• १० भदौ २०८२, मङ्गलबार

कालिका नगरमा नयाँ प्रहरी निरीक्षक

blog

कालिका नगरपालिकाको जुटपानी चौकीमा प्रहरी निरीक्षकलाई सोमबार स्वागत गर्दै नगर प्रमुख विनोद रेग्मी । तस्बिरः शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, भदौ १० गते । जिल्लाको एक मात्र स्थानीय तह कालिका नगरपालिकामा सोमबार प्रहरी निरीक्षक (इनिस्पेक्टर) ले पद बहाली गर्नुभएको छ । प्रहरी चौकीका रुपमा रहेको स्थानमा स्तरोन्नति गरी अधिकृतको पद स्थापना गरेको हो । 

कार्यक्रमबिच प्रहरी निरीक्षकले आफ्नो जिम्मेवारी सम्हाल्नु भएको छ । लामो समयदेखि प्रहरी अधिकृत आवश्यक छ भन्दै पहल गरेपछि अहिले आएर स्थापना गर्न सफल भएको हो । 

कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले प्रहरी अधिकृतको दरबन्दी नहुँदा शान्ति सुरक्षामा धेरै कठिनाइ भएको बताउनुभयो । सामान्य घटनाको लागि अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रत्ननगरबाट आउनु पर्ने अवस्था थियो । अहिले अधिकृत सहितको जनशक्ति स्थापना भएपछि शान्ति सुरक्षामा सहज हुने उहाँले बताउनुभयो । 

“कालिका नगरपालिकामा बढ्दो जनसङख्या वृद्धि र आपराधिक घटनाको कारणले  चौकी स्तरोन्नतिको माग पटक–पटक भएको थियो । यस पटक सम्बोधन भएको छ” नगरपालिका प्रमुख रेग्मीले भन्नुभयो । लागूऔषध, आत्महत्या, कुटपिटजस्ता घटना यस क्षेत्रमा बढ्दोक्रममा छ । 

कालिका नगरपालिकाको जुटपानीमा रहेको प्रहरी चौकीमा प्रस्तावित दरवन्दीअनुसार प्रहरी अधिकृतको स्थापना गरेका छौं जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । अहिले प्रहरी निरीक्षकले काम गर्दै गर्नुहुन्छ, पछि दरवन्दी वृद्धि गरेर थप सेवा प्रदान गर्नेछौं उहाँले बन्नुभयो । 

जिल्लाको दुई स्थानमा प्रहरी अधिकृतको सेवा र एक स्थानमा अस्थायी प्रहरी पोष्ट स्थापना गरेका छौ । भरतपुर विमानस्थल कार्यालयको सुरक्षार्थ प्रहरी पोष्टमा केही दिन अगाडिबाट प्रहरी निरीक्षकले आफ्नो जिम्मेवारी सम्हालेर काम गरिसक्नु भएको छ । अहिले कालिका नगरपालिकाको जुटपानी चौकीमा इनिस्पेक्टरको नेतृत्वमा स्तरोन्नति गरेका छौं, प्रहरी प्रमुख पुरीले बताउनुभयो । 

विमानस्थल कार्यालयको स्तरवृद्धि हुने क्रममा रहेको छ । १२ सय मिटरको धावनमार्ग विस्तार गरेर ठुला जहाज आउन मिल्ने गरी प्रयास भइराखेको छ । अहिले भइराखेको टर्मिनल भवन पुरानो भएपछि एकै पटक एक हजारभन्दा धेरै यात्रुको क्षमता वहन गर्न सक्नेगरी नयाँ भवन बन्दै गरेको छ । 

विमानस्थलको स्तर वृद्धिका क्रममा रहेको स्थानमा प्रहरी निरीक्षकको नेतृत्व राखेर कार्यालय सञ्चालन गरेका हौं, पुरीले भन्नुभयो । त्यस्तैगरी पूर्व–पश्चिम राजमार्गको टाँडीदेखि कालिका नगरपालिका हुँदै पृथ्वी राजमार्ग जोड्ने शक्तिखोर फिसलिङ जोड्ने सडकको मध्यभाग मायाटारमा अस्थायी प्रहरी चौकी केही दिनभित्र स्थापना गर्ने तयारी भएको छ । जल्लाको पुरानो सदरमुकाम उपरदाङगढी, मायाटार, धुर्केकलगायत पर्यटकीय क्षेत्रका रुपमा विकसित भएको यहाँ पर्यटकको भिड लाग्ने गरेको छ । 

चहलपहल वृद्धि र मध्यपहाडी क्षेत्रमा प्रहरीको उपस्थितिको अवाश्यकता महसुस गरेर चौकी स्थापना गर्न लागेको प्रहरी प्रमुख पुरीले जानकारी दिनुभयो । इच्छाकामना गाउँपालिकाको वडा –२ मा अस्थायी प्रहरी चौकी स्थापना गरिनेछ । इच्छाकामनाकै इलाका प्रहरी कार्यालय मुग्लिन, जलविरे, कुरिनटार र फिस्लिङमा अस्थायी चौकी रहे पनि पहाडको उपल्लो भेगलाई लक्षित गरी मायाटारमा चौकी स्थापना गर्न लागिएको हो ।