बन्धित क्षेत्रको वन समूहको अध्यक्षसहित जिल्लामा रहेको सिफारिस समितिले निर्णय गरेर प्रदेश वन निर्देशनालयमा फाइल पठाइसकेपछि आवश्यक प्रक्रिया पश्चात मात्र राहत रकम निकासा हुन्छ । राहत रकम बढीमा दश हजार रुपियाँसम्म प्रदान हुने डिभिजन वन कार्यालयका पदाधिकारीको भनाइ छ ।
सल्यानको मुख्य खाद्यान्न सुरक्षाको स्रोत रहेको मकै बालीमा हरेक साल बाँदर, बँदेलको बथानले बाली सखाप पारिरहेको किसानको गुनासो छ । “घरको काम छाडेर विहानदेखि रातिसम्म बारीमा बस्न पनि नसकिने” कपुरकोट –३ लामिडाँडाका किसान टेकबहादुर वलीले भन्नुभयो, “जोगाउने प्रयास गरे पनि कतिबेला आएर नोक्सान गर्छ, थाहै हुँदैन ।” बर्सेनी मकै रोप्नेगरेका किसानहरु बाली राम्रो लागेर उत्साहित भएको बेला जनावरले क्षति गरिदिँदा निरास हुने गरेका छन् ।
किसानहरुले आफ्नो बारीको घेरबारको लागि सरकारले अनुनान सहयोग गर्नुपर्ने माग गरेका छन् । हरेक वर्ष बन्यजन्तुले किसानलाई दुःख दिनेगरेको र सरकारले पनि प्रत्येक साल राहत दिएर साध्य नहुने भन्दै किसानहरुले समस्याको स्थायी समाधानको माग गरेका छन् । डिभिजन वन कार्यालयले भने किसानको खेतबारी घेरबारका लागि कुनै कार्यक्रम नरहेको तर कार्यालयमार्फत जंगली जनावर बस्ती वा खेतबारीमा पसेमा उद्धार, नियन्त्रण र व्यवस्थापनको काम हुने जनाएको छ । “किसानबाट आएको घेरबारका लागि सम्बन्धित माथिल्लो निकायमा कुरा राख्छौँ” कार्यालयका सूचना अधिकारी खड्काले भन्नुभयो ।