• १० भदौ २०८२, मङ्गलबार

युरोपेली र इरानी कूटनीतिज्ञबिच प्रतिबन्ध समयसीमा अघि अन्तिम समयमा आणविक वार्ता

blog

भिएना, भदौ १० गते । संयुक्त रूपमा इ-थ्री राष्ट्र भनिने बेलायत, फ्रान्स र जर्मनीका प्रतिनिधि मङ्गलबार जेनेभामा आफ्ना इरानी समकक्षीसँग अन्तिम समयमा वार्ता गर्न तयारी गर्दै छन् । यो वार्ता युरोपेलीले तथाकथित स्न्यापब्याक संयन्त्र सक्रिय गरेर इरानमाथि प्रतिबन्ध पुनः लागू गर्ने द्रुत समयसीमा नजिकिँदै गर्दा आयोजना गरिएको हो ।

वार्ताबारे इरानी विदेश मन्त्रालयका प्रवक्ताले सोमबार घोषणा गरेका हुन् । यसअघि, जुलाई २५ मा इस्तानबुलमा युरोपेली र इरानी टोलीबिच बैठक भएको थियो । जुन महिनामा भएको १२ दिने इरान–इजरायल युद्धअघि नै इरानी आणविक कार्यक्रम ‘हतियार-स्तर’ नजिक युरेनियम संवर्धन गरिरहेको भन्दै युरोपेली चिन्तित बनेका थिए । इरान-इजरायल युद्धका क्रममा इरानका केही आणविक साइटमा आक्रमण भएको थियो । त्यही बेला तेहरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँगको सबै सहयोग तोड्दा चिन्ता झन् गहिरिएको हो ।

यस कदमले अन्तर्राष्ट्रिय समुदायलाई इरानको आणविक कार्यक्रमबारे अझ अन्धकारमा धकेलेको छ । अहिले इरानसँग ६० प्रतिशत शुद्धतामा युरेनियम भण्डार रहेको बताइन्छ । यो स्तर हतियार–ग्रेड ९० प्रतिशतसम्म पुग्न प्राविधिक दृष्टिले छोटो दूरी मात्रै बाँकी छ । इरानले भने सधैँ आफ्नो आणविक कार्यक्रम ‘शान्तिपूर्ण’ भएको दाबी गर्दै आएको छ । तर त्यही स्तरको युरेनियम संवर्धन गर्ने इरान विश्वकै एक मात्र गैर-आणविक-सशस्त्र राष्ट्र हो । अमेरिका, आइएइए र अन्य स्रोतले इरानसँग सन् २००३ सम्म आणविक हतियार कार्यक्रम रहेको बताउँदै आएका छन् ।

यसैबिच, युरोपेली राष्ट्रहरूले यस वर्षको सुरुमा अमेरिकासँग सहमति गर्दै इरानले केही शर्तहरू पूरा नगरेमा अगस्टको अन्त्यसम्म स्न्यापब्याक संयन्त्र लागू गर्ने समयसीमा तोकेका थिए । ती शर्तमध्ये अमेरिकासँग वार्ता पुनः सुरु गर्ने अनुमति दिनु पनि एक हो । सन् २०१५ को इरान आणविक सम्झौतामा रहेको स्न्यापब्याक प्रावधानअनुसार, कुनै पनि पक्षले इरानलाई आवश्यकता अनुसार अनुपालन नगरेको ठहर गरेमा प्रतिबन्ध स्वचालितरूपमा पुनः लागू गर्न सकिन्छ । यसरी लागू गरिने प्रतिबन्धलाई रूस वा चीनसहित संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का अन्य सदस्यले भिटो गर्न सक्दैनन् ।

इरानले भने युरोपेलीले स्न्यापब्याक प्रयोग गरेर राष्ट्रसङ्घीय प्रतिबन्ध पुनः लागू गर्ने कुनै कानूनी आधार नभएको दाबी गर्दै आएको छ । इरानको भनाइमा, सन् २०१८ मा अमेरिकाले सम्झौताबाट एकतर्फी रूपमा बाहिरिएपछि अन्य राष्ट्रहरूले सन् २०१५ को सम्झौतालाई पूरा समर्थन नगर्दा इरानलाई अपेक्षित आर्थिक लाभबाट वञ्चित बनायो । सन् २०१५ मा विश्व शक्ति र इरानबिच भएको सम्झौता अनुसार, इरानले आणविक हतियार विकास गर्न नसकोस् भन्ने उद्देश्यले उसलाई केवल ‘ऊर्जाका लागि आवश्यक स्तर’ सम्म मात्र युरेनियम संवर्धन गर्न अनुमति दिइएको थियो । 

यसको बदलामा इरानमाथि लगाइएका कठोर आर्थिक प्रतिबन्ध हटाइएका थिए र राष्ट्रसङ्घीय निरीक्षकलाई उक्त कार्यक्रमको निगरानी गर्ने जिम्मा दिइएको थियो । मूल सम्झौता अनुसार, इरानलाई तीन दशमलव छ शुद्धतासम्म मात्र युरेनियम संवर्धन गर्ने, अधिकतम तीन सय किलोग्राम युरेनियम भण्डार राख्ने र केवल आधारभूत आईआर-१ सेन्ट्रिफ्युज प्रयोग गर्ने अनुमति थियो । यी सेन्ट्रिफ्युजले युरेनियम ग्यासलाई तीव्र गतिमा घुमाएर संवर्धन गर्ने काम गर्छन् । रासस/एपी