• १० भदौ २०८२, मङ्गलबार

एभोकाडोको समस्या अध्ययन हुँदै

blog

हिले समाचारदाता 

हिले, भदौ १० गते । धनकुटामा भइरहेको एभोकाडो खेती, रोग किरा, उत्पादन र गुणस्तरमा देखिएका समस्या र समाधानका उपायबारे विदेशी कृषि वैज्ञानिकसहितको टोलीले अध्ययन गर्दै छ । एसियाली विकास बैङ्क, पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा), नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकसहितको प्राविधिक टोली धनकुटा आएको हो । 

व्यापक रूपमा बगैँचा विस्तार हुँदै गएको धनकुटामा एभोकाडोको बोट ओइलाउने, फल झर्ने, जरा कुहिने, झुसिले लाग्ने जस्ता समस्या देखिएका छन् । टोलीले सुन्तला खेतीको विकल्पका रूपमा हेरिएको एभोकाडो खेतीमा देखिएका यिनै समस्याको अध्ययन र समाधानका उपायबारे किसानसँग छलफल गरेको छ ।

एभोकाडोको जातीय पहिचान, नर्सरी र बगैँचा व्यवस्थापनबारे पनि अध्ययन गरिएको टोलीले जनाएको छ । कृषि वैज्ञानिक र प्राविधिकले पाख्रीबास, सुन्तला जात अनुसन्धान केन्द्र पारिपात्लेलगायत स्थानका बगैँचा तथा नर्सरी अनुगमन गरेको हो । किसानका बारी र बगैँचामा देखिएका समस्यामा आधारित भएर अनुसन्धान अगाडि बढाएर समाधानका लागि प्रविधि विकास गर्दै जाने नार्कका कृषि वैज्ञानिक अमर पुनले बताउनुभयो ।