• १० भदौ २०८२, मङ्गलबार

चीनका छ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने : अमेरिकी राष्ट्रपति ट्रम्प

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

वासिङ्टन, भदौ १० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ लाख विद्यार्थीलाई प्रवेश दिने घोषणा गर्नुभएको छ । चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा, ट्रम्पले चिनियाँ विद्यार्थीको उपस्थितिलाई महत्वपूर्ण भन्दै स्पष्ट गर्नुभयो, “हामी उनीहरूका विद्यार्थीलाई अनुमति दिने छैनौँ भन्ने म धेरै अफवाह सुन्छु । तर होइन, हामी उनीहरूलाई भित्र आउन दिनेछौँ । यो धेरै महत्त्वपूर्ण छ-छ लाख विद्यार्थी । यो ठूलो कुरा हो ।”

चीनसँग राम्रो सम्बन्ध कायम हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । “राष्ट्रपति सी मलाई चीन आउन चाहनुहुन्छ । यो निकै महत्वपूर्ण सम्बन्ध हो । हामी चीनबाट भन्सार शुल्क र अन्य कारणले धेरै पैसा सङ्कलन गरिरहेका छौँ । तर हामी चीनसँग राम्रो गर्नेछौँ”, ट्रम्पले भन्नुभयो । उहाँका अनुसार, अहिलेको चीनसँगको आर्थिक सम्बन्ध अघिल्लो बाइडेन प्रशासनको तुलनामा धेरै बलियो छ ।

यस वर्षको सुरुमा अमेरिकी प्रशासनले सबै चिनियाँ सामानमा एक सय ४५ प्रतिशत कर लगाएको थियो । यसको जवाफी कदम स्वरूप बेइजिङले अमेरिकी निर्यातमा एक सय २५ प्रतिशत कर लगाएको थियो । जेनेभामा मे महिनामा वार्ताकारहरूले अतिरिक्त कर रोकिने सहमति गरेका थिए, तर ट्रम्पले अझै थप दण्डको चेतावनी दिन छाड्नु भएको छैन ।

गत हप्ता मात्रै उहाँले चिनियाँ निर्मित म्याग्नेटमा दुई सय प्रतिशत कर लगाउने घोषणा गर्नु भएको थियो । म्याग्नेटलाई उहाँले विश्व बजारमा बेइजिङको ‘एकाधिकार’ को रूपमा चित्रण गर्नु भएको थियो । “यसमा कुनै समस्या आउँछ भन्ने मलाई लाग्दैन”, ट्रम्पले पत्रकारलाई भन्नुभयो, “चीनले बुद्धिमानीपूर्वक विश्वको म्याग्नेट बजारमा एकाधिकार बनाएको छ । तिनीलाई पाउन सम्भवतः हामीलाई एक वर्ष लाग्न सक्छ ।”

फक्स न्युजका अनुसार हाल करिब दुई लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकी विश्वविद्यालयमा अध्ययनरत छन् । यसैबिच, मे महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ नागरिक, विशेष गरी कम्युनिस्ट पार्टी वा संवेदनशील अनुसन्धान क्षेत्रमा संलग्न व्यक्तिका लागि भिसा आक्रामक रूपमा रद्द गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । तर ट्रम्पले जुन महिनामा पत्रकारसँग चीनबाट विद्यार्थी स्वागत गर्ने पक्षमा आफू सधैँ रहेको दोहोर्याउनु भएको थियो । रासस/एएनआई