• १० भदौ २०८२, मङ्गलबार

चीन-रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी

blog

राष्ट्रपति सी जिनपिङ ।

बेइजिङ, भदौ १० गते । राष्ट्रपति सी जिनपिङले मङ्गलबार चीन-रुस सम्बन्धलाई प्रमुख विश्व शक्तिमध्ये ‘सबैभन्दा स्थिर, परिपक्व र रणनीतिकरूपमा महत्वपूर्ण’ भन्दै प्रशंसा गर्नु भएको छ । रुसको ड्युमा (संसद्को तल्लो सदन) का अध्यक्ष भाचेस्लाभ भोलोडिनसँगको भेटमा उहाँले चीन-रुस सम्बन्धलाई ‘विश्व शान्तिको स्थिर स्रोत’को रूपमा वर्णन गर्नु भएको चिनियाँ राज्य सञ्चार माध्यम सिसिटिभीले जनाएको छ ।

“दुवै पक्षले दुवै देशको सुरक्षा र विकास हितको रक्षा गर्न, ग्लोबल साउथलाई एकताबद्ध गर्न, साँचो बहुपक्षवादलाई कायम राख्न र अन्तर्राष्ट्रिय व्यवस्थामा निष्पक्षता तथा न्याय प्रवद्र्धन गर्न मिलेर काम गर्नुपर्छ”, सीले बेइजिङको भव्य ग्रेट हल अफ द पिपुलमा आयोजित भेटमा भन्नुभयो । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेइजिङ र मस्कोबिचको सम्बन्ध अझ गहिरो बन्दै गएको छ ।

चीनले युद्धको निन्दा नगरेको र मस्कोलाई सेना फिर्ता लिन पनि आह्वान नगरेको स्पष्ट छ । युक्रेनका सहयोगी राष्ट्रलाई चीनले आफ्नो विशाल उत्तरी छिमेकीलाई समर्थन गरिरहेको विश्वास छ । तर चीनले भने आफू तटस्थ रहेको दाबी गर्दै आएको छ र युद्ध अन्त्यका लागि नियमित आह्वान गर्दै पश्चिमी मुलुकले युक्रेनलाई हतियार आपूर्ति गरेर द्वन्द्व लम्ब्याएको आरोप लगाइरहेको छ ।

यसैबिच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै सप्ताहन्तमा चीन भ्रमण गर्ने तय भएको छ । उहाँ अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म उत्तरी सहर तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुनुहुने छ । साथै दोस्रो विश्वयुद्धको अन्त्यको ८० औँ वार्षिकोत्सव कार्यक्रममा पनि उपस्थित हुनुहुने छ ।

पुटिनले यस अवसरमा राष्ट्रपति सीसँग पनि वार्ता गर्नुहुनेछ । उहाँहरूबिच पहिले नै गहिरो व्यक्तिगत सम्बन्ध रहेको बताइन्छ । यसै महिना सीले फोनमार्फत पुटिनलाई मस्को-वासिङ्टन सम्बन्धमा देखिएको सुधारप्रति चीन खुसी भएको बताउनुभएको थियो । पुटिनले यसै महिना अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले उच्चस्तरीय वार्ता गर्नुभएको थियो । तर त्यसपछिका दिनमा शान्ति वार्तामा खास प्रगति भएको देखिएको छैन । रासस/एएफपी